७ वैशाख २०८१ शुक्रबार
अर्थ

जुलुसमा पठाउनभन्दा व्यवसायी बन्ने भन्ने कला सिकाउँछौं


सुरेन्द्र पाण्डे
पूर्व अर्थमन्त्री   

वर्तमान सरकारले केही दिनअघि ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने गरेको निर्णयले अर्थतन्त्रमा नकारात्मक असर पर्ने छ । दलहरूले लोकप्रिय हुने होडबाजीमा यस्तै निर्णय गर्ने हो भने देशमा टाट पल्टिने खतरा हुन्छ । एउटा सरकारले ७० वर्षबाट ६५ वर्षमा र अर्को सरकारले ६५ वर्षबाट ६० मा झार्दै जाने निर्णय गर्दै जाने हो भने मुलुकले धान्नै नसक्ने अवस्था आउन सक्छ । होडबाजीले मुुलुक टाट पल्टन सक्छ ।

वृद्ध भत्ता बाँड्दा धनी र गरिब छुट्याएर वितरण गर्नुपर्छ । गरिब र धनीलाई बराबरी दिनु हुँदैन । अहिले त धनी मानिसलाई दिँदैनौ भन्न सक्ने अवस्था छैन । एउटा सीमा तोकोर गरिब र धनी छुट्याउनु पर्छ । गरिबलाई मात्र त्यस्तो रकम दिने व्यवस्था गर्नुपर्छ ।लोकप्रियता कमाउने नाममा सामान्य लोकतान्त्रिक मान्यतालाई कुल्चनु हुँदैन । एक खर्बभन्दा बढी सामाजिक सुरक्षामा खर्च हुन जान्छ । सरकारले खर्च धान्न सक्दैन कि भन्ने हो ।

वामपन्थीको सरकार आउँदा सुकुम्बासीलाई जग्गा बाँड्छ । त्यसले गर्दा चुनावमा भोट बढेको आरोप लगाइने गरिन्छ । तर, त्यस्तो होइन । दाङको लमहीमा ५० वर्षदेखि जग्गाको भोग चलन गर्दै आएका स्थानीयसँग जग्गाको लालपुर्जा छैन । त्यस्ता विषयमा एकपटक सबै दलको सहमति हुनुपर्छ । साझा समस्यालाई राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ । यस्ता विषयमा साझा धारणा बनाउनु जरुरी छ । राष्ट्रिय चासोका विषयमा सबै पार्टीको सहमति आवस्यक छ ।

जनताले संघीयता चाहेको र कर्मचारीतन्त्रले संघीयता चाहेका छैनन् । देशको समृद्धिका लागि स्थायी सरकार मात्र सबैथोक होइन । आर्थिक समृद्धिका लागि स्थायी सरकार एउटा मात्र महत्व हो । स्थायी सरकारबाहेक समृद्धिका लागि कर्मचारीतन्त्र र राजनीतिक दलको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
वर्तमान सरकारले गरेको निर्णयअनुसार एकैपटक ठूलो संख्यामा कर्मचारीलाई स्वेच्छिक अवकाश दिने हो भने ६० अर्ब रुपैयाँ निकासा हुँदा केन्द्र सरकारलाई रकम जुटाउन गाह्रो हुन सक्छ ।

नेपालको पारिवारिक व्यापारलाई कर्पोरेट व्यापारमा लैजादै युवावर्गलाई उद्यमशीलतातर्फ लगाउनु पर्छ । अबका युवा जागिर खोज्न हिँड्ने होइन, कति जनालाई जागिर दिन सक्छु भनेर प्रयत्नशील हुनुपर्छ । पारिवारिक अंश पाउने कुरा भनेको गिफ्टमात्रै हो । धन कमाउने आफैले नै केही गर्नुपर्छ । व्यवसायी र उद्योगी बन्नुपर्छ । जागिर खाने परिवारिक अंश खाने मानसिकताबाट मुक्त भएर उद्यमशिलतामा जानुपर्छ । हामीले पनि अहिलेसम्म जुलुसमा सहभागी हुने कला सिकायौं, अब व्यवसायी कसरी बन्ने भन्ने कला सिकाउनु जरुरी छ ।

मुलुकमा जमिनको व्यवस्थापन गर्नुपर्छ । निजी प्रयोजनका लागि जग्गा सस्तो पर्ने तर सरकारले कुनै परियोजनाका लागि किन्नुपरेमा धेरै महँगो पर्दा परियोजना पनि महँगा भइरहेका छन् । व्यक्तिले जमिन खरिद गर्दा ११ हजारमा पाउने त्यही जमिन सरकारले खरिद गर्दा ११ लाखमा किन्नुपर्ने अवस्था छ । जमिन सस्तो नभए जलविद्युत् र कृषि उत्पादन कसरी बढाउन सकिन्छ । जमिन सरकारको हो । व्यक्तिले लिजमा लिएको मात्र हो । सरकारले चाहेमा जहिले पनि लिन सक्नुपर्छ । व्यक्तिको जग्गा सरकारले लिन सक्दैन भन्ने परम्परागत सोचले नेपाल गरिब भएको हो । पुरानो मानसिकता बदल्नु पर्छ ।

जमिनको प्रयोगमा नेपालमा छाडापन छ । म अमेरिकाको मेरिल्यान्ड पुग्दा त्यहाँ व्यक्तिगत जग्गामा पनि दुबो लामो बनाउन नहुने रहेछ । त्यहाँको सरकारले तोकेको मापदण्डभन्दा बढी लामो दुबो भयो भने जरिवाना गरिदो रहेछ । १८ वर्षभन्दा कम उमेरका लागि काममा लगाइयो भने चाइल्ड लेबर भनेर काममा लगाउन नपाइने र १८ वर्षभन्दा माथिकालाई सित्तैमा लगाइए पनि जरिवाना गरिँदो रहेछ । १८ वर्ष उमेर पुगेकालाई काममा लगाउँदा घन्टाको ५० डलर तिर्नुपर्ने व्यवस्था छ । त्यसैले जग्गाधनी स्वंयंले मेसिन किनेर दुबो काट्ने गर्दा रहेछन् । हामीमा पनि त्यस्तो किसिमको व्यवस्था लागु गर्नुपर्छ । निश्चित मापदण्ड तयार गरेर जग्गा व्यवस्थापन गर्नुपर्छ ।

अहिले राष्ट्रिय गौरवका योजना सकिएपछि नयाँ योजना सुरु गर्नुपर्छ । आर्थिक अभावकै कारण कतिपय योजना अघि बढ्न सकेका छैनन् । कम रकम विनियोजन गरका कारण राष्ट्रिय गौरवका आयोजना अलपत्र छन् । अहिले २५ वटा राष्ट्रिय गौरवका आयोजना छन् । त्यति धेरै राष्ट्रिय गौरवका आयोजना एकैपटक घोषणा गर्नु हुँदैन थियो । एउटा वा दुइटा घोषणा गर्ने र निश्चित समयभित्र सम्पन्न गर्नुपर्छ ।
नेपाली विदेश जान्छन् । उनीहरुले पढेर बुद्धिजीवी भएर आउँछन् । तर, विदेशबाट यति रकम ल्यायो र यो क्षेत्रको विकासका लागि यो वा त्यो गर्दैछौं भन्नेहरु छैनन् ।

श्रम बेचरे डलर आर्जन गर्ने बाटो राम्रो होइन । सामान बिक्री गरेर मात्र व्यापार घाटा कम गर्न सक्छौं । जलविद्युत् आयोजनाबाट बिजुली बिक्री गर्ने र पर्यटकलाई नेपाल भिœयाउन सक्यो भने प्रशस्त आम्दानी गर्न सकिन्छ । कृषिले मात्र देश समृद्ध बन्न सक्दैन । अमेरिकामा दुई प्रतिशत नागरिकमात्र कृषि पेसामा छन् । तिनीहरुले उत्पादन गरेको खाद्यान्नले त्यहाँका मानिसलाई खान पुगेको छ ।हामीले पनि कुन ठाउँमा के उत्पादन हुन्छ । त्यहीमात्र उत्पादन गर्नुपर्छ । जस्तो ताप्लेजुङमा चिया, काभ्रेमा तरकारी, चितवनमा कुखुरापालन, मुस्ताङमा स्याउ र तराईमा धान उत्पादनमा लाग्नुपर्छ । आर्थिक उपार्जनका काममा लाग्नुपर्छ । उद्योगधन्दा स्थापनामा लाग्नुपर्छ । विदेशमा मानिस पठाउने र उनीहरुले पठाएको रकमबाट त्यहीँको सामान किन्दै जाने हो भने नेपाल कहिले पनि समृद्ध हुन सक्दैन ।

माथिल्लो तामाकोसी आयोजना निर्माणमा विदेशी लगानी चाहिन्छ भन्दै आएका थिए । तर, मैले स्वदेशी लगानीमा निर्माण गर्न सकिन्छ भनेर स्वदेशी लगानीमा निमार्ण गर्न थालियो । पोखरा एयरपोर्ट, रानीजमरा सिँचाइ आयोजना, हुुलाकी राजमार्ग निर्माण गर्न थालियो । त्यसले राम्रै गति लिएको छ । संवेदनशील भएर लागियो भने एउटै नेताले पनि मुलुक परिवर्तन गर्न सक्छ ।

स्वास्थ्य, शिक्षा, आवासका लागि राज्यले ग्यारेन्टी गर्नुपर्छ । आवासमा विशेष योजना ल्याउनुपर्छ । अहिले मुख्यगरी चार क्षेत्रमा सुधारको खाँचो छ । शिक्षामा सुधारको खाँचो छ । गरिब र धनी छुट्याउने माध्यम विद्यालय भएका छन् । विद्यार्थीले पढ्ने कलेजको नाम लिनेबित्तिकै कुन वर्गको हो भन्ने बुझिन्छ । त्यसको अन्त्य गरिनुपर्छ । दोस्रो विषय वृद्धभत्ता कुन वर्गलाई दिनुपर्छ र कुन वर्गलाई नदिँदा पनि हुन्छ भन्ने छुट्याउनु पर्छ । त्यस्तै तेस्रो विषय हाउजिङको समस्या समाधान गर्नुपर्छ ।

फ्ल्यालेट सिस्टममा जानुपर्ने बाध्यता छ । त्यस्तै चोथौमा स्वास्थ्य बिमा कार्यक्रम ल्याउनु पर्छ । मैले पाँच जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा अहिले २५ जिल्लासम्म पुगेको छ । यसलाई बृहत् बनाउँनु पर्छ ।  स्थानीय तहमा कर असुली गर्ने थुप्रै उपाय छन् । त्यसो भयो भने स्थानीय निकाय सञ्चालनमा कुनै समस्या हुँदैन । बरु प्रदेश सरकारलाई कर असुलीमा केही समस्या हुन सक्छ । आउदा दिनमा केन्द्र र स्थानीयमा बढी हुने र प्रदेश सरकारमा कम हुने देखिन्छ ।

प्रकाशित: २३ माघ २०७४ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App