सिन्धुली–सामान्यतया दाह्री पाल्ने र मुन्द्रा लाउने युवाहरुलाई नकरात्मक दृष्टिले हेर्ने चलन छ । तर यहाँको एक दर्जनबढी युवाहरू भने दाह्री पालेरै समाज सेवामा जुटेका छन्। दाह्री ग्याङ नाम गरेको सञ्जालमा आवद्ध भई यहाँका युवाहरु सामाजिक काममा जुटेका हुन्। पछिल्लो समय सिन्धुलीका युवाहरूमा दाह्री पाल्ने मोह बढ्नुका साथै दाह्रीलाई समाजमा परिचित हुने माध्यम समेत बनाउन थालेका छन्।
युवाअवस्थामै गालाभरी दाह्री पालेर हिड्ने युवाहरूले पछिल्लो समय रक्तदान देखि विभिन्न समस्यामा स्थानियलाई सघाउँदै सामाजिक काममा जुटेका छन्। दाह्री पाल्ने मान्छे सबै नकरात्मक क्षेत्रमा लागेका हुन्छन् भन्ने भ्रम चिर्नका लागि पनि हामी सञ्जालमै आवद्ध रहेर सामाजिक कामतिर लागेका हौँ, दाह्री ग्याङकै ईश्वर दाहालले भने–‘हाम्रो दाह्री पहिचान हो ।’ उनले लामो समयदेखि सुरक्षित र स्याहार गरेर दाह्री राखेर आफ्नो पहिचान नै दाह्रीबाट सुरु भएको बताए । दाह्री ग्याङमा सिन्धुलीमा झन्डै एक दर्जन बढी युवाहरू सम्मिलित छन् । ग्याङले रक्तदान, मन्दीरको सरसफाई, कविता प्रतियोगिता तथा यहाँको शैलशिखर अनाथलयका बालबालिकालाई जाडोको कपडा वितरण गरेका छन्।
हामी निरन्तर सामाजिक कार्यमा लाग्छौ, आगामी दिनमा समेत यस्ता काम तय गरेका छौ, दाहालले नागरिकसँग भने–‘दाह्री पाल्ने मोह मात्रै होइन, त्यही पहिचान भएका युवाहरू मिलेर समाज परिवर्तनमा जुटेका छांै । समाजमा हुने नकरात्मक प्रवृत्तिलाई समेत परिवर्तन गरी सकरात्मक पाटोमा अगाडि बढाउन पहल कदम गर्ने उनीहरूको अठोट छ ।
प्रकाशित: २२ माघ २०७४ ०८:४७ सोमबार