८ वैशाख २०८१ शनिबार
राजनीति

सभामुखको चुनाव फागुन २ गते

जनकपुरधाम- प्रदेश सभा अध्यक्ष (सभामुख) को निर्वाचन अगामी फागुन दुई गते गर्ने सैद्धान्तिक सहमति गर्दै प्रदेशसभाको प्रथम बैठकको कार्यविधि टुंग्याइएको छ। शनिबार साँझ प्रदेशसभा भवनमा बसेको सर्वदलीय बैठकले प्रदेशसभाको प्रथम बैठकको लागि मुख्य एजेन्डा तय गर्दै सभामुखको निर्वाचनको लागि समय निर्धारण गरेको हो। आइतबार बस्ने सभाको पहिलो बैठकले उक्त प्रस्तावलाई पारित गर्नेछ।

प्रदेशमा पहिलो पटक हुन लागेको संसदीय अभ्यासलाई मर्यादित बनाउन आवश्यक कार्यविधि तथा बैठकको लागि मुख्य एजेण्डा तयार तयार पार्न बसेको उक्त बैठकमा संघीय समाजवादी फोरमका बाहेक सबै दलका प्रतिनिधि सहभागी थिए। फोरमको संसदीय दलको नेता चयन गर्न छुट्टै बैठक चलिरहेको हुँदा उक्त पार्टीका प्रतिनिधि सर्वदलीय बैठकमा सहभागी हुन नसकेको जनाइएको छ।

सर्वदलीय बैठकले १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । उक्त समितिको बैठक माघ २९ गते बिहान ८ बजे र प्रदेश सभाको दोस्रो बैठक सोही दिन दिउँसो १ बजे बस्ने निर्णय भएको बैठकमा सहभागी राजपाका विधायक परमेश्वर साहले बताए।

त्यस्तै प्रदेशसभाको प्रथम बैठकमा दलको तर्फबाट बोल्न पाउने समयसीमा पनि निर्धारण गरिएको छ। प्रदेशसभामा प्राप्त सीट संख्याको आधारमा संघीय समाजवादी फोरमलाई सबै भन्दा बढी १४ मिनेट, राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, कांग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्न पाउनेगरी समय उपलब्ध गराउने निर्णय सर्वदलीय बैठकबाट गरिएको सचिवालय सचिव वंशीराज पौडेलले बताए।

प्रकाशित: २० माघ २०७४ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App