५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

प्रतिबन्धमै कमायो उत्तर कोरियाले २० करोड डलर

सोल – संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को नाकाबन्दीका बीच उत्तर कोरियाले सन् २०१७ मा २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एउटा प्रतिवेदनमा जनाइएको छ।

उत्तर कोरियाले आम्दानी गर्नका लागि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको सामान निर्यात गरेर नाकाबन्दीलाई उल्लङ्घन गरेको राष्ट्रसंघको स्वतन्त्र अनुगमनकर्ताले तयार पारेको गोप्य प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा प्योङयाङले सिरिया र म्यानमारलाई हतियार आपूर्ति गरेको आरोपसमेत लगाइएको छ।

संयुक्त राष्ट्रसंघीय नाकाबन्दी कमिटीलाई शुक्रबार बुझाइएको प्रतिवेदनमा जनाइएअनुसार उत्तर कोरियाले रुस र चीनबाट उत्पादन भएको कोइला भन्दै नक्कली कागजात बनाएर रुस, चीन, दक्षिण कोरिया, मलेसिया र भियतनामका बन्दरगाहमा कोइला आपूर्ति गरेको छ।

१५ सदस्सीय संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्योङयाङयाको आणविक तथा क्षेयास्त्र कार्यक्रमलाई आवश्यक पर्ने खर्च रोक्ने भन्दै सन् २००६ देखि सर्वसम्मत रूपमा उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउँदै आएको छ । जसमा कोइला, फलाम, लीड, लत्ताकपडा र सामुद्रिक खाना निर्यातमा प्रतिबन्ध र कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थ आयातमा सीमा तोकिएको छ।

‘उत्तर कोरियाले विश्वव्यापी पेट्रोलियम पदार्थको आपूर्ति सञ्जालमा हस्तक्षेप गरेर, विदेशी नागरिकसँग अपराधिक क्रियाकलापमा संलग्न भएर, विदेशमा कम्पनी दर्ता गरेर र अन्तर्राष्ट्रिय  बैंकिक प्रणालीमा हस्तक्षेप गरेर राष्ट्रसंघका पछिल्ला प्रतिबन्धको पनि अपमान गरिररहेको संयुक्त राष्ट्रसंघीय अनुगमन कमिटीले जारी गरेको दुई सय १३ पृष्ठ लामो  प्रतिवेदनमा जनाइएको छ।

संयुक्त राष्ट्रसंघको एउटा कमिटीले जारी गरेको विज्ञप्तिलाई राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । रुस र चीनले भने बारम्बार आफूहरुले उत्तर कोरियामाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई कार्यान्वयन गरिरहेको बताउँदै आएका छन्।

राष्ट्रसंघीय अनुगमन कमिटीले सिरिया र म्यानमारबीच भइरहेको ब्यालेस्टिक क्षेप्यास्त्र सहकार्यका विषयमा पनि अनुसन्धान गरिररहेको बताएको छ । उसले यस अघि सन् २०१२ देखि २०१७ का बीचमा उत्तर कोरियाले सिरियाको वैज्ञानिक अध्ययन र अनुसन्धान केन्द्रलाई मालवहाक जहाज पठाएको भनेर सार्वजनिक भएका ४० वटा प्रतिवदेनमाथि पनि अनुसन्धान भइरहेको बताएको छ । सिरियाको वैज्ञानिक अध्ययन र अनुसन्धान केन्द्रले देशको रासायनिक हतियार कार्यक्रम सञ्चालन गर्ने गर्दछ।

अनुसन्धानले सिरियाको बाटो हुँदै अज्ञात देशमा दुईवटा उत्तर कोरियाली जहाज पठाइएको पनि बताएको छ । नाम सार्वजनिक नगरिएको एउटा देशका अनुसार नियन्त्रणमा लिइएको एउटा उत्तर कोरियाली जहाजमा रासायनिक कारखानाको बाहिरी भाग बनाउन आवश्यक पर्ने इँटा थियो।

सिरियाले सन् २०१३ मा आफ्नो रासायनिक भट्टी बन्द गर्न सहमति जनाए पनि कूटनीतिज्ञ र हतियार अनुगमनकर्ताले सिरियाले गोप्य रूपमा रासायनिक हतियार राखिरहेको वा नयाँ रासायनिक हतियार क्षमता विकास गरिरहेको आशंका गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि सिरियाली प्रतिनिधिले पनि राष्ट्रसंघीय प्रतिवेदनमाथि तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्।

राष्ट्रसंघीय अनुगमनकर्ताहरुले नाम सार्वजनिक  नगरिकन एउटा देशलाई उद्धृत गर्दै बताएअनुसार म्यानमारले पनि उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रणालीसहित परम्परागत हतियार लिएको प्रमाण रहेको बताएका छन् ।
म्यानमार सरकारको उत्तर कोरियासँग कुनै पनि प्रकारको हतियार सम्बन्ध नरहेको र सुरक्षा परिषद्को प्रतिबन्धलाई मानिरहेको राष्ट्रसंघका लागि म्यानमाली राजदूत हाउ डो सुआनले बताए।

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् २०१६ मा लगाएको प्रतिबन्धमा उसले निर्यात गरिरहेको कोइलामा सीमा तोकेको थियो र यदि कुनै सदस्य राज्यले प्योङयाङसँग कोइला खरिद गरेको पाइएमा सुरक्षा परिषद्को नाकाबन्दी कमिटीलाई जानकारी गराउन भनिएको थियो । त्यसपछि गत अगस्ट ५ मा सुरक्षा परिषद्ले उत्तर कोरियाबाट निर्यात हुने कोइलामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: २१ माघ २०७४ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App