८ वैशाख २०८१ शनिबार
राजनीति

‘हाकिम साहेब’ मुख्यमन्त्री हुने भएपछि खुसियाली

काठमाडौं– मोहम्मद लालबाबु राउत प्रदेश नम्बर २ का पहिलो मुख्यमन्त्रीमात्र हुने भएनन्, गणतन्त्र स्थापनापछि मुस्लिम समुदायबाट उच्च आहोदामा पुग्ने पनि पहिलो व्यक्तिसमेत हुने भएका छन्।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राउत प्रदेश २ का मुख्यमन्त्री हुने लगभग निश्चित नै देखिएको थियो । पार्टीका प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नेमध्ये उनको राजनीतिक उचाइ बढी भएको मानिएको थियो । पार्टीले उनलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएकै बेला फोरमबाट मुख्यमन्त्री बन्ने भए पार्टीको रोजाइमा उनी नै पर्ने अनुमान धेरैले गरिसकेका थिए । त्यो अनुमान आइतबार साँझ विश्वासमा परिणत भयो।

राउत पर्साको निर्वाचन क्षेत्र १ (ख) बाट भारी मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रदेशका मुख्यमन्त्री हुन संसदीय दलका नेता चयन हुनुपर्ने विद्यानतः जरुरी थियो । राजपासँग चुनावी तालमेल हुँदा नै जुन पार्टीले बढी सिट ल्याउँछ, उसैको मुख्यमन्त्री हुने सहमतिअनुरूप संघीय फोरमबाट नै मुख्यमन्त्री हुने पक्का थियो । तर, संसदीय दलका नेता चयन हुन कम्ती सकस थिएन । तराई मधेसको परम्परागत जातीय राजनीतिका कारण अल्पसंख्यक मुस्लिम समुदायबाट संसदीय दलका नेता छनोट हुनु उनका लागि गाह्रै थियो । प्रत्यक्ष २० र समानुपातिक ९ सहित २९ प्रदेशसभा सदस्यमा हिन्दुको संख्या अधिक छ। त्यसमाथि यादव समुदायको बढी प्रतिनिधित्व।

दलका नेताका राउतसहित पार्टी कोषाध्यक्ष विजय यादव, कौशलकुमार यादव, प्रह्लाद गिरी, योगेन्द्र यादव, शैलेन्द्र साहलगायत ७ जना थिए । उम्मेदवारका बीचमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामा जाने भन्दै उपाध्यक्ष रेणु यादवको नेतृत्वमा प्रदेश कार्यालय सचिव शम्भु झा र शेषनारायण यादव रहेको निर्वाचन समिति बनाइयो । जनकपुरस्थित पार्टी कार्यालयमा नै सहमति प्रयास गरियो तर त्यो सफल हुन सकेन । त्यसपछि संसदीय दलका नेता छान्ने जिम्मा शीर्ष नेतृत्वलाई दिइयो । त्यसलगत्तै अध्यक्ष उपेन्द्र यादवको प्रस्तावमा राउत संसदीय दलका नेता अर्थात् मुख्यमन्त्री हुने भए। ‘उहाँ मुख्यमन्त्रीका लागि योग्य र सक्षम हुनुहुन्छ,’ प्रदेशसभा सदस्य योगेन्द्र यादवले नागरिकसँग भने, ‘अल्पसंख्यक मुस्लिम समुदायबाट मुख्यमन्त्री हुनु भनेको देशको गौरव पनि हो।’

संसदीय दलका नेता (मुख्यमन्त्री) चयन भएको खबरले उनको परिवारका सदस्यले वीरगन्जमा खुसियाली मनाएका छन् । उनका बुवा दशरथ राउत मुख्यमन्त्री हुने खबर सुन्न छिमेकी सलाउदिन अहमदको घरमा गए। अहमद पार्टीका प्रदेश सचिव हुन् । मुख्यमन्त्री हुने गरी छोरो संसदीय दलका नेता बनेको खबरसँगै बुवा दशरथले छरछिमेकमा मिठाइ बाँडेका छन् । रोचक के छ भने मुस्लिम समुदायका भए पनि उनका बुबाको नाम हिन्दु धर्ममा अत्यधिक प्रचलित शब्द दशरथ भएझैं आमाको नाम पनि राधिकादेवी छ । राधिकादेवी १० वर्षअघिसम्म घरमा नै छठपर्वसमेत मनाउँदै आएकी थिइनन्।

पर्साकै जगन्नाथपुर गाउँपालिकामा जन्मेहुर्केका राउत हाल वीरगन्ज १३ मा बस्छन्।  वीरगन्ज महानगरपालिका कार्यालयमा अधिकृत तहमा जागिर खाएकाले उनलाई स्थानीयले ‘हाकिम साहेब’ भनेर चिन्दछन्। पार्टीमा क्रियाशील हुनुअघि उनी ठाकुरराम क्याम्पसमा पढाउँथे । अंग्रेजीमा स्नातकोत्तर र कानुनमा स्नातक राउत पार्टीमा सक्रिय हुनुअघि वीरगन्जस्थित हिमाल नर्सिङ कलेज र वीरगन्ज नर्सिङ कलेज तथा बिसिसी कलेजमा अध्यापकका रूपमा कार्यरत थिए।

जनकपुरमा रहेका राउतले मुख्यमन्त्री बन्ने पक्का भएपछि खुसीयाली साटेका छन्। ‘खुसी छु, पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु,’ उनले नागरिकसँग भने, ‘समृद्ध र नमुना बनाउने प्रणसमेत गरेको छु।’ आफ्नो कार्यकाल सम्झनायोग्य बनाउनका लागि सबैसँग सल्लाह लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ।

प्रकाशित: २३ माघ २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App