coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समृद्धि साझा अजेन्डा

शेरबहादुर केसी/रेखा भुसाल
बुटवल – पाँच नम्बर प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा सांसदहरूले सहमति, सहकार्य र एकताका माध्यमबाट यो प्रदेशलाई समृद्धिको बाटोमा डो¥याउने प्रतिबद्धता जनाएका छन्।

सांसदहरूले राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा लामो समय खर्च भएको उल्लेख गर्दै अब समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका हुन् । समृद्धिबाटै गरिबी र बेरोजगारी अन्त्य हुने र त्यसबाट मात्रै जनमतको सम्मान हुने उनीहरुको भनाइ थियो ।
एमाले संसदीय दलका नेता शंकर पोखरेलले छोटो समयमा धेरै काम गरेर ५ नम्बर प्रदेशलाई सुखी र खुसी बनाउने जिम्मेवारी आफूहरुकोे काँधमा आएकाले मिलेर अघि बढ्नुपर्ने बताए । शून्यबाट काम थालेर समृद्धि हासिल गर्नुपर्ने चुनौतीपूर्ण यात्रामा मुलुक अघि बढेको उनको भनाइ थियो । ‘गरिबी र बेरोजगारी अन्त्य गरी समृद्ध प्रदेश बनाउन सबैको मिहिनेत आवश्यक  छ,’ उनले भने।

‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा लामो समय खर्च भएकाले अब समृद्धिको बाटोमा लाग्नुपर्छ ।’

निरंकुश राजतन्त्रविरुद्धको कठोर संघर्षबाट आजको ऐतिहासिक उपलब्धि प्राप्त भएको स्मरण गर्दै उनले उपलब्धि जोगाउँदै बलियो लोकतन्त्रको जग बसाउन  आवश्यक रहेको बताए । संविधानसभाबाट संविधान जारी गर्ने जनताको सपना सात दशक लामो राजनीतिक आन्दोलनबाट प्राप्त भएको उनले बताए । ‘संविधानप्रति उठाइएका असन्तुष्टि हामी आपसी छलफलबाट सम्बोधन गर्न सक्छौं, अहिलेको प्रमुख कार्यभार जनताको समृद्धिको आकांक्षा पूरा गर्ने अभिभारा हामीमा आइलागेको छ,’ पोखरेलले भने।

उनले ५ नम्बर प्रदेशलाई मिनी नेपालको संज्ञा दिए । ‘सिस्ने हिमालदेखि तराईको मर्चवारसम्मको भूभाग यो प्रदेशमा समेटिएको छ । उर्वर भूमि र पर्यटनका अपार सम्पदा रहेको यो प्रदेशले पर्यटकीय विकास गर समग्र राष्ट्रलाई नै समृद्धिको दिशामा डो¥याउन सक्छ,’ उनले भने।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बाँके बर्दियामा रहेका दुई निकुञ्ज र पूर्वी रुकुममा रहेको ढोरपाटन सिकार आरक्ष, प्युठानको स्वर्गद्वारी आश्रम, अर्घाखाँचीको पाणिनि तपोभूमि, शृंगऋषिले तपस्या गरेको गुल्मी र नेपालकै ठूलो दाङ उपत्यकालगायतकासांस्कृतिक र प्राकृतिक स्थलको थप विकास गरी यो प्रदेशलाई समृद्धिको यात्रामा डो¥याउन सकिने उनले बताए । ‘धेरै जातजाति मिलेर बनेको यो प्रदेश साँच्चिकै लोभलाग्दो छ,’ उनले भने।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीले सिंगो प्रदेशलाई मनोवैज्ञानिक रुपमा एकताबद्ध बनाएर मुलुककै नमुना बनाउन सबैको सक्रियता आवश्यक रहेको बताए । दु्रततर विकासको अभिभारा अभिभारा आफूहरूको काँधमा आएको पनि उनले बताए । ‘तीव्र  विकास गतिमा अघि बढ्न नसके  चुनौती सामना गर्न कठिन  हुनेछ, त्यसैले प्रदेशको समृद्धि र विकासमा दलीय सहकार्य र सहमति आवश्यक छ । सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ ,’ उनले भने।

कांग्रेस सांसद वीरबहादुर रानाले सबै खालको निरंकुशताको अन्त्य भएको अवस्थामा सामाजिक न्यायको माध्यमबाट समतामूलक  समाज निर्माणमा केन्द्रित हुनुपर्ने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्कृति र संस्कार तथा विधि र पद्धतिको व्यवस्था हो, त्यसैले हामी विधि र पद्धति बसालेर अघि बढौं,’ उनले भने । समृद्धिको यात्रा तय गर्न सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सार्थक हुने उनको भनाइ थियो । ‘समथर तराई, पहाड र नदीनालाको उचित सदुपयोग गरी समृद्धिको यात्रा तय गर्नुपर्छ,’ उनले भने।

संघीय समाजवादी फोरमका सांसद सहसराम यादवले जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्दै समृद्धिको बाटो समात्नुपर्नेमा जोड दिए । थाती रहेका राजनीतिक मुद्दालाई दलीय छलफलबाटै सम्बोधन गर्नुपर्ने बताउँदै उनले भने, ‘अधिकारका लागि लड्दालड्दै मुलुक विकासमा पछि पर्याे, अब विकासको ढोका खोल्ने बेला आएको छ।’
राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले संविधानप्रदत्त मौलिक अधिकार व्यावहारिक प्रयोगबाट रक्षा गर्नुपर्नेमा उनले जोड दिइन् । उनले संघीयताप्रति आफ्नो पार्टीको विमति रहेको पनि बताइन्।

फागुन २ मा सभामुख निर्वाचन
फागुन २ गते सभामुखको निर्वाचन हुने भएको छ । प्रदेशसभा बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले फागुन २ गते सभामुखको चुनाव मिति तोकिएको जानकारी सभालाई गराएका थिए । संसद्को अर्को बैठक फागुन २ गते १ बजे बोलाइएको छ।

वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) बीचको सहमतिअनुसार ५ नम्बर प्रदेशको सभामुख माओवादी केन्द्रले पाउने भएको छ । माओवादी केन्द्रले सभामुखको उम्मेदवार टुंगो लगाएको छैन । माओवादी संसदीय दलको नेताको चयन २३ गते हुने सो दलका नेता दधिराम न्यौपानेले बताए । मुख्यमन्त्रीमा एमालेका पोखरेलका नाममा सहमति भइसकेको छ ।

प्रकाशित: २२ माघ २०७४ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App