८ वैशाख २०८१ शनिबार
अर्थ

भारतले प्रतिबन्ध हटाएपछि अदुवा निर्यात सुरु

तेह्रथुम – भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि करौडौको अदुवा जिल्ला बाहिर निकासी भएको छ। प्रतिवन्ध फुकुवा भएसँगै व्यापारीको गोदाममा थन्किएको अदुवा निकासी भएको हो। 

भारतले एक महिनादेखि अदुवा निकासीमा प्रतिबन्ध लगायका कारण अदुवा व्यापारीकै गोदाममा थन्किएको थियो। भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि उक्त प्रतिबन्ध हटेको व्यापारीहरूले बताएका छन्। अदुवा निकासी खुलाउनेबारे दुई देशबीच छलफल पनि भएको थियो। 

भारतले प्रतिबन्ध हटाएसँगै करोडौको अदुवा जिल्ला बाहिर निर्यात गरिएको सिंहबाहिनी अलैची अदुवा तथा जडीबुटी संकलन केन्द्रका प्रमुख अमृत निङलेखुले बताएका छन्। अदुवा जिल्ला बाहिर पठाए पनि बिभिन्न बाहानामा सीमाक्षेत्रमा सुरक्षाकर्मीले अबरोध गर्दा लाखौको अदुवा कुहिएर नष्ट हुनेगरेको निङलेखुले बताए। 

साना व्यापारीले किसानबाट नगदमा किनेको अदुवा ठूला व्यापारीहरूले अदुवा सफा नरहेको र माटो मिसिएको भन्दै साना व्यापारीहरूलाई उचित मूल्य दिने नगरेको उनले गुनासो गरे। साना व्यापारीले किसानसँग २० रूपैयाँ प्रति किलो किने पनि ठूला व्यापारीले आफू खुशी मूल्य तोक्नु परेको गुनासो गरे। 

जिल्लाका ४ गाउ पालिका मध्ये फेदाप गाउँपालिकामा अदुवा उत्पादन राम्रो हुनेगरेको छ। केही वर्षयता कृषकले अदुवाको राम्रो मुल्य नपाउँदा खेतीको विकल्प समेत खोज्न थालेको जलजलेका अदुवा कृषक तुलसी काइरालाले बताए। शिबजी अदुवा कृषक समूह नै गठन गरेर अदुवा खेतीमा लागेका किसान उचित मूल्य नपाउँदा मारमा पर्नुपरेको उनले गुनासो गरे। 

बजारमा अहिले अदुवा प्रतिकेजी १८ देखि २० रुपैयाँमा किनबेच हुने गरेको छ। तेह्रथुममा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ। जिल्लामा २ सय ६० हेक्टर जमीनमा भएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जुन गतवर्ष भन्दा ६ सय ६६ मेट्रिक टन बढी हो। गतवर्ष ३ हजार २ सय ८६ मेट्रिक टन मात्रै उत्पादन भएको थियो। 

अदुवाका लागि मुख्य बजार भारत भएपनि भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिने गरेका कारण किसान समस्यामा पर्दै आएका छन्। अदुवा उत्पादन बढ्दा मूल्य कम हुने र कम उत्पादन हुँदा मुल्य बढ्ने समस्याले आफूहरूले हैरानी खेप्नु परिरहेको किसानको गुनासो छ। किसानले स्थानीय निकायले आफूहरूसँग परामर्श गरेर मूल्य तोक्न माग गरेका छन्। 

अदुवा निकासी हुन थालेपछि पूर्वका विभिन्न जिल्लाबाट अदुवा बोकेका गाडीहरू काँकडभिट्टातर्फ जान थालेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।  

प्रकाशित: २१ माघ २०७४ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App