४ वैशाख २०८१ मंगलबार
राजनीति

मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि

सुर्खेत – मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि प्रदेशको अर्को महत्त्वपूर्ण पद सभामुख एमालेलाई परेको छ । तर, प्रदेशसभामा एमालेका दुई शीर्ष नेताले उक्त पदमा रुचि देखाएका छैनन् । बरु उनीहरुको ध्यान संसदीय दलको नेतामा छ।
यामलाल कँडेल र प्रकाश ज्वाला दुवै एमाले पोलिटब्यूरो सदस्य छन् । यीमध्ये एकलाई सभामुख र अर्कोलाई संसदीय दलको नेता बनाउने पार्टी योजना छ । तर, दुवै संसदीय दलको नेता बन्ने दौडमा छन् । ‘सभामुखमा मेरो रुचि छैन, मेरो प्रयास दलको नेता बन्नेतिरै हुनेछ,’ ज्वालाले भने, ‘सहमतिबाट भए राम्रो, नभए चुनावमै जाने मनस्थिति बनाइसकेको छु।’

एमालेको शनिबार सम्पन्न दोस्रो बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी विषयले प्रवेश पाएको थियो । बैठकमा दुवैले रुचि देखाएपछि सर्वसम्मत निर्णय हुन सकेन । बैठकमा सहभागी सांसद सुशील थापाका अनुसार बुधबारसम्म सहमति गरेर एकजना नेताका रूपमा आउन दुवैलाई जिम्मा दिइएको छ । तर, कँडेल राष्ट्रियसभाको निर्वाचनपछिमात्र यस विषयमा छलफल हुने बताउँछन् । ‘मेरो व्यक्तिगत इच्छा मिडियालाई भनेर के काम ? जे हुन्छ दलको बैठकमै हुन्छ,’ उनले भने, ‘तर तपाईं यत्ति बुझ्नुस्, सभामुखमा ममात्र होइन, एमालेमै कोही आकांक्षी छैनन्।’

यस कारण अरुचि
 प्रदेश सभामुखमा शीर्षनेताको अरुचि हुनुको प्रमुख कारण हो– पार्टी राजनीतिमा निष्क्रिय हुने अवस्था । एकातिर मर्यादाक्रम सोचेजस्तो नहुनु र अर्कोतिर पदमा बहाल हुँदासम्म पार्टीको पदीय जिम्मेवारीबाट निष्क्रिय हुने अवस्था आउनुले दुवै नेता सभामुख बन्न नचाहेका हुन् ।
६ नम्बर प्रदेशमा एमालेभित्र कँडेल र ज्वालाबीच तीव्र प्रतिस्पर्धा छ । कँडेल प्रदेश कमिटी सहसंयोजक भएकाले प्रदेशमा उनी बढी ‘पावर एक्सरसाइज’ गर्ने मौका पाउँछन्। यसको फाइदा उठाउँदै आइतबारको पहिलो प्रदेशसभा बैठकमा कँडेलले पार्टीका तर्पmबाट मन्तव्य दिने अवसर पाए । ज्वाला भने संसदीय दलमा ‘हाबी’ छन् । त्यसैले उनी प्रदेशको संसदीय दलको नेता बनेर पार्टी राजनीतिमा आफ्नो प्रभाव बढाउन चाहन्छन्।

यस्तो अवस्थामा सभामुख बन्नु भनेको पाँच वर्षका लागि प्रतिस्पर्धीलाई प्रदेशको राजनीतिक नेतृत्व सुम्पिनु हो । ‘त्यसैले उहाँहरु दुवैजना सभामुख बन्नुभन्दा संसदीय दलको नेता बनेर प्रदेशसभाभित्र र पार्टीभित्र बलियो हुने दाउमा हुनुहुन्छ,’ एक एमाले सांसद भन्छन्, ‘यो लडाइँ सहज सहमतिमा टुंगिएलाजस्तो लाग्दैन।’

मुख्यमन्त्रीमा आँखा
संसदीय दलको नेता बन्न आकांक्षी हुनुको अर्को कारण हो– सम्भावित मुख्यमन्त्री । अहिल्यैदेखि लरबराउन थालेको वाम गठबन्धन पार्टी एकतासम्म नपुग्ने हो भने दुई वर्षपछि प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बलियो सम्भावना छ।

प्रदेशसभाका ४० मध्ये २० सांसद एमालेका छन् । यस्तो अवस्थामा अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार बने पनि गठबन्धन पार्टी एकतासम्म नपुगी टुट्यो भने संवैधानिक प्रक्रियाअनुरुप दुई वर्षपछि एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सक्छ । ‘त्यतिबेला एमालेले एकजना सांसद जताबाट पनि तानेर बहुमत पुर्‍याई सरकार बनाउनसक्छ,’ ती एमाले सांसद भन्छन्, ‘यो सँभावनासमेत हेरेर उहाँहरु दलको नेतामै बढी रुचि राखिरहनुभएको हुन सक्छ।’

कँडेल–ज्वालाको मुख्यमन्त्री दौड प्रदेशसभा निर्वाचनदेखिकै हो। २०५२ सालमै मन्त्री भएका र दुईपटक सांसदको अनुभव सँगालेका सुर्खेतका कँडेल मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभा सदस्यमा झरेका थिए । दुईपटक सांसद भइसकेका सल्यानका ज्वालालाई पनि पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभाको समानुपातिकतर्पm सिफारिस गरेको थियो । यद्यपि, उनले स्थायी कमिटीलाई ‘कन्भिन्स’ गरी प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन सफल भए । यसको पछाडि उनको लक्ष्य मुख्यमन्त्री नै थियो।

यही कारण मुख्यमन्त्री माओवादी केन्द्रको भाग परे पनि एमालेका यी दुई शीर्षनेता सभामुख छोडेर संसदीय दलको नेतृत्व गर्ने होडमा लागिपरेका छन् ।

सभामुख दोस्रो तहमा
कँडेल र ज्वालाले रुचि नदेखाएपछि ६ नम्बर प्रदेशको सभामुखमा एमालेको प्रदेशस्तरका दोस्रो तहका नेताको सम्भावना बढेको छ । एमाले स्रोतका अनुसार मुगुका चन्द्रबहादुर शाही, दैलेखका राजबहादुर शाही र अम्मबहादुर शाही, सल्यानका गुलाबजंग शाहमध्ये एकजना सभामुख बन्न सक्छन् । यद्यपि, यी नेताहरु पनि पाएसम्म मन्त्री बन्ने दौडमा छन्।

प्रकाशित: २३ माघ २०७४ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App