८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार गठनको जोडघटाउ सुरु

जनकपुरधाम – प्रदेश अधिवेशन सुरु भएलगत्तै प्रदेश २मा सरकार निर्माणका लागि प्रमुख दलसँगै वाम गठबन्धनले पनि आन्तरिक गृहकार्य सुरु गरेका छन्।

प्रदेशसभाको ठूलो दल संघीय समाजवादी फोरम नेपालले आइतबारै साँझ संसदीय दलका नेता चयन गरिसकेको छ। प्रदेश सरकारको नेतृत्व गर्ने फोरमले पर्साका मोहम्मद लालबाबु राउतलाई दलका नेता चयन गरेको हो। दलको उक्त निर्णयसँगै राउत प्रदेश २ सरकारका प्रथम मुख्यमन्त्री बन्ने करिब निश्चित भएको छ।

दलगत आधारमा प्रदेशसभामा राजपा दोस्रो, एमाले तेस्रो, कांग्रेस चौथौ र माओवादी पाँचौ दल बनेको छ। चुनावका बेला एमाले र माओवादीले बनाएको वाम गठबन्धनअनुसार दुवै दलको सिट जोड्दा गठबन्धन नै सबैभन्दा ठूलो दल बन्न पुग्छ। अहिले २९ सिट रहेको फोरम ठूलो दलका रूपमा स्थापित भएको छ। एमाले र माओवादी मिलेपछि क्रमशः २१ र ११ गरी वाम गठबन्धनको सिट संख्या ३२ पुगिरहेको छ।

आपसमा तालमेलगरी चुनाव लडेका फोरम र राजपाले नै सरकार बनाउन गठबन्धन गर्ने आम चर्चा छ । तर, राजपाले अधिकार बाँडफाँटमा बढी लोभ देखाए फोरमले वामसँग मिलेर पनि सरकार बनाउन सक्ने सम्बद्ध दलको विश्वसनीय स्रोतको दाबी छ।
माओवादीका प्रदेश सांसद भरत साहका अनुसार प्रदेश २ मा सरकार बनाउन फोरमसँग अनौपचारिक छलफल चलिरहेको छ। राजपा सरकारमा गए पनि वाम र फोरमबीच गठबन्धन बन्न सक्ने दाबी गर्दै उनले भने, ‘सैद्धान्तिक रूपमा नजिक भए पनि प्रतिष्ठाको सवालमा फोरम र राजपाबीच ठूलो खाडल देखिएको हुँदा फोरम र वाम मिलेरै पनि सरकार बनाउन सक्छ।’

फोरम संसदीय दलका नेता लालबाबु राउतले यो प्रदेशमा फोरम र राजपालाई मिलेर सरकार बनाउन जनादेश प्राप्त भएकाले सोहीअनुरूप गर्ने बताए । तर, आवश्यकता भए फोरमले अन्य दलसँग पनि सरकार गठनको लागि गठबन्धन गर्न सक्ने उनको भनाइ छ । ‘जनादेश फोरम र राजपालाई नै सरकार बनाउनेगरी प्राप्त भएपनि आवश्यकता अनुसार अन्य दलसँग पनि हामीले छलफल अगाडि बढाउँछौं,’ राउतले नागरिकसँग भने।

प्रदेशसभाको चौथो ठूलो दल नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गरेको छ। पार्टी नेता विमलेन्द्र निधिको रोहबरमा जनकपुरस्थित पार्टी कार्यालयमा बसेको छ घण्टे लामो बैठकले धनुषाका रामसरोज यादवलाई दलका नेता चयन गरेको हो । उक्त बैठकमा समसामयिक राजनीतिक गतिविधिसँगै कांग्रेसले प्रदेश सरकारमा सहभागी हुनेबारेमा पनि गहन छलफल चलेको स्रोतले बतायो।

प्रदेशसभाको दोस्रो दल राजपा नेपालले संसदीय दलको नेता चयन गर्न अध्यक्ष मण्डलका सबै नेताको उपस्थितिमा शनिबार नै बैठक बसेको थियो । ६ दल मिलेर केही महिनाअघि मात्रै गठन भएको उक्त पार्टीभित्र चरम गुटबन्दीका कारण दलको नेता चयन गर्न नसकिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए । तमलोपा पृष्ठभूमिका प्रदेश सांसद परमेश्वर साहका अनुसार मंगलबार संघीय फोरमसँग केन्द्रीय नेतृत्वले औपचारिक छलफल गरेपछि मात्रै संसदीय दलको नेता चयन गरिने योजना छ ।
पार्टीको ससंदीय दलका नेता चयन गर्न र प्रदेश सरकार निर्माणका लागि प्रमुख मन्त्रालयको टुंगो लगाउने उदेश्यले राजपा नेपाल अध्यक्ष मण्डलका सबै नेता शुक्रबारै जनकपुर आइपुगेका थिए । उनीहरुले शनिबार आन्तरिक बैठक बसेर सोही दिन संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग बसेर सरकार गठनको लागि पूर्वतयारीबारे छलफल गर्ने जनाएका थिए। तर, यादव आफ्नो पार्टीका संसदीय दलका नेता चयन गर्न व्यस्त भएपछि उनीहरुबीच सोमबारसम्म भेट हुन सकेको छैन।

मंगलबार बिहान जनकपुरमै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरु र फोरमका अध्यक्ष यादवबीच विशेष बैठक बस्न लागेको राजपा स्रोतले बतायो । शनिबार प्रदेशसभाका सदस्यहरूसँग बसेको बैठकमा फोरम अध्यक्ष यादवले जुनसुकै दलसँग गठबन्धन गर्नुपरे पनि यस प्रदेशको सरकार आफ्नै पार्टीको नेतृत्वमा बन्ने दाबी गरेका थिए । ‘प्रदेश सरकार निर्माणका लागि राजपासँग गठबन्धन बन्छ कि अन्य दलसँग त्यो महत्पूर्ण कुरो होइन । तर, प्रदेश २ को सरकार फोरमको नेतृत्वमा बनाउन जनादेश प्राप्त भएको छ,’ पार्टी अध्यक्ष यादवलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले नागरिकसँग भने।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने प्रदेश सरकार फोरम र राजपाकै गठबन्धनमा बन्ने दाबी गरेका छन्। ‘चुनावमा पनि हामी (फोरम र राजपा) सँगै थियौं । अहिले पनि सँगै छौं’ प्रदेश सरकार गठनबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सरकार गठनको सन्दर्भमा फोरमसँग अनौपचारिक छलफल जारी छ । दुईतीन दिनभित्रै औपचारिक छलफल गरी टुंगो लगाउँछौं।’

कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र वाम गठबन्धनका प्रदेश सांसद भरत साहले प्रमुख दलले आवश्यकता महसुस गरे आपूmहरू सरकारमा जान तयार रहेको बताएका छन् । ‘प्रदेशसभामा प्राप्त सिट संख्याका आधारमा हामीले प्रतिपक्षमै बस्नुपर्ने हो’ कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘यद्यपी, समुन्नत प्रदेश निर्माणका लागि सबै दल मिलेरै अगाडि बढ्नुपर्ने आवश्यकता रहेकाले प्रमुख दलबाट प्रस्ताव आए कांग्रेस सरकारमा सहभागी हुन तयार छ।’

कुल १ सय ७ सदस्य रहेको प्रदेशसभामा सरकार बनाउन न्यूनतम बहुमत पु¥याउन ५४ सांसद आवश्यक पर्छ । फोरम र राजपा मिलेपछि उक्त संख्या ठ्याक्कै पुगिरहेको छ । सरकार गठनको लागि फोरम र राजपाबीच कुनै विषयमा कुरो मिल्न नसके फोरम र वाम गठबन्धन अथवा राजपा र वाम गठबन्धन मिलेर पनि सहजै सरकार बनाउन सक्छ । प्रदेशसभामा फोरमको २९, राजपाको २५, एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११, नेपाल संघीय समाजवादी पार्टीको १ र स्वतन्त्र १ सांसद छन्।

प्रकाशित: २३ माघ २०७४ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App