coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फोरमले निर्वाचनबाट मुख्यमन्त्री चयन गर्ने

जनकपुर – संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको छ। प्रदेशकै ठूलो दलको हैसियतले फोरमले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ। 

चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला भएको सहमतिअनुसार जो ठूलो दल हुन्छ उसैको नेतृत्वमा प्रदेश सरकार बनाउने सहमति भएको थियो। जसअनुसार स्वभाविक ढंगले फोरमले प्रदेश सरकारको नेतृत्व गर्नेगरी मुख्यमन्त्री चयनको गृहकार्यलाई तीब्रता दिएको हो। 

जनकपुरस्थित फोरमको जिल्ला पार्टी कार्यालयमा शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री चयनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। पार्टी उपाध्यक्ष एवं प्रदेश २ का प्रमुख रेणु यादव संयोजक र मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य रहने गरी निर्वाचन समिति बनेको हो। 

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शनिबार गठित निर्वाचन समितिले आइतबारदेखि निर्वाचन प्रक्रियालाई अघि बढाउनेछ। यद्यपी औपचारिक रुपमा निर्वाचनमा जानुअघि सर्वसम्मत ढंगले मुख्यमन्त्री चयनको अधिकतम प्रयास जारी राख्ने सहमति भएको फोरम नेपालका प्रदेश सांसद सरोज सिंहले जानकारी दिए। 

सम्भव भए सर्वसम्मत नभए निर्वाचनमार्फत चयन हुने प्रदेशको संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने प्रावधान छ। 

यसैगरी, प्रदेश सरकारको नियमावली मस्यौदा समितिको लागि सरोज सिंह र चञ्चमाया मोक्तान चयन भएका छन्। 

त्यस्तै, फोरम नेपालको नियमावली मस्यौदा तयारी समितिको संयोजकमा रामआशिष यादव तथा सदस्यमा सञ्जय यादव र पारस साह चुनिएका छन्। कार्यव्यवस्था समितिको लागि ज्ञानेन्द्र यादव र योगेन्द्रराय यादव चयन भएका छन्। 

प्रकाशित: २० माघ २०७४ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App