coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सम्भावनालाई समृद्धिमा बदल्ने प्रण

धनगढी – प्रदेश नम्बर ७ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले एकताबद्ध भएर यस प्रदेशलाई समृद्धितर्फ डोर्याउने बताएका छन । आइतबार यहाँ बसेको प्रदेशसभाको पहिलो बैठकमा बोल्दै दलका प्रतिनिधिहरूले दलीय स्वार्थभन्दा माथि उठेर यस प्रदेशको उन्नतिमा लाग्ने बताएका हुन्।

उनीहरूले जलस्रोत, पर्यटन, जडिबुटी, कृषिलगायतका सम्भावनालाई उजागर गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।  १० हजार मेघावाट क्षमताको कर्णाली जलविद्युत् परियोजना, ६ हजार ५ सय मेघावाट क्षमताको पञ्चेश्वर जलविद्युत् परियोजना र ७ सय ५० मेघावाट क्षमताको पश्चिम सेती जलविद्युत् परियोजना सञ्चालनमा ल्याएर यो प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनसकिने धारणा उनीहरूले राखे । यसैगरी ताक्लाकोट नाका खोलेर दक्षिण–उत्तर जोड्ने सडक सञ्जाल बनाउने अजेन्डा पनि उनीहरूले प्रस्तुत गरे।

दलहरुले संसदीय दलको नेता छनोट गरिनसकेकाले आइतबार बिहान संसदीय दलको बैठक बसी पहिलो बैठकमा बोल्ने सदस्यको टुंगो लगाएका थिए।

सजाएर चिटिक्क पारिएको प्रदेशसभा भवनमा दिउँसो डेढ बजेतिर बैठक सरु भएको थियो । प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्येश्वरी शाहले बैठकको अध्यक्षता गरेकी थिइन् । बैठकको प्रक्रिया सुरु हुनुअघि राष्ट्रिय गान बजाइयो र सहिदहरुप्रति एक मिनेट मौन धारणा गरियो । त्यसपछि अध्यक्ष साहले एमालेका सांसद प्रकाश शाहलाई बोल्न समय दिइन्।

बैठकलाई सम्बोधन गर्दै शाहले संघीयताको कार्यान्वयनसँगै देशमा नयाँ युग प्रारम्भ भएको बताए । उनले प्रदेश ७ मा रहेका प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्भावनाको चर्चा गर्दै सबै दल एकताबद्ध भएर विकास र समृद्धिमा लाग्नुपर्ने बताए । ‘स्थिरता, दिगो शान्ति र समृद्धिको युग प्रारम्भ हुनुपर्छ भन्ने जनताको अपेक्षा र सहिदको सपना पूरा गर्न सबै दल एक भएर उभिनुपर्छ,’ उनले भने, ‘अब नयाँ राजनीतिक संस्कारसहित अघि बढ्नुपर्छ।’

कर्णाली जलविद्युत परियोजना, पञ्चेश्वर परियोजना र ७ सय पश्चिम सेती जलविद्युत् परियोजना सञ्चालनमा ल्याउने सके  समृद्धि हासिल गर्न सकिने उनले बताए । ‘हामीसँग अपार प्राकृतिक स्रोत र साधन छ, मानवीय शक्ति छ’ उनले भने, ‘इमानदार भएर काम गर्न सके विकास र समृद्धि टाढा छैन।’

नेपाली कांग्रेसका तर्फबाट सांसद भरत खड्काले मन्तव्य राखे । उनले पनि प्रदेश ७ मा रहेको प्राकृतिक स्रोत सदुपयोग गरी समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिए । ‘यो प्रदेश धेरै पछाडि परेको छ । यहाँ प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘दलगत स्वार्थभन्दा माथि उठेर सबै दल एक भई यो प्रदेशको विकास र समृद्धिमा काम गरौं ।’ आर्थिक विकास र समृद्धिका लागि साझा संकल्प पारित गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘जलस्रोतले धनी भएर पनि हामीले त्यसको सदुपयोग गर्न सकेका छैन । आफ्नै लगानीमा भए पनि विद्युत उत्पादन गर्नुपर्छ।’

खड्कापछि माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले मन्तव्य राख्दै उत्पीडित र उपेक्षित समुदायलाई मूलधारमा ल्याउन सकेमात्र प्रदेशसभाको औचित्य पूरा हुने बताए । ‘आधा समुदाय उत्पिडन र उपेक्षित छ’, उनले भने, ‘यो समुदायलाई परिर्वतनको अनुभूति दिलाउँदै विकास र समृद्धिको मूलधारमा ल्याउनुपर्छ ।’ उनले पनि सबै दल विकास र समृद्धिका लागि एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । अरुको मात्र मुख ताक्ने प्रवृत्ति छोडेर प्रदेश ७ मा रहेको जलस्रोतको सदुपयोग गरी विकास र समृद्धिको बाटो खोल्नुपर्ने उनले बताए । ‘अरुको मुख ताकेर मात्र हुँदैन, आफ्नै क्षमता र लगानीमा बिजुली उत्पादन गर्नुपर्छ ।’ उनले अपी, सैपाल, खप्तड, बढीमालिका लगायत क्षेत्रलाई  पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद मालमती रानाले बैठकमा धारणा राख्दै टीकापुर हत्याकाण्डको आरोपमा थुनामा राखिएकालाई छाड्नुपर्ने, टीकापुर हत्याकाण्ड छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारू समुदायका घर जलाउनेलाई कारबाही गर्नुपर्ने माग राखिन्।

५३ सदस्यीय प्रदेशसभामा एमालेका २५, माओवादीका १४, नेपाली कांग्रेसका १२ र राजपाका २ सदस्य छन् । बैठकमा सबै सदस्य उपस्थित थिए।

प्रदेशसभा कार्य सञ्चालन कार्यविध पारित
पहिलो बैठकले प्रदेशसभा कार्य सञ्चालन आन्तरिक कार्यविधि, २०७४ पारित गरेको छ । सभाको अध्यक्षता गरेकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले प्रदेशसभा कार्य सञ्चालन आन्तिरिक कार्यविधि, २०७४ लाई निर्णयार्थ बैठकमा प्रस्तुत गरेकी थिइन् । कार्यविधि बैठकले सर्वसम्मत पारित गरेको थियो।

२९ गते सभामुख निर्वाचन
बैठकले माघ २९ गते सभामुख चयन मिति तोकेको छ । माघ २७ गते सभामुखका लागि मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम राखिएको जानकारी प्रदेशसभा सचिवालयका मुरारी महतले दिए । निर्वाचन तालिका सोमबार बिहान सार्वजनिक गरिने उनको भनाइ छ।

३० जना मर्यादापालक
प्रदेशसभा बैठकमा सुरक्षाका लागि ३० जना मर्यादापालक खटिएका थिए । नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय भीम दत्त जोशी र हिक्मतबहादुर थापासहित ३० जना प्रहरी राष्ट्रिय पोसाकमा मर्यादापालकमा खटिएका थिए।

प्रदेशसभा बैठक भवन चिटिक्क
कैलाली जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभाको बैठक बसेको थियो । प्रदेशसभास्थललाई सजाएर चिटिक्क पारिएको थियो ।  रोस्टम आकर्षक बनाइएको थियो । बैठक कक्षको भुइँमा आकर्षक निलो कार्पेट बिछ्याइएको थियो । कक्षको पछिल्लोतर्फ पत्रकार र विशिष्ट व्यक्ति र दर्शक बस्ने ठाउँ बनाइएको थियो ।

प्रकाशित: २२ माघ २०७४ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App