८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ४को प्रदेशसभा बैठक शुरु

पोखरा –  प्रदेश नं ४ को पहिलो प्रदेशसभा बैठक शुरु भएको छ।

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन्। बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।

आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढिने छ। आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम छ।

बैठकमा प्रत्येक ठूला दलबाट तीन/तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक÷एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ। बैठक करिब एक घण्टा १५ मिनेट चल्ने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।

यस प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुनुहुन्छ । नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन्।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १(ख) बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् । संसद् बैठकमा सहभागी हुनका लागि अधिकांश प्रदेशसभा सदस्य हिजै प्रदेश मुकाम पोखरा आइपुगेका थिए। बैठकको मूल कक्षमा सभामुखसहितको रोष्टमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्ची र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएको टेबुल राखिएको छ।

मूल कक्षको पछिल्लो भागलाई पारदर्शी सिसाले छुट्याइएको उपकक्षमा विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी र दर्शकका लागि व्यवस्था गरिएको छ। प्रदेशको बैठकलाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यहरू निर्धारित गरिएको पोशाकअनुसार नै पुरुष सदस्य दौरासुरुवाल, सुटपाइन्ट एवं महिला सदस्य साडी चोलोमा आएका छन् ।

प्रकाशित: २२ माघ २०७४ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App