coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपाले संसदीय दलको नेता चयन गर्न सकेन, फोरमको बैठक जारी

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा)को केन्द्रीय पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ।

प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गर्न शनिबार जनकपुरस्थित होटल सीताशरणमा बसेको बैठकमा यो विषयले प्रवेश नै पाएन।

बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा लगायतको सहभागिता थियो। 

प्रदेशसभाको प्रथम बैठक बस्नु अगावै संसदीय दलको नेता चयन गरिसक्ने उद्देश्यका साथ बसेको बैंठक उक्त विषयमा प्रवेश नगर्दै टुंगिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए। उनका अनुसार बैठकले प्रदेशसभा अन्तर्गत गठन हुन लागेको केही समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदको नाम भने टुंगो लगाएको छ। संसदीय दलको नेता चयन गर्ने विषयमा आज साँझै अर्काे बैठक बस्ने उनको भनाई छ।

बैठकले आजै प्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभाको प्रथम बैठकको पूर्व तयारी बैठकमा प्रतिनिधित्व गर्न प्रदेश सांसदहरु मनिष सुमन, सुरिता साह र परमेश्वर साहलाई पठाउने निर्णय गरिएको छ। आइतबार बस्न लागेको प्रदेशसभाको प्रथम बैठकमा पार्टील वक्ताको जिम्मेवारी जितेन्द्र सोनललाई दिएको छ। 

प्रदेशसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिमा मनिष सुमन र सुरिता साह तथा नियमावली कार्यविधि व्यवस्था समितिमा रामनरेश राय, रमेश पटेल र डिम्पल झालाई प्रतिनिधित्व गर्ने जिम्मेवारी बैठकले तोकेको प्रदेशसभा सदस्य परमेश्वर शाहले जनाए। यस्तै, पार्टीको तर्फबाट सभामुखका लागि नवलकिशोर शाहको नाम सिफारिस गरिएको उनले जानकारी दिए।

फोरम बैठक जारी 

यसैबीच, प्रदेश नम्बर दुईको लागि संसदीय दलको नेता चयन गर्न संघीय समाजवादी फोरमको बैठक बसिरहेको छ। जनकपुर, पिराडी चोकस्थित प्रदेश पार्टी कार्यालयमा जारी बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव लगायत वरिष्ठ नेताहरू प्रदेशसभा सदस्यको उपस्थिति रहेको प्रदेश पार्टी सचिव शेषनारायण यादवले जनाए। प्रदेशसभामा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने फोरमबाट संसदीय दलको नेतामा तोकिने प्रदेशसभा सदस्य नै मुख्यमन्त्री हुने सम्भावना रहेको हुँदा उक्त बैठक अर्थपूर्ण मानिएको छ। 

प्रकाशित: २० माघ २०७४ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App