coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हैसियत विर्सेर स्वराजसँग भेट गर्नु लज्जास्पद: कमल थापा

मकवानपुर- राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले  भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबारे कडा प्रतिक्रिया दिएका छन्। हेटौंडामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले देश बिषम परिस्थितीमा रहेको अवस्थामा विदेशमन्त्री स्वराजको भ्रमण उपयुक्त नभएको बताए। उनले राजनीतिक दलका नेताहरुले हैसियत बिर्सेर भेटघाट गर्नु लज्जास्पद भएको जिकिर गरे। देशमा तीन तहको निर्वाचन पछि केन्द्र र प्रदेशमा नयाँ सरकार गठनको अन्तिम चरण र प्रदेश सभा बैठकहरु धमाधम चलिरहेको बेला स्वराजको भ्रमण स्वभाविक नभएको उनको कथन थियो।

बर्तमान प्रधानमन्त्री, भावी प्रधानमन्त्री, बिभिन्न दलका बिशिष्ठ नेताहरुले हुलका हुल कार्यकर्ता लिएर भेटघाट गर्दा पुर्खाले पनि नदेखेको उपनिवेशवाद नेपाल र नेपालीले भोग्नुपर्ने भन्दै उनले चेतावनी दिए।

स्थानीय तह, प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा राप्रपाको हारलाई पनि उनले सकारात्मक रुपमा हेर्नुपर्ने बताएका छन्। राप्रपाले चाहँदा मात्र दुई तिहाइ ल्याउन नसक्ने र संविधान संशोधन गरी मुख्य ऐजेण्डा पुरा गर्न नसक्ने भएकाले जनताले राप्रपालाई आफुसँगै राखेको उनले बताए। जनताले सडकबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्न आफुहरुलाई म्याण्डेड दिएको भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए। अस्थिर भीडको भन्दा पनि नीति, निष्ठा र सिद्धान्तमा सधैं विश्वास गर्ने भन्दै उनले देशले राष्ट्रवादी शक्तिको खाँचो महसुस  गरेको र त्यसको पूर्ती राप्रपाले गर्ने पनि दोहोर्‍याए।

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेर चुनाव हारेपनि जनतासँग गरेको बाचा पुरा गरेको उनले बताए। मकवानपुर गृहजिल्ला भन्दा पनि भौतिक पूर्वाधार, यातायात र विविध सम्भावनाको खानी भएकाले हेटौंडालाई राजधानी तोकेको पनि अध्यक्ष थापाले तर्क गरे।

प्रकाशित: २० माघ २०७४ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App