७ वैशाख २०८१ शुक्रबार
अर्थ

अहिले सिटामोल अर्को महिना अल्बेन्डाजोल

काठमाडौं - सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यसै महिनादेखि सिटामोल र अर्को महिना अल्बेन्डाजोल उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।वैशाखमा जीवनजलसँगै पुनः सञ्चालनमा आएको उद्योगले माघ महिनाभित्र सिटामोल र फागुनमा जुकाको औषधि अल्बेन्डाजोल उत्पादन गर्ने तयारी गरेको लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले जानकारी दिए । ‘यसै महिनाभित्र सिटामोल उत्पादन सुरु हुँदैछ,’ सुवेदीले नागरिकसँग भने, ‘अर्को महिना जुकाको औषधि उत्पादन गर्दैछौं ।’

उनका अनुसार कम्पनीले हरेक महिना १–१ नयाँ उत्पादन थप्दै जाने योजना बनाएको छ । जुकाको औषधिपछि आइरन चक्की उत्पादन गर्नेछ । यसैगरी, तालिका बनाएरै पहिले जस्तै दर्जनौं औषधि उत्पादन गर्ने योजना बनाएको सुवेदीले बताए ।सिटामोल उत्पादनको लागि उद्योगलाई जिएमपीमा लैजाने काम सकिइसकेको छ । मेसिन जडान भइसकेको छ । नयाँ औषधि उत्पादनको लागि ल्याइएका मेसिनमध्ये दुइटा जडान भइसकेका छन् । एउटा केही दिनभित्रै जडान हुनेछ । भारतबाट मेसिन जडान गर्ने इन्जिनियर आएपछि काम सकिने सुवेदीले बताए । उनका अनुसार भुइँ चिल्लो पार्ने काम केही दिनमा सकिँदै छ ।

सिटामोलको कच्चा पदार्थ दुई महिनाअघि नै आइसकेको छ । प्याकेजिङ र वितरणको लागि बोलपत्रसम्बन्धी काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।सिटामोल उत्पादन सुरु भएपछि केही समय परीक्षण अवधि हुनेछ । परीक्षण अवधिमा सम्पूर्ण मापदण्ड पूरा भएपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । सिटामोलको सफलतापछि अन्य औषधि थप्ने कम्पनीको योजना छ ।

सिटामोल उत्पादनपछि अन्य औषधिका लागि थप काम धेरै गर्नुपर्ने छैन । ‘सिटामोल उत्पादन सुरु भएपछि अन्य औषधि उत्पादन गर्न थप भार केही पर्दैन,’ सुवेदीले भने, ‘कच्चा पदार्थ ल्याएपछि हरेक महिना नयाँ उत्पादन थप्न सकिन्छ ।’ कम्पनीलाई पुरानै अवस्थामा फर्काउने गरी काम भइरहेको उनको दाबी छ ।

कम्पनीले विगतमा एक सय २० प्रकारका औषधि उत्पादन गरेको थियो । हरेक महिना एक औषधि थप्दै गएर त्यही संख्यामा पु¥याउने र आवश्यकता अनुसार थप नयाँ औषधि उत्पादन गर्ने उनले सुनाए ।
यसले अहिले जीवनजल उत्पादन गरिरहेको छ । दैनिक पाँच हजार प्याकेट जीवनजल उत्पादन गर्ने क्षमता भए पनि त्यसको आधा मात्र उत्पादन भइरहेको छ । अफ सिजन भएकाले अहिले अलि कममात्र जीवनजल उत्पादन भएको सुवेदीले बताए ।जीवनजल बिक्री–वितरण गर्न सुदूरपश्चिम, मध्यमश्चिम, पश्चिमाञ्चल, मध्यमाञ्चाल लगायत ठाउँमा सप्लायर्स नियुक्त गरेको कम्पनीले बताएको छ ।

उद्योग बन्द भएको सात वर्षपछि तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा गत वैशाखमा यो उद्योग पुनः सञ्चालन भएको थियो । पुनः सञ्चालनमा ल्याउँदै दुई वर्षभित्र नाफामा जाँदा आधारभूत आवश्यकताका सम्पूर्ण औषधि उत्पादन गर्ने योजना सार्वजनिक गरिएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उद्योगलाई जिएमपी (असल उत्पादन अभ्यास) मा लगेर उत्पादन सुरु गरिएको हो ।

नेपाल औषधि लिमिटेडले २०३५ सालमा जीवनजल उत्पादन सुरु गरेको थियो । यो बंगलादेशबाट सिको थियो । बंगलादेशमा लाखौं बच्चाको ज्यान जोगाउन सफल जीवनजल नेपालमा उत्पादन गर्न युनिसेफ र डब्लुएचओले सहयोग गरेका थिए । त्यो बेला वार्षिक रुपमा करोडौं प्याकेट जीवनजल उत्पादन भएको थियो ।

सरकारले निःशुल्क वितरण गर्ने औषधि मात्र उत्पादन गर्न सक्ने हो भने पनि सरकारी स्वामित्वको यो उद्योग नाफामा जाने देखिन्छ । हाल स्वास्थ्य मन्त्रालयले वार्षिक एक अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको औषधि निःशुल्क वितरण गरिरहेको छ ।स्वास्थ्य मन्त्रालयले अहिले पनि करोडौं प्याकेट जीवनजल किनेर ग्रामीण क्षेत्रमा निःशुल्क वितरण गरिरहेको छ । त्यो बजार औषधि लिमिटेडले लिन सक्छ । सरकारी जीवनजल बन्द भएपछि मुलुकका निजी कम्पनीले बजार लिएका थिए ।

स्वदेशमा आवश्यक पर्ने औषधि उत्पादनका लागि २०२९ सालमा स्थापना गरिएको उद्योगले २०६६ सालमा उत्पादन बन्द गरेको थियो । उद्योग बन्द गर्नुको प्रमुख कारण आर्थिक घाटाभन्दा पनि विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जिएमपी मोडलमा जान नसक्नु थियो । जिएमपी मोडल भनेको औषधि उत्पादन गर्ने उपकरण र कोठा पूर्णतः कीटाणुविहीन तथा हावा छिर्न नसक्ने हुनु हो ।

 

 

 

प्रकाशित: २२ माघ २०७४ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App