coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

'हाम्रोतिर पढेर राम्रो गरेको कोही भए पो पढ्नु ?'

दाउराको खोजीमा निस्किएका विवाहित दुई किशोरी । तस्बिर : नागरिक

रोल्पा – रोल्पा घर्तीगाउँको आसपास माडी खोलाको किनारै किनार निस्किएको शहिद मार्गमा दैनिक दर्जनौ साना ठुला मोटर धुलो उडाउदै वरपर गर्छन। त्यही धुलोका बीचमा स्थानीय किशोरीहरु डोको बोकेर नियमित दाउराको खोजीमा निस्कन्छन्। बिद्यालय देखेका तर अध्यनको खासै अनुभुती गर्न नपाएका उनीहरुको दैनिकी एकनासको छ। स्कुलको प्राबि, निमाबि तह पूरा नगर्दै विहे गरेका किशोरीहरु बिहान सबेरै उठेर गाईवस्तुको स्याउला सोत्तर गर्नु, साझ बचेको केही खाएर विहान दाउराको खोजीमा निस्कनु, १२ बजेतिर खाना र घरधामा सकेर गोठालो अनि अलिबेरमा फेरि घास वा दाउरा। 

माडी गाउँपालिका ४ घर्तीगाउँकी अस्मिता घर्ती उमेरले २० बर्ष पुगिन। ७ कक्षा पढ्दा पढ्दै स्कुल छोडेकी उनले बिबाह गरेको ४ बर्ष पुग्यो। अहिले पढाई छोडेकोमा पछुताइरहेकी घर्तीका श्रीमान बैदेशिक रोजगारीका लागि कतारमा छन्। ‘१६ बर्षको उमेरमा बिहे गरियो। बा आमाले त पढ भन्नुहुन्थ्यो तर आफै पढिएन। पढेर के हुन्छ भन्ने पनि कसैले भनेन। हाम्रो गाउँघर तिर पढेर राम्रो गरेको पनि कोही छैन। उस्तै त हो जस्तो लाग्ने।’ अस्मिताले थपिन ‘पढेर के पो होला जस्तो लाग्ने। हामी जस्ता पढाई छोड्ने त धेरै छन्। कतिले आफै स्कुल छोड्छन। कोही भने पढ्ने रहर गर्दागर्दै बा आमासंग काठमाडौंका इँटा भट्टातिर पनि जान्छन।’

घरको अबस्था कमजोर भएका कारण छिमेकी गाउँमा मामाघरमा बसेर पढेकी सीता बुढा पनि आउँदो फागुनमा २० बर्ष पुग्दैछिन। १६ बर्ष नपुग्दै बिहे गरेकी उनका श्रीमान पनि अहिले पैसा कमाउन भनेर साउदी गएका छन्। ४ कक्षा पढेर बिद्यालय छोडेकी बुढा पढ्न नपाएकोमा अहिले पिरोलिन्छीन। ‘पढेको भए राम्रो हुन्थ्यो होला। अहिले त ब्यानै ‐बिहानै)बाटै कामै काम भन्यो हिड्यो। हिजो आज त आफैसंग दिक्क लाग्छ।’ सीताले सुनाईन ‘हाम्रो गाउँ घरतिर उहिलेदेखि सानैमा बिहे गर्ने चलन। सानोमा बिहे गर्नु हुँदैन भनेर कसैले सिकाएन। सबैले गरेकै त छन्। चलेकै त छ जस्तो लाग्यो।’

उमेर नपुग्दै समान उमेर समूहका किशोर किशोरीले भागेर विहे गर्ने पुरानो चलन आज पनि रोल्पाका गाउँगाउँमा यथावत छ। बालबिबाह पछिको दुस्परिणामका बारेमा पर्याप्त जानकारी प्रबाह हुन नसक्दा समस्या झनै बल्झिरहन्छ। त्यसो त रोल्पाको अर्को ठूलो समस्या भनेको बिद्यालय जाने उमेर समूहका बालबालिका पढाई छोडेर अभिभावकसंग मजदुरी गर्न इँटा भट्टा जाने गर्दछन। ‘कति केटीहरु पैसा कमाउन काठमाडौंका इँटा भट्टा जान्छन। हामी जस्ता सानैमा बिहे गर्नेहरुको पनि घर बिग्रिने, घरझगडा पर्ने हुन्छ। त्यो बेला बुद्धि हुँदैन रैछ। कसैले सिकाउने सम्झाउने पनि नगर्ने। अहिले बुझेर, थाहा पाएर के गर्नु।’ अस्मिताले सुनाईन।

१० बर्ष प्रचण्डको नेतृत्वमा युद्ध गरेको रोल्पाली समाज ‘चेतना स्तर उठेको समाज हो त्यसैले हाम्रो जनयुद्धको आधार भुमि पनि यहि हो’ भनेर दर्जनौ भाषण गरेका नेताले कहिल्यै सिकाएनन् पढ्नुपर्छ भनेर। आफ्ना सन्ततीले बिदेशमा पुगेर पढे पनि रोल्पालीलाई पढ्नु परेन। पढ्न त सिकाएनन् नै बुर्जुवा शिक्षा भनेर पन्छाईयो। बालबिबाह जस्तो कुरितीका बारेमा पनि युद्धरत नेतृत्व मौन रह्यो। द्वन्द्व सकिएर शान्ति स्थापना भएको एक दशक नाघिसक्दा पनि जनताको आधारभुत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्य जस्ता बिषय ओझेल परेका छन्। ‘विकास भनेको सडक मात्र बुझिएको छ। नेतृत्वले बजेट सडक भन्दा अन्यत्र हाल्दैनन्। सायद रोल्पाली सचेत भए भने आउँदा निर्वाचनको भोटमा असर गर्छ भनेर आधारभुत कुरामा ध्यान दिईदैन,’ रोल्पाली नागरिक समाजका एक अगुवाले भने। 

प्रकाशित: २२ माघ २०७४ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App