७ वैशाख २०८१ शुक्रबार
कला

कमेडी कथामा ‘सुश्री सम्पत्ति’

फिल्म ‘सुश्री सम्पत्ति’का प्रमुख कलाकार सलोन बस्नेत र सारा सिरपाली । तस्बिर सौजन्यः कुशल घतानी राई

काठमाडौं – पहिलो फिल्म ‘अधकट्टी’ निर्देशन गरेको झण्डै तीन वर्षपछि निर्देशक सुव्रत आचार्यले नयाँ फिल्म ‘सुश्री सम्पत्ती’को निर्देशन गर्ने भएका छन् । राजधानीमा आइतबार पत्रकारमाझ फिल्म तथा कलाकारको घोषणा गरियो ।

अघिल्लो फिल्ममा कमेडी फ्लेबर समातेका सुव्रतले दोस्रो फिल्ममा पनि कमेडीलाई छोडेका छैनन् । ‘पहिलो फिल्मको कथाबस्तु र अहिलेको फिल्मको कथाबस्तु फरक छ । तर फिल्मको विषयवस्तु कमेडी नै हो,’ उनले भने, ‘धनसम्पत्ति भएकी अविवाहित युवतीको पछि लाग्ने युवाको कथालाई कमेडी शैलीमा देखाउनेछौं ।’ पोखरामा छायांकन हुने फिल्म फागुन १५ गतेबाट फ्लोरमा जाँदैछ ।

फिल्मका प्रस्तुतकर्ता रमेश त्वयनाले फिल्म निर्माणको बाटोलाई फराकिलो बनाउन ‘सुश्री सम्पत्ति’मा लगानी गरेको खुलाए । ‘हामी तीन भाइदेखि पछिल्लो फिल्म आधी बाटोसम्म आइपुग्दा धेरैजनाले मलाई फिल्म निर्माणको बाटो पनि आधा मात्र भयो होला भनेर सोधेका थिए,’ उनले भने, ‘तर म फिल्म निर्माणको बाटोलाई फराकिलो बनाउन चाहन्थें । त्यही सोचलाई पुरा गर्न अहिले पुनः फिल्म निर्माणमा आएको छु ।’

फिल्मको शीर्ष भूमिकामा नायिका सारा सिर्पाली देखिँदैछिन् । सारासँगै सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयनन्द लामा, विशारद बस्नेत, रोशनी कार्की, रञ्जिन कोइराला, विनोद पौडेल, सन्तोष खनाललगायतको पनि अभिनय रहनेछ । फिल्ममा नायिका प्रियंका कार्की विशेष भूमिकामा देखिँदैछिन् ।विज्ञान राई, नुनाम सुब्बा, रमन सिलाकारको लगानी रहने फिल्ममा अभिमन्यू निरवीको पटकथा, अभिमन्यू र सुव्रतको संवाद, अर्जुन तिवारीको छायांकन, भरत रेग्मीको सम्पादन, सुरेश अधिकारीको संगीत रहनेछ ।

 

प्रकाशित: २२ माघ २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App