८ वैशाख २०८१ शनिबार
समाज

नेपालथोक–गोंगबु चल्ने बसलाई अवरोध

बनेपा – सिन्धुलीको नेपालथोकबाट नयाँ बसपार्क गोंगबु, काठमाडौंका लागि छुटेका बस भक्तपुरका यातायात व्यवसायीले आइतबार नियन्त्रणमा लिएर सेवा सञ्चालनमा अवरोध पुर्याएका छन्।

यातायात व्यवस्था विभागबाट बाटो इजाजत पत्र (रुट परमिट) पाएर दुई दिनअघिदेखि गोंगबु–नेपालथोक सेवा दिन लागेको हिमाल–तराई यातायातअन्तर्गतका बस उनीहरुले नियन्त्रणमा लिएका छन्। ‘भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानसहितको समूहले आइतबार सूर्यविनायक पुगेका चारवटा बसलाई नियन्त्रणमा लिएका छन्’, हिमाल–तराई यातायातका अध्यक्ष आत्माराम थापाले भने, ‘नेपालथोकबाट यात्रु लिएर सूर्यविनायक पुगेका ४ वटा बसका यात्रुलाई अमानवीय तरिकाले ओरालेर ती बस समितिको कार्यालयमा लगेको जानकारी पाएको छु। रुट परमिट हुँदा समेत उपत्यकाका व्यवसायीको दादागिरी सहनुपर्ने बाध्यता कायमै छ।’

विगतमा बनेपाबाट मात्रै नेपालथोकसम्म यात्रु बस सञ्चालन हुँदै आएको थियो। यस्तो अवस्थाले काठमाडौंबाट नेपालथोकसम्मका यात्रुले बनेपामा बस फेर्नुपर्ने बाध्यता थियो । यो बाध्यता हटाउन हिमाल–तराईले शुक्रबारदेखि गोंगबु–नेपालथोक रुटमा बससेवा सञ्चालन थालेको हो । हाल २६ वटा बसबाट सुविधा दिँदै आएको समितिले जनाएको छ।

भक्तपुरका यातायात व्यवसायी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं अधिवेशनमा चितवन गएकाले दुई दिन निर्बाध रुपमा बस सञ्चालन भएको थियो । उनीहरु फर्केलगत्तै अवरोध गरेको थापाको भनाइ छ । भक्तपुरका व्यवसायीले आइतबार बिहान बा४ख ८०२५, बा४ख ७८५८, बा४ख ८४४२, बा३ख ८१५३ नम्बरको बस नियन्त्रणमा लिएका छन्।

‘सरकारले दिएको रुट परमिटका आधारमा बस सेवा सञ्चालन गरेका हौं । हाम्रा बस छुटाउने र आगामी दिनमा गोंगबु–नेपालथोक रुटमा निर्बाध सेवा सञ्चालन हुन पाउने अवस्था पनि सरकारले बनाइदिनुपर्छ’ थापाले भने।

आइतबार बिहान बनेपा आइपुगेका बसलाई बाटोमा काभ्रेमा रहेका केही समितिले समेत अवरोध गरेका थिए। काभ्रे प्रशासनलाई हिमाल–तराईका पदाधिकारीले रुट परमिटसहित सेवा सञ्चालनको अग्रिम जानकारी गराएकाले प्रहरीले अवरोध हटाएर बस चल्न सहयोग गरेको थियो।

‘खारेज भइसकेको सिन्डिकेटलाई निरुत्साहित गर्ने सरकारी नीति हो । रुट परमिट पाएका बस गन्तव्यसम्म पुग्न प्रशासनले सहयोग गर्नेछ । एकाधिकार लाद्ने, थोत्रा बसमा यात्रा गर्न बाध्य पार्ने काममा भने छुट दिइन्न । परमिटमा उल्लेख भएअनुसार काभ्रे जिल्लाका राजमार्ग/बाटामा यी बसलाई कुनै अवरोध आएमा कानुनअनुसार कारवाही हुन्छ’, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भने।

शनिबारमात्रै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं अधिवेशनबाट अध्यक्ष निर्वाचित योगेन्द्रनाथ कर्माचार्यले बस सञ्चालनमा अवरोधबारे कुनै जानकारी नभएको बताए । ‘म सिन्धुलीको कार्यक्रममा छु । म आउनेबित्तिकै (अध्यक्षमा निर्वाचित हुनासाथ) साथीहरुले यस्तो काम गर्नुहुन्छ ? सरसल्लाह गर्नुपर्दैन ? काठमाडौं पुगेर यसबारेमा बुझेर उचित निर्णय लिनेछु’, उनले भने । कर्माचार्यकै अध्यक्षतामा हिमालदेखि तराईसम्म यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले हिमाल–तराई यातायात स्थापना भएको थियो।

गत वर्ष चैतमा पनि भक्तपुरकै समितिले साझा यातायातलाई भक्तपुरमा आउन नदिन यातायात व्यवस्था विभागलाई दबाव दिएका थिए । जनदबाबका अगाडि व्यवसायीको केही नचलेपछि साझाले नयाँ बाटो भक्तपुर, सूर्यविनायक हुँदै काभ्रेको साँगासम्म सेवा दिइरहेको छ । अझै पनि भक्तपुरको पुरानो बाटोमा त्यहींका व्यवसायीकै बोलवाला चल्दै आएको छ।

सर्वोच्च अदालतले यातायात क्षेत्रको सिन्डिकेट र कार्टेलिङ हटाउन ७ वर्षअघि नै आदेश दिइसकेको अवस्था एकातिर छ भने प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ र उपभोक्ता संरक्षण ऐन २०५४ ले सिन्डिकेट वा कार्टेलिङलाई दण्डनीय अपराध मानेको छ । तर यस्ता प्रवृत्तिमै आधारित बस तथा मिनीबस समितिलाई स्थानीय प्रशासनले संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता र नवीकरण गर्दै आएको छ । यो ऐनअनुसार दर्ता भएका यातायात समितिलाई प्रभावकारी नियमन गर्ने संयन्त्र नहुँदा फाइदा उठाउँदै व्यवसायीको मनोमानी बढेको स्थानीय प्रशासनका कर्मचारी स्वीकार्छन्।

प्रकाशित: २२ माघ २०७४ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App