अल्जाइमर्स: संगीत र सुस्त मृत्यु

शनिबार, २० माघ २०७४, १७ : २७ नागरिक

संगीतमा ईश्वरीय शक्ति हुन्छ । संगीत दिलबाट बजाउनु वा गाउनु भयो भने मुर्दा पनि ब्युँतन्छ भन्ने भनाइ छ । शास्त्रीय संगीतका प्रख्यात गायक तथा वादक तानसेनले गाउँदा झरी पथ्र्यो र दियो बल्थ्यो भन्ने भनाइ छ ।यी भए शास्त्र र इतिहासका कुरा तर पछिल्लो समय वैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने संगीतले अल्जाइमरजस्तो रोगको उपचार पनि हुन सक्छ ।

अल्जाइमर एक किसिमको बिर्सने रोग हो । यस रोगमा केही सम्झना दिलमा गढेर बसेको हुन्छ र त्यही सम्झनाका आधारमा अल्जाइमरका रोगीले नजिकका प्यारा मानिसलाई चिन्ने गर्छन् तर उनीहरुलाई नयाँ कुरा कहिले स्मरण हुन्छ कहिले हुँदैन । पुराना स्मरण पनि टुक्रा टुक्रामा बस्ने गरेको हुन्छ ।

अखिलेशलाई ५० वर्षको उमेरमा बिर्सने रोगको सुरुवात भएको थियो । सुरुमा यो त्यति चिन्ताजनक होलाजस्तो न त अखिलेशलाई लागेको थियो न त उनको परिवारजनलाई नै । ७० वर्षको उमेर पुगुञ्जेल त अल्जाइमरले अखिलेशको दिमागलाई दपेटिहाल्यो । बिस्तारै उनले शब्द नै बिर्सन थाले । हुँदाहुँदा घरमा बोलिने बोलीचाली र भाषा नै बिर्सन थाले ।
अखिलेशलाई अझै पनि जीवनका केही कुरा सम्झना छन् तर संगीतका प्रति उनको लगावमा कमी भने आएको छैन । ७० को दशकमा उनी बडो रुचिका साथ फिल्म हेर्न थान्थे । शास्त्रीय संगीतमा उनको गज्जबको लगाव थियो । उनी घरमा हुँदा पनि चर्को आवाजमा संगीत सुन्थे ।

हिजोआज उनको बोल्ने शैली निकै सुस्त भइसकेको छ । उनको बुद्धिले शब्द बनाउन छाडेको छ । तथापि उनलाई पुराना हिन्दी गीत र शास्त्रीय संगीत अझै पनि स्मरणमा छ ।

विगत दुई वर्षयता उनले म्युजिक थेरापीका माध्यमले संगीतका नयाँ शैली र शिल्प सिकिसकेका छन् । उनी वीणामा नयाँ नयाँ धुन बजाइरहेका हुन्छन् । दिनमा कैयौँ पटक आफूलाई याद भएका गीतका गेडा उकेरिरहेका हुन्छन् ।
उनको स्मरणमा संगीत मात्र ज्यूँदो छ । त्यसैले त उनी कतिपय अवस्थामा घरमा रमाइलो वातावरण छ भने गाउन थालिहाल्छन् । कहिले सुरमा गाउँछन् त कहिले बेसुरमा ।

दिमागले काम गर्ने तरिकाको जुन गणित हुन्छ, त्यो बुझ्नका लागि संगीत पनि वैज्ञानिकहरुका लागि एउटा अहं शोधको विषय बनेको छ ।

शोधकर्ताहरुका अनुसार संगीतमा यति शक्ति हुन्छ कि दिमागले सबै न्युरोन्सलाई सक्रिय बनाइदिन्छ । त्यसैले संगीत सुनेर मानिस झुम्न, हल्लिन र गोडालाई चलाउन थालिहाल्छ ।

अल्जाइमर तथा डिमेन्सियाजस्ता रोगको कुनै खास कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन । यो रोग कुनै स्वस्थ मानिसलाई अचानक नै पनि हुन सक्छ ।

संसारभर ४४ करोडभन्दा बढी यस रोगबाट पीडित छन् । एउटा अध्ययनअनुसार प्रत्येक चार जनामध्ये एक जनालाई यो रोग लाग्ने सम्भावना हुन्छ । बेलायतमा मात्र ८ लाख ५० हजारभन्दा बढी मानिस यस रोगको सिकार छन् । हुन त अधिकांश मानिस वृद्धावस्थाको अन्तिमतिर यस किसिमको रोगको सिकार हुने गर्छन् तर पछिल्लो समय ४०–५० वर्षको उमेरका मानिसमा पनि यो रोगको लक्षण देखिन थालेको छ ।

हालै मात्र अल्जाइमरको विकसित रुपबाट पीडित ९१ वर्षीया एक महिलामाथि शोध गरिएको थियो । ती महिलाको नाउँ नोर्मा थियो । उनलाई आफ्नो जीवनका कुनै पनि याद ताजा थिएनन् । न त उनी कसैलाई चिन्थिन् । तर उनलाई संगीतले भने तान्थ्यो । उनी संगीतको नयाँ धुन सिक्न इच्छुक थिइन् । संगीतले नै उनलाई सबैभन्दा बढी खुसी दिन्थ्यो ।
जानकारहरुका अनुसार डिमेन्सियाका रोगी आफ्नो उम्दा र रमाइला पलका बेला सुनेका गीत र धुन स्मरण गर्न सक्छन् । उनीहरुलाई ती दिन याद आउनेबित्तिकै ती गीत र धुन गुन्गुनाउन थालिहाल्छन् ।

९१ वर्षकी नोर्माका लागि नयाँ धुन सिक्नु उति सहज थिएन तर पनि उनी नयाँ धुन मात्र सिकिरहेकी थिइनन् त्यसलाई स्मरण पनि गरिरहेकी हुन्थिन् । उनलाई दैनिकी चलाउनका लागि कतिपय शब्द याद आउँदैन थिए तर उनले आफ्नो जमानाका गीतका शब्द भने पूर्ण रुपमा सम्झने गर्थिन् ।

उनको दिमागमा संगीतका लागि एउटा विशेष ठाउँ थियो । 

यस किसिमको केस स्टडीका आधारमा नै जानकारहरु के भनिरहेका छन् भने डिमेन्सियाका रोगीहरुलाई संगीतको सहयोगले नयाँ किसिमका सिल्प सिकाउन सकिन्छ । उनीहरुमा बढ्दो तनावलाई संगीतबाटै कम गर्न सकिन्छ । 
अर्थात् संगीत यादगार मात्र हुँदैन बरु यो त स्मरण फर्काउने कुरामा पनि सहयोगी साबित हुन सक्छ ।

आँकडामा अल्जाइमर्स

  • अमेरिकामा सबैभन्दा बढी मृत्यु हुने रोगमध्ये अल्जाइमर्स छैटौँ नम्बरमा पर्छ ।
  • सन् २०१७ मा अल्जाइमर्स र अन्य डिमेन्सिया उपचारका लागि अमेरिकाले २५९ बिलियन डलर खर्च ग¥यो । २०५० सम्म यो खर्च १.१ ट्रिलियन पुग्ने आँकलन गरिएको छ ।
  • ५० लाखभन्दा बढी अमेरिकीहरु हाल यस रोगबाट पीडित छन् । २०५० सम्म यो संख्या बढेर १ करोड ६० पुग्ने आँकलन छ ।प्रत्येक ६६ सेकेन्डमा अमेरिकामा एक जना यस रोगबाट पीडित हुन्छन् ।
  • अल्जाइमर्स तथा डिमेन्सिया रोगबाट पीडित वृद्धवृद्धाहरुको स्याहार गर्ने स्वास्थ्यकर्मीमध्ये ३५% ले आफ्नो स्वास्थ्य पूर्ण रुपमा बिग्रिएको गुनासो गर्छन् जबकि अन्य वृद्धवृद्धाहरुको सेवामा रहेका १९% ले मात्र यस्तो गुनासो गर्ने गरेका छन् ।
  • प्रत्येक तीन जनामध्ये एक जना वृद्धवृद्धा डिमेन्सिया तथा अल्जाइमर्सबाट मृत्यु बेहोर्ने गरेका छन् ।
  • डिमेन्सियाबाट जति मानिस मर्छन्, त्यति त स्तन तथा प्रोस्टेट क्यान्सरको कुल मृत्युभन्दा बढी हुने गरेको छ ।
  • सन् २००० यता अमेरिकामा मुटुको रोगबाट मृत्यु हुनेको संख्या १४% ले घटेको छ भने अल्जाइमर्सबाट मृत्यु हुनेको संख्या ८९% ले बढेको छ ।
  • १ करोड ५० लाख भन्दा बढी अमेरिकीहरु डिमेन्सिया तथा अल्जाइमर्स रोगका लागि अतिरिक्त रकम तिर्न नसकेको तथ्यांक छ ।
  • सन् २०१६ मा स्वास्थ्यकर्मीहरुले यस्ता रोगीको सेवामा १८.२ बिलियन घण्टा बिताएका थिए, जसको केयर भ्यालु २३० बिलियन डलर हुने गर्छ ।
  • नेपालमा पनि डिमेन्सिया तथा अल्जाइमर्सका रोगीहरुको संख्या तीव्र गतिमा बढिरहेको छ । यो रोग कति घातक छ भन्ने कुरा यही तथ्यांकबाट प्रस्ट हुन्छ ।





यसमा तपाईको मत