१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘उत्कृष्ट प्रदेश बनाउँछौं’

जनकपुरधाम – प्रदेश दुईलाई नमुना ‘समृद्ध प्रदेश’ निर्माण गर्नुपर्ने बेला आएको प्रदेशसभा सदस्यहरुले बताएका छन् । प्राकृतिक स्रोत र विकासमा सबैभन्दा पछाडि रहेको प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरी समृद्ध बनाउन सकिने उनीहरुको निष्कर्ष छ।

आइतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा ८ सदस्यले सम्बोधन गरे । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले प्रदेश दुई विकासको सम्भावनाको आधारमा मुलुककै उत्कृष्ट प्रदेश भएको दाबी गरे । ‘यो सबैभन्दा गरिब प्रदेश रहेको अन्य साथीहरुको भनाइप्रति मेरो विमति छ,’ यादवले भने, ‘कृषि र पर्यटन क्षेत्रलाई मात्रै प्रवद्र्धन गर्न सक्यौं भने हामीले यस प्रदेशलाई सबैभन्दा समृद्ध बनाउन सक्छौं ’

माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले सुनकोसी–कमला र मरिण–बागमती डाइभर्सन निर्माण गरी तराईको खेतीयोग्य जमिनलाई सिञ्चित बनाउन सकिने बताए । यसले उब्जनीमा बढोत्तरी हुनुको साथै चुरे क्षेत्रमा पानी रिचार्ज भएर पछिल्लो समय पानीको सतह घट्दै गइरहेको समस्या पनि समाधान गर्न सकिने उनको भनाइ थियो।

एमालेका शत्रुधन महतोले जनकपुरधामलाई केन्द्र बनाएर तराईमधेसमा धार्मिक पर्यटन उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।
संघीय समाजवादी फोरमका लालबाबु राउत गद्दीले दशकौंदेखि राज्यको उपेक्षामा परेको तराईमधेसलाई समृद्धिको बाटोमा डो¥याउनुपर्ने बेला आएको बताए । ‘झन्डै सात दशकदेखि राजनीतिक संघर्ष गरिरहेको मधेस बल्ल स्वरुप फेर्न तयार भएको छ,’ उनले भने, ‘मुलुकमा प्रजातन्त्र आए पनि त्यसको प्रत्याभूति गर्न नसकेको यो भूमिलाई बनाउन जनताले हामीलाई जिम्मेवारी दिएका छन् । अब मधेस बनाउने जिम्मेवारी काठमाडौंबाट जनकपुरमा आएको छ।’

राजपाका प्रदेशसभा सदस्य जितेन्द्र सोनारले संघीयता सामाजिक, आर्थिक र राजनीतिक विकासको आधारस्तम्भ रहेको उल्लेख गर्दै अब सोही आधारलाई टेकेर समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने बताए । उनले मुलुकको राजनीतिक परिवर्तनसँगै सामाजिक रुपान्तरणका लागि विकासको सवालमा सबै दल एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

सभामुखको निर्वाचन फागुन २ गते
सभामुखको निर्वाचन आगामी फागुन २ गते हुने भएको छ । प्रदेशसभाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको पत्र वाचन गरी बैठक शुभारम्भ गरेका थिए ।
त्यसअगाडि राष्ट्रियगानसँगै सहिदको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियो । मौनधारण अवधि नसकिँदै राजपाका प्रदेशसभा सदस्य मनीष सुमनले सभाहलमा मधेस आन्दोलनका सहिदको तस्बिर नरहेकोप्रति आपत्ति जनाए । लगत्तै राजपाका परमेश्वर साह, डिम्पल झा र माओवादी केन्द्रका जगत यादव र दिलिप साहले उठेर सहिदको तस्बिर तत्काल राख्न माग गरे । झाले सहिदको तस्बिर नलगाएसम्म बैठक चल्न नदिने अडान लिएपछि राजपाका सबै सांसद उठेरै विरोध जनाएका थिए । उनीहरुको अवरोधपछि सभामुखले सचिवालय सचिवसँग सल्लाह गरी अर्को बैठक बस्नुअघि तस्बिर राख्ने प्रतिबद्धता व्यक्त गरेपछि बैठक अगाडि बढेको थियो।

अवरोधपछि सभामुखको हैसियतमा चौधरीले बैठकमा पेस गरेको प्रदेशसभा अन्तरिम कार्यविधि २०७४ सर्वसम्मतिले पारित गरियो । सोही कार्यविधिको दफा ६ को उपदफा १ बमोजिम प्रदेशसभाको सभामुखको निर्वाचन फागुन २ गते तोकिएको छ । निर्वाचनको तयारी गर्ने जिम्मेवारी प्रदेशसभा सचिव वंशीराज पौडेललाई दिइएको छ । अर्को बैठक माघ २९ गते दिउँसो १ बजे बस्नेछ।

कार्यव्यवस्था परामर्श समितिमा संघीय फोरमका तर्फबाट योगेन्द्र राय यादव र ज्ञानेन्द्रकुमार यादव, राजपाका तर्फबाट सुरिता साह र मनीष सुमन, एमालेबाट शत्रुधन महतो र प्रमोदकुमार यादव, कांग्रेसबाट रामसरोज यादव र शोभा लामा, माओवादीबाट रामकुमार यादव र ज्वालाकुमारी साह, नेपाल संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साह र स्वतन्त्र प्रदेशसभा सदस्य शेख अब्दुल कलाम चयन भएका छन् । उक्त समितिमा सभामुख, उपसभामुख र कानुनमन्त्री चयन भएपछि थप ३ जना गरी समितिलाई पूर्णता दिइने प्रदेशसभा सचिव पौडेलले बताए।

त्यस्तै, सभामुख र उपसभामुख अनुपस्थित रहेमा बैठक सञ्चालन गर्ने उद्देश्यले ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा सञ्चमाया मोक्तान, नवलकिशोर साह, अनितादेवी यादव, शिवचन्द्र चौधरी र मोहम्मद समिर चयन भएका छन्। 

पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका सबै दलका प्रतिनिधिलाई सिटसंख्याका आधारमा समय उपलब्ध गराइएको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दल संघीय फोरमका लालबाबु राउत गद्दीले १४ मिनेट समय पाए भने राजपाका जितेन्द्र सोनारले १२ मिनेट । फोरमका २९ र राजपाका २५ जना प्रदेशसभा सदस्य छन्।

२१ सिट रहेको एमालेका शत्रुधन महतो र सत्यनारायण मण्डलले ५ मिनेटका दरले १० मिनेट, १९ सिट रहेको कांग्रेसका रामसरोज यादवले ९ मिनेट, ११ सिट रहेको माओवादीका भरत साहले ६ मिनेट र १ मात्र सिट रहेको संघीय समाजवादी पार्टीकी सावित्रीदेवी साह तथा स्वतन्त्र शेख अब्दुल क्लाम आजादले १ मिनेटका दरले समय पाएका थिए।

सभामुखले नेपाली भाषामै बैठक सञ्चालन गरे पनि आठमध्ये एउटै वक्ताले नेपाली भाषामा सम्बोधन गरेनन् । नेपाली कांग्रेसका रामसरोज यादव, एमालेका शत्रुधन महतो र सत्यनारायण मण्डल तथा माओवादी केन्द्रका भरत साहले मैथिली भाषामा सम्बोधन गरे । फोरमका लालबाबु राउत, राजपाका जितेन्द्र सोनार, नेपाल संघीय समाजवादी पार्टीकी सावित्रीदेवी साह र स्वतन्त्र प्रदेशसभा सदस्य शेख आलमले हिन्दी भाषामा बैठकलाई सम्बोधन गरे ।

मर्यादापालकको पोसाक अलमलमै
सदनमा सबैभन्दा बढी ध्यान दिइने विषय नै मर्यादापालकको पोसाक हो । संघीय संसद्मा मर्यादापालकले पुरुषतर्फ सेतो दौरासुरुवाल, कालो कोट, कालो रङको भादगाउँले टोपी र कालो छालाको जुत्ता तथा महिलाले क्रिम रङको साडी, ब्लाउज र कालो कोट लगाउनुपर्ने नियम बनाइएको छ । प्रदेश दुईका प्रदेशसभा सचिव वंशीराज पौडेलका अनुसार अन्य ६ प्रदेशमा पनि सोहीअनुरुपको नियम अवलम्बन गरिएको छ।

प्रदेश दुईमा बैठक व्यवस्थित बनाउन बसेको सर्वदलीय बैठकले मर्यादापालकका लागि पुरुषतर्फ सफारी सुट र महिलाका लागि साडी तोकिएको थियो । पहिलो बैठकमा भने उक्त निर्णय लागू भएको देखिएन।

समय अभाव र प्रहरी हेडक्वार्टरको स्पष्ट निर्देशन नहुँदा पहिलो बैठक अलमलमै सकिएको छ। ‘माननीयजीहरुलाई मर्यादा पालन गराउन सहयोग गर्नेहरुकै पोसाकमा एकरुपता नहुँदा सदनको गरिमा खस्केको देखियो,’ प्रदेशसभा सचिव पौडेलले भने । आइतबार बसेको प्रदेश दुईको पहिलो बैठकमा पुरुष मर्यादापालकको पोसाक केही मिलेको देखिए पनि महिलाको पोसाक  मिलेको देखिएन । कोहीले कुर्ता सुरुवाल लगाएको देखियो भने कोही ज्याकेटमा थिए।

मर्यादापालक हेर्दै चिटिक्क, सभ्य र एकरुपको देखिनुपर्ने पौडेलको सुझाव छ । उनले अर्को बैठकमा सकभर मर्यादापालकको पोसाकवारे स्पष्ट नियम बनाएर लागू गर्ने प्रयासमा रहेको जनाए । 

प्रकाशित: २२ माघ २०७४ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App