५ वैशाख २०८१ बुधबार
अन्य

मोजमस्तीको संस्कृति

विश्वव्यापीकरणसँगै चाडपर्व मान्ने चलन पनि फेरिएको छ। एक देशको चलन अर्को देशमा सहजै हस्तान्तरण भएको छ। हामीले मान्ने हरेक चाडपर्व पुर्खाले मनाउनेभन्दा फरक चलनका साथ मनाइरहेका छौं। न त हिन्दूले परम्परामा आधारित भएर मनाएका छन् न त अन्य कुनै समुदायले आफ्नो संस्कारअनुसार मनाइरहेका छन्। नयाँ पुस्ताले सबै पर्व मनाउँछन्, त्यो पनि पश्चिमा शैलीमा। अहिले सबै (धेरैजसो) चाडपर्वमा मासु र रक्सीले प्राथमिकता पाएको हुन्छ भने युवाका जमात त डिस्को र क्यासिनोमा पुगेर पर्व मनाउन थालिसकेका छन्।

अहिलेका पुस्ताले दसैँमा घटस्थापनादेखि नौ दिनसम्म मासु र भात खाएर बस्छन्। व्रत बस्ने प्रचलन हराइसकेको छ भने पूजाका लागि भन्दा डेटिङका लागि देवीको मन्दिर जाने चलन बढ्न थालेको धेरै भइसक्यो। त्यस्तै तिहारमा देउसीभैलोमा भन्दा जुवाको खालमा मान्छे बढी भेटिन थालेका छन्। बिस्तारै मूल संस्कृति लोप हुँदैछ। यो भनाइ हो, प्राज्ञ तथा संस्कृतिविद् जगमान गुरुङको। विभिन्न जातजातिका पर्व खुलामञ्चमा हेरिरहेका हामीलाई सांस्कृतिक पर्व झनै व्यापक भएजस्तो आभास हुन्छ तर यसमा विकृति र विसंगतिले डेरा जमाउन थालेको गुरुङको गुनासो छ। उनी भन्छन्, ‘देशमा राजनीतिक उथलपुथल भयो र त्यसको भौतिक मारमा हाम्रा चाडपर्व परे। पहिलेका सांस्कृतिक गीत सिधै मायापिरतीका हुँदैनथे, घुमाउरो हुन्थे र एकैजनाले पनि ७ रात ७ दिनसम्म गीत गाउँथे। अहिले सिधासिधा भन्ने चलन आइसक्यो।’

थारू संस्कृतिविद् योगेन्द्रमान चौधरी भने यसलाई राष्ट्रियता बलियो बनाउने नेपालीको ‘नयाँ शैली’का रूपमा लिन्छन्। उनका अनुसार पहिले सबै जातजाति, भाषाभाषीलाई अहिलेको जति प्राथमिकता दिएको थिएन तर हिजोआज सबैलाई बराबर प्राथमिकता छ र सकारात्मक छ। नयाँ राजनीतिक परिपाटीले पुराना संस्कार र संस्कृतिलाई जरैदेखि उखेलेर फालिदिएको अहिलेको नयाँ परिपाटीले नयाँ संस्कारको जन्म गराएको उनको ठहर छ।

त्यसो त मानवशास्त्री डिल्लीराम दाहालको भने फरक मत छ। उनी चाडपर्व सबै जातजातिमा फैलनुमा तीन कारण भएको मान्छन्। मान्छेको स्वभाव नै मनोरञ्जन गर्न रुचाउने, फरक स्वादको खान रुचाउने र फरक पहिरन लगाउन मन गर्ने खालको हुन्छ, जसले सबै जातजाति सबै किसिमका चाडपर्वतर्फ आकर्षित भइरहेका छन्।

संस्कृति कम, फेसन बढी

‘अलिक रातो र झिलिकमिलिकवाला देखाउनुस् न साहुजी, एक दिन लगाउनुछ, के कालो रङको लगाउनु हैन?’ 

‘हो नि ! कि रातोवाला देखाउनुस्, कि हरियोमा पनि अलिक लाइटवाला हरियो देखाउनुस्।’

माथिका संवाद हुन्, बौद्धस्थित एक फेन्सी पसलमा सोनाम ल्होसारका लागि तामाङ ड्रेस किन्न पुगेका दुई युवतीको। विष्णु र सुस्मिता तामाङ नाम बताउने उनीहरू नजिकिँदै गरेको सोनाम ल्होसारका लागि कपडा खरिद गर्न पुगेका हुन्। सुस्मिता र विष्णुले एकै स्वरमा भने, ‘वर्ष दिनमा आउने सोनाम ल्होसारमा सबैले ड्रेस लगाउँछन्, हामीले पनि लगाउनै प-यो नि! विष्णुले लजाउँदै थपिन्, एकदिन मात्रै भए पनि खुलामञ्चमा लगाएर जान ड्रेस किन्न आएको।

सुस्मिता र विष्णुजस्तै एकदिनका लागि मात्रै ड्रेस किन्न आउने ग्राहक ल्होसार आसपासताका बढ्ने बताउँछन् ९/१० वर्षदेखि बौद्धमा तामाङ र लामाका ड्रेसको व्यापार गर्दै आएका व्यापारी ओम खत्री र अर्का व्यापारी हरिशरण गोयल। ओमले खुसी हुँदै भने, ‘हाम्रो व्यापारको सिजन नै यही हो। गुरुङ समुदाय, तामाङ समुदाय लगायतको ल्होसार यही समयमा पर्छ र हाम्रो व्यापार पनि यही समयमा बढी हुन्छ।’ ‘अरू समय त झिँगा मारेर बस्ने हो,’ अर्का व्यापारी गोयलले थपे।

बौद्धमै रहेको हिमालयन आर्टस् ट्रेडका मेघराज लामाको पसलमा भने तिब्बती ड्रेसहरू राखिएको थियो। ती ड्रेस भने जुनसुकै मौसममा र जुनसुकै जातजातिले पनि पहिरिन मिल्ने लामाको भनाइ छ। उनले थपे, ‘अहिले कल्चरका लागि कपडा लगाउने भन्दा पनि फेसनका लागि कपडा किन्न आउनेको बाहुल्य छ। मेघराजका अनुसार १० देखि १५ प्रतिशत सम्मका ग्राहक बाहुन क्षेत्री छन्। उनले अझै जोड दिएर भने, ‘त्यसैले सबैखालका ग्राहकलाई मध्यनजर गर्दै हामीले सजिलो र सुन्दर खालका जातीय पहिरनको डेभलप गरेका छौँ।’

जनजातिका सबैखाले कपडाको मटरियल भने चाइना र भारतदेखि आयात हुने व्यापारीहरू बताउँछन्। ‘त्यहाँदेखि कपडा ल्याउने र ग्राहकको अर्डरअनुसार फेसन–फेसनका ड्रेस बनाउने हो,’ ओमले भने। जातजातिका पोसाकलाई फेसनको रूपमा विकास गर्दा संस्कृतिमा भने विकृति बढ्ने स्वीकार गर्छिन्, न्युरोडमा सपिङ गर्दै गरेकी माया गुरुङ। उनले भनिन्, ‘यसरी थरीथरीका कपडालाई जातीय पहिरनका रूपमा विविध किसिमका फेसनमा रूपान्तरण गर्दा हाम्रा पुख्र्यौली पोसाक धरापमा पर्न सक्छ।’

अन्य जातका व्यापारी

जहाँजहाँ जातजातिका पोसाक व्यापार हुन्छ, त्यहाँ तिनै जातका व्यापारीभन्दा बाहुनक्षेत्रीको बाहुल्य बढी देखिन्छ। बौद्धमै पनि अन्य जातको तुलनामा बाहुनक्षेत्रीको बाहुल्य बढी रहेको हरिशरण गोयलले बताए। अन्य जातका व्यापारी भए तापनि व्यापारमा कुनै असर नपरेको गोयलको ठहर छ। गोयलकै अनुसार व्यापारी मात्रै होइन, किन्ने मानिस पनि अन्य जातका बढ्न थालेको बताए। किन जान्छन् त अन्य जातका मानिस पहिरनै लगाएर भन्ने जिज्ञासामा धनुका राईले भनिन्, ‘म राई भएँ भन्दैमा मेरा सबै साथी राई नै हुन्छन् भन्ने छैन। अन्य जातका मानिस पनि मेरा साथी हुन्छन् र मलाई साथ दिन भनेर उनीहरू पनि त्यस्ता जातीय कार्यक्रममा जान्छन्।’
 
खुलामञ्च ओट्ने क्रम

हिजोआज हरेक जातिको सांस्कृतिक कार्यक्रम टुंडिखेलमा आयोजना हुन्छ। टुंडिखेलमा आयोजना गर्नुको प्रमुख कारण राष्ट्रिय पर्वको मान्यता प्राप्त गर्नका लागि राज्यलाई दबाब दिनलाई रहेको तमु ल्होसार आयोजना समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले बताए। गुरुङका अनुसार गुरुङ समुदायको जनसंख्या काठमाडौंमा बढ्दै गएपछि हलमा आयोजना गर्न थालेका थियौं। जब २०६३ सालको जनआन्दोलन भयो त्यसपछि टुँडिखेलमा मनाउन थालियो। सुरुमा पर्वलाई राजनीतीकरण गर्नहुन्न भन्दै एक साल दुई समूह भएर मनाए पनि पछि सबैले टुँडिखेलमै मनाउने चलन भएको उनले बताए। यसरी टुँडिखेलमा सांस्कृतिक पर्व मान्न थालेपछि लोप हुन लागेको संस्कृति जोगिएको गुरुङको ठहर छ।

प्रकाशित: २० माघ २०७४ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App