७ वैशाख २०८१ शुक्रबार
राजनीति

पहिलो बैठक बालुवाटारमा डाकियो

दाङ – दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २२ गते बिहान ९ बजेका लागि बैठक तय गरिएको छ ।  बैठकमा उपस्थित हुन प्रतिष्ठानको सदस्य रहेका जनप्रतिनिधिमूलक कार्यालयहरुलाई पनि आमन्त्रण गरिएको छ । प्रतिष्ठानका कुलपति  प्रधानमन्त्री शेरबहादुर देउवा हुन्।

तर प्रतिष्ठानमा सदस्य रहेका यहाँका  जनप्रतिनिधिहरु भने बैठकमा सहभागी नहुने भएका छन् । प्रतिष्ठानको पहिलो बैठक दाङमै हुनुपर्नेमा उनीहरूको भनाइ छ । बैठक बालुवाटारमा राखिनु जायज नभएको भन्दै बहिस्कार गर्ने तयारीमा आफूहरु रहेको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताए । ‘पहिलो बैठक दाङमै राखिनुपथ्र्यो,’ उनले भने, ‘सुरुमै काठमाडौंकेन्द्रित परिपाटीको विरोधमा बैठक बहिस्कार रणनीतिमा हामी छौं ।’
हाल काठमाडौंमै रहेका उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पनि आफू बैठकमा सहभागी हुन नसक्ने बताए । आफू फरक कामका लागि काठमाडौंमै रहे पनि माघ २२ गते बालुवाटारमा बोलाइएको बैठकमा सहभागी नहुने उनले बताए । घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीले भने, ‘हामीहरुले पनि मेयरसा’पलाई फोन गरेर कुनै पनि हालतमा सो बैठकमा सहभागी नहुन भनेका छौं।’

प्रतिष्ठानकै अर्को प्रतिनिधिमूलक निकाय जिल्ला समन्वय समिति पनि बैठकमा सहभागी नहुने भएको छ । बैठकमा सहभागी हुने–नहुनेबारे जनप्रतिनिधिहरुको निर्णयका आधारमा आफू पनि चल्नुपर्ने भन्दै समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले आफू अन्योलमै रहेको जनाए । ‘जनप्रतिनिधिज्यूहरुको लाइन के हो ? बुझ्न पाएको छैन,’ उनले भने, ‘बैठकका लागि परिपत्रचाहिँ भएको छ तर म अहिलेसम्म अनिर्णित छु।’

प्रतिष्ठानलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा जिल्लाका जनप्रतिनिधि तथा अगुवासँग छलफल नगरीकन प्रधानमन्त्रीको निवासमा बैठक बोलाउनु जायज नभएको जनप्रतिनिधिहरु बताउँछन् । ‘यहाँको स्वास्थ्य समस्या, प्रतिष्ठान स्थापनाका लागि हरेक विषयको जानकारी त यहाँका जनप्रतिनिधि र अगुवाहरुलाई थाहा हुन्छ नि,’ डाँगीले भने ‘पूर्वछलफलबिना बालुवाटारमा बैठक राखेर कसरी प्रभावकारी अजेन्डा बन्छ ?’जिल्लावासीसँग छलफलै नगरी काठमाडौंमा पहिलो बैठक राखिनुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई काठमाडौंकेन्द्रित गर्न खोजिएको आरोप लगाइएको छ । स्रोतले नाम नखुलाउने सर्तमा भन्यो, ‘प्रतिष्ठान त यहाँ नाममात्रै छ, काठमाडौंबाटै सञ्चालन हुनेजस्तो देखिनथालेको छ।’

केही दिन अघि नियुक्त प्रतिष्ठानका उपकुलपति संगिता भण्डारी पनि एकदिन मात्रै यहाँ आएर काठमाडौं फर्किएको अस्पताल स्रोतले जनाएको छ । ‘एकदिन आएर हाजिर गरेर फर्किनु भएको हो,’ स्रोतले भन्यो, ‘त्यसपछि उहाँ फर्किनुभएको छैन ।’ स्रोतका अनुसार काठमाडौंमा प्रतिष्ठानको सम्पर्क कार्यालय राख्ने तयारीसमेत भइरहेको छ ।
प्रतिष्ठानका कुलपति प्रधानमन्त्री रहने व्यवस्थाका कारण पनि बैठक कुलपतिकै निवासमा राखिएको हुनसक्ने उपक्षेत्रीय अस्पतालले जनाएको छ । कुलपति उपस्थित हुननसक्ने अवस्थामा उपकुलपति आएर पनि त यहाँका सरोकारवालासँग छलफल गर्न सक्नुहुन्थ्यो नि,’ घोराही उपमहानगरपालिकाका प्रवक्ता अर्यालले भने।

प्रकाशित: २१ माघ २०७४ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App