६ वैशाख २०८१ बिहीबार
कला

‘पञ्चायत’ ट्रेलर सार्वजनिक

काठमाडौं– आगामी चैत्र २ गते रिलिज हुने फिल्म ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार पत्रकारमाझ फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्ममा प्रधानपञ्चको भूमिकामा देखिएका अभिनेता सरोज खनालले फिल्म नाम जस्तो राजनीति केन्द्रित नरहेको खुलाए । ‘फिल्मको नामले नै यो फिल्म पञ्चायती शासन व्यवस्थासँग सम्बन्धित हो कि भनेर धेरैले प्रश्न गरेका छन् । तर फिल्ममा त्यो बेलाको शासन व्यवस्था देखाइएको छैन,’ उनले भने, ‘त्यो बेलाको समाजमा न्यायको अवस्था कस्तो थियो भन्ने विषयमात्र फिल्ममा छ । खास गरी छाउपडीलगायतका विषयलाई हामीले फिल्ममा देखाएका छौं ।’

फिल्मकी नायिका नीता ढुंगानाले आफूले नीर शाहको फिल्म ‘मसान’ पछि ‘पञ्चायत’मा सशक्त भूमिका पाएको दाबी गरिन् । ‘नीर अंकलको फिल्म ‘मसान’को अभिनयबाट मैले अवार्ड पनि पाएँ । यो फिल्ममा पनि ‘मसान’कै जस्तो सशक्त भूमिकामा अभिनय गरेकी छु,’ नीताले भनिन्, ‘फिल्ममा मेरो चरित्र विद्यालय पढ्दै गरेकी बालिकाको छ । यो चरित्रमा ढाल्न मलाई निकै मेहनत गर्नुपरेको थियो ।’अमेरिकाको सनफ्रान्सिस्कोमा भएको नेपाली फिल्म फेस्टिबलमा नीताले यही फिल्मबाट ‘उत्कृष्ट नायिका’को अवार्ड पाएकी थिइन् ।

कलाकार नीर शाहले नेपालमा पञ्चायती शासन व्यवस्था लामो समयसम्म नटिके पनि फिल्म ‘पञ्चायत’ शताब्दीऔंसम्म टिकिरहोस् भन्दै शुभकामना दिए । डीआइजी छविलाल जोशीले फिल्मको नाम राम्रो लागेकाले आफू पनि समयले भ्याएसम्म फिल्म हेर्ने बताए ।अमेरिकामा भएको ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा यो फिल्म ‘उत्कृष्ट फिल्म’ भएको थियो । फिल्ममा रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सुशान्तकुमार श्रेष्ठ, शंकरप्रसाद सुवेदी निर्माता तथा मेनुका ढुंगाना सहनिर्माता छन् ।
 

प्रकाशित: २२ माघ २०७४ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App