coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् ट्राफिक प्रहरी नै

काठमाडौँ – इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन्।

इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो।

दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक प्रहरी जवान इम्बोस्ड नम्बर प्लेटका सवारीसाधनबाट आफू झुक्किने गरेको बताउँछन्। “नेपाली नम्बर प्लेटका सवारीसाधनको व्यवस्थापन गर्दै आएकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन आउँदा शुरुशुरुमा कुन सवारीसाधन होला भनेर अन्योल हुँदो रहेछ,”– उनी भन्छन्।

उपत्यकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन गुड्न थालेपछि सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किने गरेका छन्। इम्बोस्ड नम्बरप्लेटको ज्ञान नहुनु र जडान कार्य शुरु भएकाले अधिकांश ट्राफिक प्रहरी झुक्किने गरेका हुन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल इम्बोस्ड नम्बरको सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि यातायात कार्यालयसँग समन्वयन गरेर ट्राफिक प्रहरीलाई तालीमको व्यवस्था गर्न लागिएको बताउँछन्। “नेपालमा इम्बोस्ड नम्बरप्लेटको थालनी भर्खरै भएकाले शुरुमा झुक्किनु स्वभाविक हो, हामी सबै ट्राफिक प्रहरीलाई इम्बोस्ड नम्बरप्लेटबारे चाँडै नै तालीम दिन्छौँ,”– उनी भन्छन्।

सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपांग्रे सवारीसाधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेपछि अहिले धमाधम इम्बोड नम्बरप्लेट राख्ने काम भइरहेको छ।

यातायात व्यवस्था विभागले वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारीसाधनलाई २०७५ असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसपछि क्रमशः अरु सवारीसाधनमा इम्बोस्डप्लेट जडान कार्य गरिनेछ।

सरकारले अहिले पाँच प्रकारको इम्बोड नम्बरप्लेटको व्यवस्था गरेको छ। जसमध्ये राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर, सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर, कूटनीतिक सेतो प्लेटमा निलो नम्बर, निजी सेतो प्लेटमा कालो नम्बर र भाडाका सवारीसाधनलाई पहेँलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरेको छ।

यसैगरी इम्बोस्ड नम्बरको शुरुको अक्षर क्रमशः मोटरसाइकलको ‘ए’, कार, जिप डेलीभरी भ्यानको ‘वी’, टेम्पो र अटोरिक्साको ‘सी’, पावर टिलरको ‘डि’, ट्र्याक्टरको ‘इ’ मिनिवसको ‘एफ’, ट्रक बस ‘जी’ गरी राखिएको छ।

इम्बोस्ड नम्बर लिनुभन्दा अगाडि यातायात कार्यालयमा अहिलेसम्म बाँकी रहेको सवारी कर बुझाएर मात्र आवेदन दिनुपर्ने हुन्छ। पहिलो चरणमा चारपाँग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्डप्लेटका लागि आवेदन दिन सक्नेछन्।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई हालसम्म एक हजार २०० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसकिएको बताउँछन्। “दैनिक १०० देखि १५० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान भइरहेको छ,”– उनी भन्छन्। कार्यालयमा हालसम्म इम्बोस्ड नम्बरप्लेट राख्नका लागि करिब चार हजार आवेदन परिसकेको महानिर्देशक भट्टराई बताउँछन्। अच्युत रेग्मी/रासस

प्रकाशित: २२ माघ २०७४ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App