१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

औबामेयाङको डेब्यु गोल

लन्डन – स्ट्राइकर पिरे इमेरिक औबामेयाङले आरोन रामसेको ह्याट्रिक छायामा पर्ने गरी इङ्लिस प्रिमियर लिगको ‘डब्यु’ खेलमा गोल गर्दा आर्सनलले एभर्टनमाथि ५–१ को सहज जित हासिल गरेको छ ।
शीर्ष टोली म्यानचेस्टर सिटी बराबरीमा रोकिएको फाइदा उठाउने क्रममा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डमाथि २–० को जित निकाल्दा आर्सनलका पूर्वखेलाडीले नयाँ क्लबका लागि पहिलो गोल गरेका छन् ।

सान्चेजको नयाँ क्लब युनाइटेडले यो जितसँगै शीर्ष स्थानसँगको दूरी १३ अंकमा झारेको छ ।
सिटी शनिबार चाँडो गरी सम्पन्न खेलको अन्तिम ८ मिनेट सम्हालिन नसक्दा बर्नलीसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको थियो ।गत बुधबार टोटेनह्यामसँग पराजित हुँदै सिटीभन्दा १५ अंकले पछि परेसँगै युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफूहरू शीर्ष स्थानभन्दा पनि प्रिमियर लिगको दोस्रो स्थानका लागि केन्द्रित हुने बताएका थिए ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा माउरिन्होले हडर्सफिल्डविरुद्ध मिडफिल्डर पाउल पोग्बालाई समेत बेन्चमा राख्दै ४ खेलाडी परिवर्तन गरेका थिए ।५५औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । लुकालुले हुवाँ माटाको पासलाई पोस्टको दिशा दिएका थिए । जारी सिजन उनको यो १९औं गोल हो ।

खेल सकिन २२ मिनेटअघि सान्चेजले आफ्नै पेनाल्टी विपक्षी गोलकिपरबाट फर्किँदा प्राप्त बललाई गोलमा परिणत गर्र्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । हडर्सफिल्डका मिचेल हेफेलेले आफंैमाथि गरेको फाउलमा प्राप्त पेनाल्टीमा सान्चेजको प्रहार विपक्षी गोलकिपर जोनास लोउसेलले रोकेका थिए ।‘हामीले दबाब झेल्दै धैर्यसाथ खेल्न आवश्यक थियो,’ माउरिन्होले भने, ‘हामीलाई हडर्सफिल्डको रक्षापंक्ति तोड्न निकै कठिन भयो । एलेक्सिस सान्चेजले घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा गोल गर्दै टोलीको जितमा योगदान गरे । यो सुखद सुरुआत हो ।’

यस जितपछि २६ खेलको समाप्तिमा ५६ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत् छ । समान खेलमा २४ अंक जोडको हडर्सफिल्ड १९औं स्थानमा छ ।यता बोरुसिया डर्टमन्डका औबामेयाङ र युनाइटेडका हेनरिक एमखिटार्यनलाई भिœयाउनुका साथै मिडफिल्डर मेसुट ओजिल क्लब बसाइ लम्ब्याउन सहमत भएपछि हौसिएको आर्सनलले घरेलु इमिरेट्स रंगशालामा एभर्टनमाथि सहज जित हात पारेको हो ।

खेलको छैटौं मिनेटमा रामसेले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि लाउरेन्ट कोस्सिल्नेले घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।खेल पूर्ण नियन्त्रणमा राखेको आर्सनलका लागि १९आै मिनेटमा रामसेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता ३–० मा पुर्याएका थिए ।

मध्यान्तर हुन ८ मिनेट बाँकी हुँदा औबमेयाङले टोलीका लागि चौथो गोल गर्दै आर्सनललाई सहज जिततर्फ डोर्याएका थिए ।६४औं मिनेटमा एभर्टनका डोमिनिक काल्भर्ट–लिविनले गोल गर्दै गोलअन्तर ४–१ मा झारेका थिए । तर त्यसको १० मिनेटपछि रामसेले खेल जीवनको पहिलो ह्याट्रिक पूरा गर्दै आर्सनलको सहज जित पक्का गरेका थिए ।

यस जितपछि २६ खेलमा ४५ अंक जोडेको आर्सनल छैटौं स्थानमा यथावत् हुँदा समान खेलमा ३१ अंक जोडेको एभर्टन १०औं स्थानमा छ ।प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा साउथह्यामटनले वेस्ट ब्रोमलाई ३–२ तथा बर्नामाउथले स्टोक सिटीलाई २–१ ले पराजित गर्दा लेस्टर सिटी स्वान्सी सिटीसँग १–१ को बराबरीमा रोकिएको छ ।‘एलेक्सिस सान्चेजले घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा गोल गर्दै टोलीको  जितमा योगदान गरे । यो सुखद सुरुआत हो ।’

 

 

प्रकाशित: २२ माघ २०७४ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App