८ वैशाख २०८१ शनिबार
राजनीति

पहिचान बिर्संदै राजपा र फोरम

काठमाडौं – पहिचानका लागि संघर्ष गरेको भन्दै आएका दुई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका सांसदले प्रदेशसभाको पहिलो बैठकमा आफ्नै मातृभाषामा सम्बोधन गरेनन् । न त उनीहरुले संविधानमा उल्लेख भएको सरकारी कामकाजको भाषा नेपालीमै सम्बोधन गरे।

आइतबार जनकपुरमा सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा राजपा र संघीय फोरमका सांसदहरूले हिन्दीमा सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरूले भने मातृभाषा मैथिली र भोजपुरीमा सम्बोधन गरे।

संघीय फोरमका लालबाबु राउत र राजपाका जितेन्द्र सोनारले हिन्दीमा सम्बोधन गरेका थिए।

नेपाली कांग्रेसका रामसरोज यादव, एमालेबाट शत्रुघन महतो र सत्यनारायण मण्डलले बोलेका थिए । बैठकमा माओवादी केन्द्रबाट भरत साहले बोलेका थिए।

संघीय फोरमका सांसद राउत र राजपाका सासाद सोनारको मातृभाषा भोजपुरी हो । तर उनीहरूले प्रदेशसभाको पहिलो बैठकमा भाजपुरी भाषा प्रयोग गरेनन् ।  सोनारले भने, ‘हिन्दी भाषा मधेसमा सबैले बुभ्mछन् तर मातृ भाषा भोजपुरीमा बोल्दा केही सीमित व्यक्तिहरूले मात्र बुझ्छन् । त्यसैले हिन्दी भाषामा बोलें ।’ मैथिली भाषमा बोलेका नेपाली कांग्रेसका रामसरोज यादवले भने मैथिली र भोजपुरी भाषा मधेसका सबै जनताले बुझ्ने बताए । उनले भने, ‘मैथिली र भोजपुरी भाषा मधेसका सबै जनताले बुझ्छन् । हाम्रो मातृभाषा पनि भोजपुरी र मैथिली हो।’

संघीय फोरम र राजपाका सांसदहरूले आफ्नो मातृभाषा प्रयोग नगरेर हिन्दी भाषा प्रयोग गर्नुले आफ्नो मातृभाषाको अपमान गर्न खोजेको आरोप यादवले लगाए । उनले भने, ‘पहिचानका लागि लडाइँ लडांै भन्ने तर आफैंले आफ्नो भाषा बिर्सने ?’

प्रदेशसभामा फोरम र राजपाका सांसदहरूले हिन्दी भाषामा भाषण गरेको विषयमा मैथिली र भोजपुरी भाषाका साहित्यकारहरुले  असन्तुष्टि जनाएका छन् । मैथिल साहित्यकार धीरेन्द्र पे्रमर्षिले प्रदेशसभा बैठकमा सांसदहरूले मातृभाषामा बोल्नुपर्ने बताए । उनले भने, ‘पहिचान र माटोका लागि लडाइँ लडेको भन्ने पार्टीहरूले प्रदेशसभाको पहिलो बैठकमा आफ्नो मातृभाषा छाडेर हिन्दी भाषामा किन भाषण गर्नुभयो ।’ पहिचानको कुरा उठाउँदा त्यसमा भाषा र संस्कृतिको कुरा प्रमुख रूपमा आउने उनको भनाइ छ । उनले भने, ‘पहिचानको मुद्दा आउँदा भाषाको कुरा आउँछ । तर उहाँहरुले भाषाको पहिचान किन छाड्नुभयो ?’

प्रकाशित: २३ माघ २०७४ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App