coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयोजकको अनेपेक्षित हार

आयोजक धरान नीलो र दुर्गापुर स्टिल गाढा नीलो का खेलाडीहरू बलका लागि प्रतिस्पर्धा गर्दै तस्बिर : रोहित राई

धरान –  भारतको पाहुना टोली पिएसआर दुर्गापुर स्टिल,कलकत्तालाई कमजोर आक्ने गल्ती गर्दा घरेलु मैदानमा आयोजक धरान फुटबल क्लबले आइतबार अनपेक्षित हार व्यहोरेको छ ।

धरान १६ स्थित प्रादेशिक रंगशालामा पहिलो हाफमा आयोजकसँग २ गोलले पछि परेको स्थितिलाई उल्टाउदै दुर्गापुरले सडन डेथमा १–० ले जित हात पार्यो । जितसँगै दुर्गापुर स्टिल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिदासम्म आयोजक धरान २–० गोलअन्तरले अग्रता लिएको थियो । खेल शुरु भएको दोस्रो मिनेटमा नै योगेश गुरुङको फ्रिकिकमा रोमन लिम्बूले टिमलाई अग्रता दिलाएका थिए । यस्तै, १६ आंै मिनेटमा वर्तमान राईले थप एक गोल गर्दै गोलअन्तर दोब्बर बनाए ।

दोस्रो हाफमा भने पाहुना टोलीलाई कमजोर ठान्नुको परिणाम धरानले भोग्यो । दोस्रो हाफमा आधा दर्जन वान भर्सेस वान मौकामा पनि गोल गर्न नसक्दा घरेलु दर्शकलाई निराश बनाए । वैकल्पिक खेलाडी प्रवण मित्र र सुभम थापा मैदानमा छिरेपछि दुर्गापुरले लय समात्दै खेल बराबरीमा पुर्यायो । दुर्गापुरका शशीकान्त सुरले ६७ औं मिनेटमा पहिलो गोल फर्काए भने ८० औं मिनेटमा सुभम थापाले बराबरी गोल गरे । थप भएको १५ मिनेट अतिरिक्त समयको खेलमा सम्राट नन्दीले निशान लिम्बूलाई पेनाल्टी बक्सभित्र लडाएपछि धरानले पेनाल्टी पाएको थियो । आफै पेनाल्टी हान्न अग्रसर भएका निशान गोल गर्न चुक्नु धरानको लागि दुर्भाग्य सावित भयो ।

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी ३–३ गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको थियो । सडन डेथ प्रहारमा धरानका तीर्थ बस्नेतको प्रहार दुर्गापुरका गोलकिपर विशाल खत्रिकले रोके भने दुर्गापुरका सुभम थापाको प्रहार गोलमा परिणत भएको थियो । त्यसअघि, टाइब्रेकरमा धरानका वर्तमान राई, योगेश गुरुङ र बुद्धिमान राईको प्रहार गोल भएपनि विष्णु सुनुवार र सुरज बिकको प्रहार बाहिरिएको थियो । दुर्गापुरका शशीकान्त सुर, प्रणव मित्र र सेगुको प्रहार गोलमा परिणत हुदा सम्राट नन्दी र विश्वजीत मण्डलको प्रहारलाई धरानका गोलकिपर दिपेश चौधरीले रोकेका थिए । खेलको म्यान अफ दि म्याच घोषित हुँदै दुर्गापुरका बाबुलाल हस्दले नगद १० हजार हात पारे ।

खेलमा शुरुवातदेखि नै धरानले दुर्गापुरलाई दबाबमा राखेपनि पाएको मौकामा स्कोर गर्न चुक्दा पराजित हुनु पर्यो । दोस्रो हाफको ५ मिनेट, १६ औं, २४ मिनेट र २९ मिनेटमा निसान लिम्बूले वान भर्सेस वानको मौकामा पनि गोल गर्न चुके भने १५ औं मिनेटमा तीर्थ बस्नेतको प्रहार बारमा ठोक्किएर फर्किएको थियो ।

यस्तै, ३० औं मिनेटमा निसानको पासमा तीर्थको प्रहार खेर गयो भने इन्जुरी समयमा सुजन राईको हेड आकासिएको थियो । अतिरिक्त समयमा निसानको पेनाल्टी प्रहार दुर्गापुरको गोलकिपरले बचाएका थिए । रिबाउण्ड वलमा उनले हेड गरेपनि आकासियो । पाहुना टोली दुर्गापुरले भने पहिलो र दोस्रो हाफमा धरानको गोलपोष्टमा गतिलो प्रहार गर्न सकेन । दोस्रो हाफमा पाएको २ वटा मौकालाई सदुपयोग गर्दै दुर्गापुरले जितको आधार तय गरेको थियो ।

दुर्गापुरका प्रशिक्षक पिन्टु सरकारले विपक्षी टिम धेरै राम्रो खेलेपनि दोस्रो हाफमा टिमसेट मिलेकोले जित पाएको प्रतिक्रिया दिए । दोस्रो हाफमा मैदान छिरेका खेलाडी प्रवण र सुभमले खेललाई परिवर्तन गरिदिएको उनको भनाई थियो । उनले भने,‘पहिलो हाफसम्म हामीलाई मौषमले पनि साथ दिएन, वार्मअप पनि पुगेको थिएन । दोस्रो हाफमा टिमसेट मिल्यो र धेरै राम्रो खेल्यौं ।’ धरानका प्रशिक्षक सुवास केसीले गोल गर्ने अवसरमा खेलाडी चुक्दा हार भएको बताए ।

पहिलो हाफमा २ गोलले अघि भएपछि विपक्षीलाई सहजै जित्छौं भन्ने खेलाडीको मनोभावनाले पनि हार भएको उनले बताए । ‘७, ८ गोल हुनुपर्ने थियो । मौका खेर फाल्यौं । दोस्रो हाफमा जितिहाल्छौं भनेर खेलाडीले इजी खेल्दा हार भयो,’उनले भने । सोमबार बुढासुब्बाको ५ पटकको विजेता तथा १६ औं आहा रारा गोल्डकप उपाधि विजेता नेपाल पुलिस क्लब र केएफजिसि झापा ११ बीच खेल हुनेछ ।

 

प्रकाशित: २२ माघ २०७४ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App