coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

६ महिना नपुग्दै एक अर्ब ११ करोडको उत्पादन

गैंडाछाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड । तस्बिर : महेश्वर- नागरिक

उदयपुर – उदयपुरको जलजलेमा सञ्चालित पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)ले ६ महिना नपुग्दै झन्डै सवा अर्ब बराबरको गैंडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको छ । विगतका वर्षको तुलनामा झन्डै तेब्बर बढी उत्पादन गर्न थालेको उद्योगले चालु आर्थिक वर्षको माघ २० सम्म ११ लाख ४५ हजार नौ सय ९४ बोरा सिमेन्ट उत्पादन गरेको जनाएको छ ।

कात्तिकमा अधिकांश दिन मर्मत गर्नुपरेकाले सबैभन्दा कम सिमेन्ट उत्पादन गरेको उद्योगले गत पुसमा सबैभन्दा बढी सिमेन्ट उत्पादन गरेको छ । साउनमा एक लाख ७० हजार पाँच सय ६५ बोरा उत्पादन गरेको उद्योगले भदौमा दुई लाख ४१ हजार नौ सय ६९, कात्तिकमा ५२ हजार पाँच सय ५० बोरा उत्पादन गरेको थियो । त्यस्तै मंसिरमा एक लाख १६ हजार दुई सय ३०, पुसमा दुई लाख ४४ हजार ४५ बोरा उत्पादन गरेको उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेलले बताए ।

उनका अनुसार अहिले केही स्टक बढेको भएपनि सबै सिमेन्ट बिक्री भए उद्योगमा एक अर्ब चार करोड ११ लाख ५८ हजार चार सय ६९ रुपैयाँ संकलन हुने छ । यो परिमाणको सिमेन्ट बिक्रीबाट उद्योगले मूल्य अभिवृद्धि कर (भ्याट) वापत मात्र सरकारलाई ११ करोड ९७ लाख ७९ हजार दुई सय ९३ रुपैयाँ राजस्व तिर्नेछ । उद्योगले गैंडाछाप सिमेन्ट बिक्रीवापत प्रतिबोरा एक सय चार रुपैयाँ ५२ पैसा भ्याट बुझाउने गरेको छ ।

स्थानीय व्यापारी बोनस र उधारो कारोबार गर्न पाउने लोभमा निजी कम्पनीका सिमेन्ट बेच्ने गर्दा दक्षिण एसियाकै गुणस्तरीय मानिएको गैंडाछाप सिमेन्टको बिक्री अपेक्षाकृत हुन सकेको छैन । सदरमुकाम गाईघाट, कटारी, बेलटार, बेलका, मुर्कुचीलगायत जिल्लाका बजार तथा अन्य जिल्लाका बिक्रेता (डिलर)ले दोब्बर बोनस र उधारोको लोभमा परेर गैंडाछापभन्दा निजी सिमेन्ट बिक्रीमा जोड दिने गरेको पाइएको छ । देशभर दुई सय ७० हाराहारी डिलर रहेको उद्योगका सदरमुकाम गाईघाटमा मात्र ३० भन्दा बढी बिक्रेता छन्।

व्यापारीको सामान्य लोभका कारण निजी कम्पनीका सिमेन्ट किन्नुपर्दा एकातिर गुणस्तरीय पूर्वाधार निर्माणमा प्रश्न उठ्ने गरेको छ भने अर्कातिर सरकारी स्वामित्वको गैंडाछाप सिमेन्टको स्टक बढ्दै गएको छ । पछिल्लो समय दोब्बर बराबर उत्पादन गर्दै आएको उसिउलिले डिलरहरुकै कारण गैंडाछापको बिक्री आवश्यक्ताभन्दा कम हुन थालेको उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए । उनका अनुसार गैंडाछापको तुलनामा महँगो र गुणस्तर कम भएका सिमेन्ट व्यापारीकै कारण बजारमा जताततै बिक्री हुने गरेको छ ।

सदरमुकामभन्दा सात किलोमिटर मात्र टाढा उद्योग रहेका हुनाले गैंडाछापलाई ढुवानी भाडा कम पर्ने हुँदा अन्य सिमेन्टको तुलनामा सस्तो पाइन्छ । तर, बजारमा जताततै निजी सिमेन्ट बिक्री भइरहेको स्थानीय बताउँछन् । बजारमा गैंडाछापभन्दा मारुती, सिद्धार्थ, शिवम्, बृज, अर्घाखाँची, जगदम्बालगायत सिमेन्ट बिक्री हुने गरेको छ । उधारोमा खसाइदिने तथा गैंडाभन्दा बढी बोनस दिने प्रलोभनमा निजी सिमेन्टको बिक्री बढ्दै गएको स्वयं डिलरहरु बताउँछन् ।

‘गुणस्तरीय र सस्तो हुँदाहुँदै गैंडाभन्दा अरु सिमेन्ट बेच्न व्यापारी लागी पर्ने गरेका छन्,’ गाइघाटका उपभोक्ता भक्त राईले भने, ‘नगद गन्न नपर्ने तथा बोनस पनि आकर्षक पाउने भन्दै व्यापारी लोभिएर बाहिरका सिमेन्ट बेच्ने गर्छन् ।’ गैंडाछाप खोज्दै आउने ग्राहकलाई पनि ‘गैंडाछाप सकिएको छ,’ भन्दै अन्य कम्पनीका सिमेन्ट भिडाउने गरेको उपभोक्ताको भनाइ छ । उपभोक्ताका अनुसार व्यापारीले ‘उद्योग बन्द छ, दुई–चार दिनपछि मात्र आउँछ’ भन्दै अन्य सिमेन्ट बेच्ने गरेका छन् ।

गाइघाटमा घर बनाउँदै गरेका नरेश राउतले गैंडाछाप छैन भनेपछि काम नरोकियोस् भन्दै जुन पायो त्यही सिमेन्ट किन्न बाध्य हुनु परेको बताए । ‘मिस्त्री भिडिरहेका हुन्छन् सामान नभए हाजिर लगाएर हिड्छन्,’ उनले भने, ‘त्यसैले गैंडा प्रयोग गर्न मन लाग्दालाग्दै व्यापारीले छैन भनेपछि जुन पायो त्यही सिमेन्ट लगाए ।’ घर बनाउने, कुलो, नहर खन्ने, सडक, पुल र नाला खन्ने जे काममा पनि सकेसम्म गैंडा खोज्ने नपाएपछि अन्य सिमेन्ट प्रयोग गर्ने गरेको उपभोक्ता बताउँछन् ।

गैंडाको मूल्य अन्य सिमेन्टकै हाराहारी भएपनि नजिक कारखाना भएकाले ढुवानी मूल्य सस्तो पर्ने उद्योगले जनाएको छ । उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीका अनुसार गैंडाको प्रतिबोरा द्वारमूल्य नौ सय आठ रुपैयाँ ५२ पैसा हो । डिलरले ढुवानी खर्च र कामदार ज्याला जोडेर बजारमा नौ सय २० रुपैयाँमा बेच्ने गरेका छन् । निजी कम्पनीका सिमेन्ट मारुती नौ सय ३०, जगदम्बा आठ सय ९५, अर्घाखाँची आठ सय ९५, बृज नौ सय, सिद्धार्थ नौ सय, शिवम् नौ सय १०, हेटौंडाको नौ सय ९८ रुपैयाँ ३५ पैसा द्वार मूल्य हो । 

 तर, बाहिर जिल्लाबाट ल्याउनुपर्ने भएकाले ढुवानी भाडाले गैंडाकोभन्दा प्रतिबोरा ५० देखि सय रुपैयाँसम्म बढी मूल्य पर्ने गरेको छ । गुणस्तरमा पनि गैंडाभन्दा कम र मूल्य पनि बढी हुँदासमेत व्यापारीले अरु सिमेन्ट बिक्री गर्ने गरेको गुनासो स्थानीयले गर्ने गरेका छन् । यसको मुख्य कारण उधारोमा बेच्न पाउने बोनसको लोभ नै भएको उद्योग स्रोतले जनायो ।

‘गैंडा पाउन बैंकमा रकम जम्मा गरेको भौचरसहित आवेदन दिनुपर्छ,’ गैंडाभन्दा अरु सिमेन्ट बेच्नुको रहस्य खोल्दै एक व्यापारीले भने, ‘अन्य सिमेन्ट फोनको भरमा भनेजति उधारोमा ल्याइदिन्छ, बिक्री गर्दै बिस्तारै तिर्दा नि हुन्छ ।’ बोनस भने गैंडा बिक्री गर्नेले पनि आकर्षक पाउने गरेका छन् । व्यापारीका कारण केही समययता गैंडाछाप सिमेन्टको स्टक बढेको छ । मंसिरदेखि असारसम्मको पिक सिजनमा अत्याधिक बिक्री हुनुपर्ने सिमेन्ट निजी कम्पनीको प्रलोभनमा व्यापारी पर्दा अपेक्षाकृत बिक्री नभएको अनुमान उद्योगको छ ।

उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेलले भने बिक्री सन्तोषजनक नै भएको बताए । पुस सुरुदेखि बढेको अत्याधिक चिसोका कारण भौतिक पूर्वाधार निर्माणको गति सुस्त भएपछि बिक्री केही घटेको उनले बताए । निजी सिमेन्टको तुलनामा गैंडा धेरै गुणस्तरीय भएकाले पनि व्यापारीले विभिन्न कारणले गैंडासँगै अन्य उत्पादन पनि बेच्ने गरेको उनको बुझाइ छ ।

उदयपुर सिमेन्ट उद्योगले आफ्ना बिक्रेतालाई ‘क’ र ‘ख’ मा सूचिकृत गरी बिक्री र बोनसको मापदण्ड तोकेको छ । ‘क’ श्रेणीका बिक्रेताले ३ महिनाभित्र कम्तीमा सात हजार पाँच सय बोरा बेच्नुपर्ने र बोनस पाउन १० हजार एकदेखि २५ हजार बोरासम्म बिक्री गर्नुपर्ने प्रावधान छ । उक्त मापदण्ड पूरा गरे प्रतिबोरा सात रुपैयाँ बोनस बिक्रेताले पाउँछ ।

सो सुविधा पाउन ‘ख’ श्रेणीले तीन महिनामा कम्तीमा दुई हजार पाँच सय एक बोरादेखि माथि बेच्नुपर्ने हुन्छ । २५ हजारदेखि ५० हजार बोरासम्म बेच्नेलाई १० रुपैयाँ, ५० देखि ८० हजारसम्म बेच्नेलाई १५ रुपैयाँ, ८० देखि एक सय ५० बोरासम्म बेच्नेलाई २० र सोभन्दा बढी बेच्नेलाई प्रतिबोरा २५ रुपैयाँ बोनस दिने गरिएको बिक्री प्रमुख जिसीले बताए । गैंडाछापको बिक्री प्रवद्र्धन गर्नका लागि ल्याइएको सो योजनाले असल बिक्रेतालाई धेरै फाइदा पुग्ने गरेको छ ।

जिएम पौडेलले अघिल्लो तीन महिना बिक्री भएको सिमेन्टमा मापदण्ड पूरा गर्ने बिक्रेतालाई बोनसवापत भर्खरै ६० लाख रुपैयाँ निकासा गरिएको बताए । आफ्नो स्थापनाकालदेखि अहिलेसम्म सबभन्दा बढी दैनिक उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगले दैनिक सात सय टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक आठ सय टन उत्पादन क्षमता भएको उद्योगमा विद्युतीय समस्या नभए क्षमता अनुसार उत्पादन गर्न उद्योग सक्षम भएको जिएम पौडेलले बताए ।

 

प्रकाशित: २२ माघ २०७४ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App