coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यापारीले अदुवा उठाउन थाले

तेह्रथुम – भारतले नेपालबाट आयात हुने अदुवामा लगाएको प्रतिबन्ध हटाएलगत्तै व्यापारीले जिल्लामा स्टक गरेर राखेको करौडौं मूल्यको अदुवा गोदामबाट लैजान थालेका छन् । जिल्लाका अदुवा व्यापारीले गोदाममा थन्क्याएर राखेको अदुवा ट्रकका ट्रक जिल्ला बाहिर निकासी गरेका हुन् ।

भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाएपछि यसअघि थन्किएको करोडौंको अदुवा निकासी हुन थालेको हो । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको व्यापारीले बताएका छन् ।

अदुवा निकासी खुलाउनेबारे नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो ।अदुवा भारत निकासी नहुँदा व्यापारीले गोदाममा र किसानले बारीमा थन्काएको करोडौंको अदुवा जिल्ला बाहिर निकासी गरेको सिंहबाहिनी अलैंची, अदुवा तथा जडीबुटी संकलन केन्द्रका प्रमुख अमृत निङलेखुले बताए । उनका अनुसार एक सातायता मात्र जिल्लाबाट करोडौंको अदुवा निकासी भएको छ । अदुवा जिल्ला बाहिर पठाए पनि विभिन्न बहानामा सीमाक्षेत्रमा सुरक्षाकर्मीले अवरोध गर्दा लाखौंंको अदुवा कुहिएर नस्ट हुन पुगेको छ ।

किसानबाट नगदै खरिद गरेको अदुवा व्यापारीले सफा नभएको, माटो मिसिएको भन्दै खरिद नगर्दा लाखौं घाटा बेहोर्नु परेको संकलन केन्द्रका प्रमुख निङलेखुले बताए । उनका अनुसार किसानसँग प्रतिकिलो २० रुपैयाँँमा खरिद गरेको अदुवा कमसल भएको भन्दै होलसेलमा ठूला व्यापारीले मूल्य तोक्ने गरेकाले व्यापारीलाई घाटा हुने गरेको गुनासो गरेका छन् ।

जिल्लाको चार गाउँँपालिकामध्ये सबैभन्दा बढी फेदाप गाउँँपालिकामा अदुवा उत्पादन हुने गरेको छ । अदुवाले केही वर्षयता राम्रो मूल्य नपाउँदा किसान अदुवा खेतीको विकल्पसमेत खोज्न थालेको जलजलेका अदुवा कृषक तुलसी कोइरालाले बताए । उनका अनुसार गाउँमा अदुवालाई व्यावसायिक रुपमा उत्पादन गर्नका लागि जलजलेमा गठित शिवजी अदुवा कृषक समूह नै गठन गरेर अहिले गाउँमा अदुवा उत्पादन गर्ने गरे पनि सोचेजस्तो आम्दानी लिन नसकेको गुनासो गरे ।

बजारमा अहिले अदुवा प्रतिकेजी १८ देखि २० रुपैयाँमा किनबेच हुने गरेको छ । तेह्रथुममा यसवर्ष गत वर्षको तुलनामा अदुवा उत्पादन बढेको छ । यसवर्ष जिल्लामा दुई सय ६० हेक्टर जमिनमा भएको अदुवा खेतीबाट तीन हजार नौ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जुन गत वर्षभन्दा ६ सय ६६ मेट्रिक टन बढी हो । गतवर्ष तीन हजार दुई सय ८६ मेट्रिक टनमात्रै उत्पादन भएको थियो ।

अदुवाका लागि मुख्य बजार भारत भए पनि भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा परेका थिए । अदुवा उत्पादन बढ्दा मूल्य कम हुने र कम उत्पादन हुँदा मूल्य बढ्ने समस्याले किसानलाई हैरानी हुने गरेको किसानले बताएका छन् । उनीहरुले अब स्थानीय निकायले कृषकद्वारा उत्पादित कृषिजन्य वस्तुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुलाउन दुवैले सरकारसँग माग गर्दै आएका थिए । निकासी खुल्ला भएपछि पूर्वका विभिन्न जिल्लाबाट अदुवा बोकेका गाडी काँकडभिट्टातर्फ जान थालेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अदुवा निकासी नहुँदा करोडौंको अदुवा व्यापारीको गोदाम र किसानको बारिमा थन्किएको थियो ।
 

प्रकाशित: २२ माघ २०७४ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App