coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभाको पहिलो बैठक आज

प्रदेश ४ काे प्रदेशसभा बैठक भवन । तस्बिर : नागिरक

सन्तोष पोखरेल/विशन क्षेत्री
पोखरा – प्रदेश–४ को पहिलो बैठक आज (सोमबार) बस्दैछ । बैठकको सबै तयारी पूरा भएको छ । बैठकमा सहभागी हुन प्रदेश सदस्यहरू पोखरा आइरहेका छन् । पहिलो बैठकमा सहभागी हुन सचिवालयले प्रदेश सदस्यलाई निमन्त्रणासमेत पठाएको छ ।
बैठक पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा हुँदैछ । बिहान ११ बजे बैठक सुरु हुने सचिवालयले जनाएको छ । त्यसका लागि सोमबार बिहान साढे १० बजे नै प्रदेशसभास्थलमा आइसक्न सदस्यलाई खबर गरिएको छ । बैठकमा सहभागी हुन सदस्यहरू उत्साहसाथ पोखरा आएका छन्।

निर्वाचनको अन्तिम परिणाम घोषणाको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बस्नैपर्ने संवैधानिक बाध्यताअनुसार सोमबारका लागि बैठक आह्वान गरिएको बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य ६७ वर्षीय जनकलाल श्रेष्ठले बताए । सभामुख चयन नभइसकेको अवस्थामा बैठकको अध्यक्षता जेष्ठ सदस्य श्रेष्ठले गर्नेछन् । ‘सबै तयारी पूरा भएको छ । अब बैठकको प्रतीक्षा गरिरहेका छौं,’ उनले भने, ‘सोमबार बिहान साढे १० बजे सदस्यहरू भेला भएपछि ११ बजे बैठक सुरु हुन्छ । करिब सवा १ घन्टामा पहिलो बैठक सकिन्छ।’

प्रदेश ४ मा ११ जिल्लाका कुल ६० जना प्रदेशसभा सदस्य छन् । यीमध्ये ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सदस्य हुन् । तीमध्ये ५९ जना सदस्यमात्र बैठकमा सहभागी हुन पाउनेछन् । पहिलो बैठक सहभागी हुन पाउँदा निकै उत्साह जागेको कास्कीका सदस्य बिन्दुकुमार थापाले बताए । ‘प्रदेशसभाको अनुभव बटुल्न पाउँदा उत्साही छु,’ थापाले भने।

बैठकको व्यवस्थापनका लागि आएका संघीय संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले तयारी पूरा भएको बताए । उनका अनुसार बैठक सञ्चालन गर्दा चाहिने ससाना प्राविधिक पक्षसमेत परीक्षण गरिसकिएको छ । ‘पहिलो बैठकमा सहभागी हुने सदस्यलाई औपचारिक रुपमा खबर पठाइएको छ,’ बुढाथोकीले भने, ‘पहिलो बैठकमा सबै सदस्य आउनेमा हामी विश्वस्त छौं । हामीले गरेको तयारीअनुसार पहिलो बैठक चल्नेछ।’

प्रदेशसभाको पहिलो बैठकका लागि आवश्यक भौतिक संरचनादेखि बैठकको प्रक्रिया तयारी भएको उनले बताए । यसका लागि संघीय संसद् सचिवालयका सहसचिव बुढाथोकीको नेतृत्वमा ४ सदस्यीय टोलीले केही दिनपहिला देखि नै गृहकार्य गरिरहेको थियो।

‘तीन ठूला दल (एमाले, कांग्रेस र माओवादी केन्द्र) का ३–३ जना (१ जना महिला अनिवार्य) गरी ९ जना र अन्य दुई दल (नयाँशक्ति र राष्ट्रिय जनमोर्चा) बाट १–१ जना गरेर ११ जनाले पहिलो बैठकमा बोल्नेछन्,’ बुढाथोकीले भने, ‘एकजना सदस्यले बढीमा ५ मिनेट मात्र मन्तव्य राख्नेछन् ।’ पहिलो बैठकलाई व्यवस्थित बनाउन आएका संघीय संसद्को सचिवालयका पदाधिकारीले शनिबार सर्वदलीय बैठक बोलाएर व्यवस्थापन गरेका थिए । बैठकमा प्रदेश प्रमुखको पत्र ज्येष्ठ सदस्यले पढेर सुनाउँनेछन्, त्यसपछि दलीय आधारमा प्रदेससभा सदस्यलाई बोल्न दिइनेछ । ‘प्रत्येक दलले बोल्ने सदस्यको नामावली अगाडि नै बुझाउनेछन्,’ उनले भने।

बैठकले अर्को बैठक सञ्चालन तथा प्रदेशको संसद् अधिवेशन सञ्चालनका लागि प्रदेशसभा अन्तरिम कार्यविधि पास गर्नेछ । संघीय संसद् सचिवालयले तयार गरेको कार्यविधिलाई प्रदेशसभा बैठकअघि दलीय सहमति गरी प्रदेशसभाको पहिलो बैठकले पारित गर्नेछ । प्रदेशसभाबाट अन्तरिम कार्यविधि पारित भएपछि नियमावली नबनाएसम्मका लागि यसैमा आधारित भएर प्रदेशसभाको कारबाही सञ्चालन हुनेछ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संविधानको बाध्यकारी नियमअनुसार फागुन ३ गते सभामुखको निर्वाचनको मिति तय गरिएको छ । फागुन ६ गते उपसभामुख निर्वाचन गर्ने तयारी पनि भइरहेको छ।

पोसाकमा लचकता
सचिवालयका संयोजक बुढाथोकीका अनुसार बैठकमा सहभागी हुन आउँदा तीनथरी पोसाकमध्ये कुनै एउटा लगाउनुपर्ने ड्रेसकोड तोकिएको छ । सदस्यहरूले नेपाली पोसाकका रूपमा दौरा, सुरुवाल, कोट, अन्तर्राष्ट्रिय पोसाकका रूपमा रहेको टाइ, सुट र जातीय पोसाकमध्ये कुनै लगाउन पाउनेछन् । त्यस्तै महिला सदस्यले चौबन्दी चोलीसारी, वा सुट र सांस्कृतिक पोसाक पनि लगाउन पाउनेछन्।

‘जिन्स र हाफ पाइन्ट, स्पोर्टस जुत्ता, टिसर्ट लगाउन पाइँदैन,’ बुढाथोकीले भने ।
त्यस्तै पोखरा–लेखनाथ महानगरका मेयर र उपमेयरसहित दलले तोकेका विशिष्ट व्यक्ति मात्र बैठकमा सहभागी हुन पाउनेछन्।  

१६ जना मर्यादापालक
प्रदेशसभा बैठकका लागि १६ जना मर्यादापालक तोकिएको छ। नेपाल प्रहरीका निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा चार महिलासहित १६ जना खटिएका छन् । औपचारिक आसनपछि सभामुखको पछाडिपट्टि, दायाँबायाँ, ढोकामा मर्यादापालक रहनेछन् । अहिलेसम्म प्रादेशिक सरकार गठन नभएकोले सभाहलमा सबै सदस्यका लागि एकैखाले कुर्सी व्यवस्थापन गरिएको छ । पहिलो दलका सदस्यहरू सभामुख (जेष्ठ सदस्य) को दायाँपट्टिका कुर्सीमा बस्नेछन् । संसदीय अभ्यासमा दायाँतर्फ सत्तापक्ष, बायाँतर्फ प्रतिपक्ष र बीचको रोहमा मन्त्रिपरिषद्का सदस्य बस्ने प्रचलन छ।

प्रकाशित: २२ माघ २०७४ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App