coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जोखिममा सीमसार

विगतमा झैँ यसपालि पनि ‘दिगो सहरी भविष्यका सीमसार’ नारासाथ यस वर्षमा पनि माघ १९ गते अर्थात् फेब्रुअरी २ का दिन विश्व सीमसार दिवस मनाइयो।

सामान्य बझाइमा सीमसार भन्नाले पानीले जमिन ढाकेको क्षेत्र हो । तर सीमसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि रामसारले ४१ किसिममा वर्गीकृत गरी सीमसारलाई परिभाषित गरेको छ । यस परिभाषाको वर्गकरणमा विशाल समुद्रदेखि सानो धान खेतको गरासम्मलाई समेटेको छ । नेपालको सन्दर्भमा नदी वा खोला, ताल, जलाशय, पोखरी, सीमाकृत सीम वा धाप, धानखेत गरी जम्मा ६ किसिमको सीमसार पाइने निधो गरेको छ । नेपाल पनि एक पक्ष राष्ट्रको हैसियतले यी सीमसारहरूको विकास तथा संरक्षणका लगायत प्रवद्र्धनका लागि व्यवस्थित तथा ठोस कार्यक्रम तथा गतिविधि तय भएको खासै पाइँदैन।

टोपोग्राफिक नक्सामा भेटिएका लगभग ८५ प्रतिशत ताल हराइसकेका छन् । तर विद्यमान १५ प्रतिशत तालमध्ये अधिकांश (९२ प्रतिशत) ताल समुदायको अग्रसरतामा संरक्षण गरेको भेटियो।

सीमसार जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण क्षेत्र हो । तर यो नेपाल सरकारको प्राथमिकताभित्र पर्दैन । विगतमा केही सकारात्मक प्रयासहरूको थालनी भएको छ । संरक्षणकर्मीहरूको अथक प्रयासपश्चात् नेपाल सरकारले सीमसार नीति २०६९ तर्जुमा गरेको छ । सरकारले नेपालका ताल संरक्षणलाई प्राथमिकता दिई राष्ट्रिय ताल संरक्षण तथा विकास समिति २०६४ गठन गरेको छ । यसले नेपालका तालहरूको अभिलेख राख्ने, ताल समितिहरूको क्षमता अभिवृद्धि लगायत संरक्षणका क्षेत्रमा सहयोग गर्ने केही प्रयासको सुरुवात भएको छ।

नेपालका सीमसारहरू चौतर्फी रूपमा विभिन्न किसिमका सामाजिक तथा जैविक प्रक्रियाका जोखिमहरू सामना गर्दैछन् । वातावरणीय प्रदूषण, ताल क्षेत्र अतिक्रमण, मिचाहा प्रजाति, माटो वा बालुवा लगायत पदार्थहरू थिग्रिने प्रक्रियाद्वारा ताल पुरिने प्रमुख समस्या छन् । यसबाहेक कतिपय तालहरू वा सीमसार क्षेत्रहरू जलवायु परिवर्तनको प्रभाव लगायत सीमसार सम्बन्धी जनचेतनाको अभावलाई पनि जोखिमको कारक भनी पहिचान भइसकेका छन्।

नीतिगत तहका अधिकांश निकायका नेतृत्व पनि सीमसार सम्बन्धी विभिन्न गतिविधि लगायत अन्य नीतिगत तथा कार्यक्रमहरूबारे अनविज्ञ छन् । सन् २०१६ मा वन विभागको कार्यक्रम अन्तर्गत सूदुर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १३ जिल्लाका तालहरूको अभिलेखीकरण गर्दा आधा हेक्टरभन्दा ठूला क्षेत्रफल तथा तीन हजार मिटरभन्दा कम उचाइमा अवस्थित ताललाई केन्द्रित गरिएको थियो । सन् २००१ को टोपो नक्सामा देखिएको तालका नक्साहरू स्थलगत प्रमाणीकरण गर्दा भेटिएनन् । मानिसको अतिक्रमणको चपेटामा परी बस्ती तथा खेतीयोग्य भूमिमा परिणत भइसकेको पाइयो । यस अध्ययनको क्रममा टोपोग्राफिक नक्सामा भेटिएका लगभग ८५ प्रतिशत ताल हराइसकेका छन् । तर विद्यमान वा बचेका १५ प्रतिशत तालमध्ये अधिकांश (९२ प्रतिशत) ताल समुदायको अग्रसरतामा संरक्षण गरेको भेटियो।

तालहरूलाई उचित व्यवस्थापन गर्न सकेको अवस्थामा दिगो संरक्षण हुन्छ भन्ने समुदायको बुझाइ छ । त्यसैले ताल क्षेत्रका सचेत समुदायले तालहरूलाई आर्यआर्जनाको एक प्रमुख स्रोतका रूपमा स्थापित गरेका छन् । पोखराको रूपा ताल माछापालन सहकारीद्वारा संरक्षण गरिएको छ । सुरुवातका दिनमा केही जनाबाट स्थापना भएको सहकारीमा हाल ७ सयभन्दा बढी सदस्य छन् । यसैगरी कैलालीको घोडाघोडी तालमा विसं २०७२ मा लगभग ३५ हजार आन्तरिक पर्यटकले भ्रमण गरेको तथ्यांक छ । यसैगरी सामुदायिक वनले झापाको जामुनाखाडी, सुनसरीको तालतलैयालाई विकास तथा संरक्षण समिति लगायतका निकायहरूले सीमसार संरक्षण गरी स्थानीय बासिन्दाका लागि मनोरञ्जन खासगरी वनभोज खाने थलो बनेको छ भने स्थानीय सामुदायिक वनले व्यवस्थापन गरेको रुपन्देही जिल्लाको जगेडी ताल क्षेत्रमा पनि उत्तिकै आकर्षक छ । उदाहरणका लागि, वि.सं. २०७२ मा नयाँ वर्ष मनाउन वनभोज खाना गएका लगभग ५० भन्दा बढी समूह देखियो । वनभोजमा सहभागीहरू कोही तालमा डुंगा खियाउँदै थिए, कोही नाचगानमा व्यस्ता थिए, कोही खाना पकाउन तथा अन्य व्यवस्थापनमा व्यस्ता देखिन्थ्यो । यी गतिविधिले ताल क्षेत्र आर्यआर्जनको स्रोत बनेको छ, फलस्वरूप संीमसार संरक्षणमा योगदान पुगेको छ।

विद्यमान सीमसारहरू जलवायु परिवर्तन लगायत प्राकृतिक प्रकोपहरू तथा मानवीय क्रियाकलापहरूले चौतर्फी जोखिममा छन् । यसका लागि सीमसार क्षेत्रलाई आर्यआर्जनको स्रोत बनाउन सके संरक्षण योगदान पुग्नेछ । सीमसार संरक्षणका लागि वर्तमान मानवीय प्रयासहरू अपुग छन् । त्यसैले सरोकारवाला निकायहरू जागरूक भई समयमा नै सीमसार संरक्षणमा सक्रियातापूर्वक लाग्नुपर्छ।
(सभापति, संरक्षण विकास फाउन्डेसन)

प्रकाशित: २२ माघ २०७४ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App