७ वैशाख २०८१ शुक्रबार
अर्थ

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

चौतारा (रासस)- निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ।

साविक ४१ मिटर ग्रसहेडलाई ८० मिटर ग्रसहेडमा वृद्धि गरी थप विद्युत् शक्ति उत्पादन हुने देखिएपछि क्षमता विस्तार गरिन लागेको आयोजना प्रमुख सन्दीप जिसीले जानकारी दिए।

विसं २०७१ मा सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण शुरु भएको सो आयोजना २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य छ। विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि काम रोकिएको थियो। तत्पश्चात शुरुमा निर्धारित विद्युत् शक्तिलाई वृद्धि गरेपछि समयपछि सरेर अब २०७७ सालमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैक, एनसिसी बैंक, बिजनेस युनिभर्सल बैंक र इन्फास्ट्रकचर बैंकको रु एक अर्ब २० करोड र प्रवद्र्धक कम्पनीको रु ५४ करोडसहित रु एक अर्ब ७४ करोडमा मुनलाइट हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको लागत वृद्धि भई रु दुई अर्ब ७० करोड पुगेको छ।

हालसम्म आयोजनाको २० प्रतिशतमात्र काम सम्पन्न भएको छ । थप क्षमताको विद्युत् खरिद बिक्री सम्झौता (पिपीए)को लागि काम भइरहेको आयोजना प्रमुख जिसीले बताए। बलेफी करिडोरमा निजी क्षत्रबाट ४ दशमलव २ मेगावाटको बरम्ची आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । निजी क्षेत्रबाट ३ दशमलव २ मेगावाटको गेलुङ खोला, शिव श्री हाइड्रोपावरद्वारा रु छ अर्बमा ३६ मेगावाटको अपर बलेफी र सिन्धु ज्वाला हाइड्रो पावरले रु छ अर्ब ६० करोडमा ४३ मेगावाटको अपर मेसम खोला जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ।

प्रकाशित: २० माघ २०७४ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App