८ वैशाख २०८१ शनिबार
कला

मध्यरातमा चोरलाई लखेटियो: अशेष मल्ल

–प्रजु पन्त

नेपाली नाट्य क्षेत्रमा चर्चितमध्येका एक कलाकार हुन् अशेष मल्ल । नेपाली नाटकको द्रुत गतिमा विकास हुनुको श्रेय मल्ललाई नै जान्छ । नाट्य क्षेत्रका अहिलेका चर्चित कलाकारको त गुरु नै मानिन्छन् उनी । मल्ललाई नेपालमा सडकनाटकको जन्मदाताको रूपमै लिइन्छ । पञ्चायतकालीन समयमा नाटकको माध्यमबाट जनचेतना छर्ने गरेका उनी लोकतन्त्र आउनुमा एउटा इँटा भए पनि थप्न पाएकोमा गर्व गर्छन् । सानैदेखि आफूमा साहित्यप्रति लगाव रहेको बताउँछन् ।

जब सिडिओले बोलाए

अशेष मल्ल त्यस्तै ७/८ कक्षामा पढ्थेँ । उनीलगायतका केही साथीले धनकुटामा एउटा बाल सुधार संघ खोले । त्यस संघमार्फत उनीहरूले कविता, जोक्स, चुट्किला, कथा आदि हस्तलिखित पत्रिकामा लेख्थे र भित्तामा टाँस्थे । हामी सबै समूहमै लेखिरहेका थियौँ, यत्तिकैमा मल्लले भने, ‘खुला चौर थियो ।’ एक्कासि प्रहरी आयो र मलाई नै तानेर प्रहरीले भन्यो– भाइ तपार्इंलाई सिडिओ सा’पले बोलाउनुभएको छ एक छिन जानुप¥यो । मेरो त होसहवासै उड्यो किनभने त्यतिबेला सिडिओले यसै बोलाउँदैनथे । किने बोलाए भनेर आफू त्यतिबेला खुब आत्तिएको उनले बताए । उनी प्रहरीसँगसँगै सिडिओ भएको ठाउँमा पुगे । अनि मल्ललाई सिडिओले शिरदेखि पाउसम्म हेरेर भनेछन्– बाबु तिमी त साह्रै साना रहेछौ । दर्ता नगरी त्यस्तो संस्था खोल्न पाइन्न । कारबाही गरौँ भने मिल्दैन, एक दुई दिनमै प्रधानमन्त्री आउनुहुन्छ उहाँलाई नै भेट्नु । त्यसपछि त म झन् अलमलमा परेँ, कारबाहीको कुरा अनि फेरि प्रधानमन्त्री भेट्ने कुरा म दोधारमा परेँ किन कारबाही गर्ने अनि प्रधानमन्त्रीलाई किन भेट्ने होला भनेर त्यो बेला खुब डर लागेको मल्लले बताए ।

प्रधानमन्त्री नआइञ्जेल उनको मन स्थिर नै भएन । के भन्ने हुन्, मैले के गरेको छु र खुबै डर लाग्यो, त्यतिबेलाको मानसिक पीडाको बयान गर्न नसक्ने मल्लले बताए । त्यतिबेलाको प्रधानमन्त्री पदमा कीर्तिनिधि विष्ट थिए । सिडिओले मल्ललाई प्रधानमन्त्रीसँग भेट गराइदिए । भेटमा प्रधानमन्त्रीले मल्ललाई भनेछन्– यस्तो संस्था खोल्न पाइँदैन, बालमन्दिर सरकारको संस्था हो । त्यहाँ तिमीजस्तै बालबालिका हुन्छन्, त्यतै जानू, अरू कुरा पछि मिलाउँला । यति कुरा सुनेपछि मल्ल केही नबोली घर फर्किए न त उनी सरकारी बाल संस्थामै गए, न त आफ्नो संस्था नै चलाउन पाए । ‘बाल मन्दिरमा जान मनै छैन,’ उनले भने । त्यति बेलादेखि नै उनले मुलुकमा प्रजातन्त्र ल्याउनैपर्ने रहेछ भन्ने कुरा मन आएको बताए ।

गोकुलेश्वर हाईस्कुलबाट एसएलसी पास गरेका मल्लले आइए भने धनकुटा कलेजबाट गरेका हुन् । त्यो कलेज पढ्दाको क्षण अत्यन्तै रमाइलो र अविस्मरणीय भएको उनले बताए ।

अविस्मरणीय शैक्षिक भ्रमण

कलेजले शैक्षिक भ्रमणमा लैजाने भएछ, भ्रमण धेरै देशको थियो । भ्रमण हुने देश काठमाडौं, पोखरा, चितवन, वीरगञ्ज, जनकपुर, इलाम र दार्जलिङसम्मको डेढ महिनाको त्यस भ्रमणमा सहभागी हुन पाएकोमा उनले खुसी व्यक्त गरे ।

त्यतिबेलाको समयमा बस थिएन, जे भेटिन्छ त्यसमै चढ्नुपथ्र्यो, त्यो भ्रमणमा ट्रकमै घुमेको मल्लले बताए । त्यतिबेलाका ३ वटा घटना भने आफूले कहिल्यै नबिर्सने उनले बताए । चितवनको एक स्कुलले उनीहरूलाई स्वागत गर्ने भएछ । त्यसमा मल्लले पनि मन्तव्य राख्नुपर्ने भएछ । उनलाई मन्तव्यमा के के बोल्ने भनेर भ्रमण गाईड मल्ललाई नै पढाउने दुर्गाप्रसाद पोख्रेलले सिकाएछन् । ‘उहाँ नेपाली कांगे्रसका नेता बिपीको अनुयायी हुनुहुन्थ्यो,’ मल्लले भने । त्यतिबेला नयाँ शैक्षिक नीति लागू भएको थियो । त्यसको विरोध र प्रजातन्त्रको पक्षमा मैले बोलेँ त्यसपछि त बबालै भयो, यसै नै दुर्गा सरको पछाडि सिआईडी हुन्थँे । प्रहरीले कार्यक्रम त बिथोल्यो नै आयोजक र हामीलाई निकै केरकार गरेर धेरै समयपछि छाडिदियो ।

त्यसपछि मल्लको टोली पोखरा पुग्यो । पोखरामा भएको घटना सम्झिँदा त आफ्नो आङै सिरिङ हुने उनले बताए । हामी ट्रकमा थियौँ, ड्राइभरले खाना खान रोक्यो । विद्यार्थी सबैले खाए पनि ड्राइभरले चाहिँ खाएको थिएन म सानैदेखि अलि चकचके थिएँ । ड्राइभर बस्ने सिटमा गएर बसेँ, स्टेरिङ खुलै रहेछ मैले चलाएँ गाडी त चल्यो । दुर्गा सर होटल अगाडि नै हुनुहुन्थ्यो उहाँले त अशेषले गाडी चलाउन जानेको रहेछ भन्ने ठान्नुभएछ । तर मलाई यता के गराँै, कसो गरौँ भयो, रोक्न जानेको छैन, गाडी त बांगो चल्न थाल्यो, म डरले निलोकालो भएँ, ड्राइभरले देखेछ । ड्राइभर एक्कासि झ्यालबाट आएर मलाई च्याप्प समातेर १ मिटर पर हुत्तायो र गाडीलाई दुर्घटना हुनबाट रोक्यो । त्यसपछि त जहिले पनि गाडीमा बस्दा त्यो घटना सम्झिन्छु ।

पोखरापछि भ्रमणको टोली हेटौँडा पुग्यो । शैक्षिक भ्रमणको किस्सा त्यत्तिकैेमा सकिएन । उनीहरू हेटौँडाको एक होटलमा बसे । केटीहरू बाटो छेउको झ्याल भएको कोठामा सुते भने हामी केटाहरू चाहिँ अर्काे कोठामा । केटीहरूको कोठामा झ्यालबाट राति चोर पसेछ । मल्लले भने, ‘निर्मला भन्ने साथी निदाएकी रैनछिन्, उनी चोरचोर भनी कराउन खोज्दा चोरले एक हातले चुप लाग्न इशारा दिँदै अर्काे हातले चक्कु देखाएछ । त्यसपछि त चोरले हामी सबै साथीको झोला लिएर भाग्यो ।’ त्यसपछि मात्र हामीले थाहा पायौँ, अनि मल्लसहित अरू साथी झोला खोज्न निस्किए । त्यति राति झोला त कहाँ पाउनु र पुलिसलाई रिपोर्ट भने लेखाइएको मल्लले बताए । ‘भोलिपल्ट पुलिसले झोला त ल्यायो तर सबैको झोला रित्तो’ मल्लले भने ।’ त्यसपछि अरू देशको भ्रमण हुने कुरा भए अन्ततः हामी चन्दा उठाएर घर फर्कियौँ ।

लज्जित तुल्याएको त्यो खेल

कलेज पढ्दा मलाई फुटबल निकै मन पथ्र्याे । धनकुटा कलेजका विद्यार्थीमा अलि घमण्ड पनि थियो । मल्लले भने, ‘हाम्रो प्रतिस्पर्धा अर्का कलेजका साथीहरूसँग भयो तर यति नमज्जाले हारियो कि १६ गोल खाइयो त्यसपछि भने मैले खेलमा आफ्नो औकातबारे थाहा पाइहालेँ त्यसपछि खास्सै खेलिएन ।’

रंगमञ्चको यात्रा

विराटनगरको महेन्द्रमोरङ क्याम्पसमा बीए पढ्नका लागि उनी भर्ना भए । पढ्ने भन्ने त बहाना मात्रै थियो, उद्देश्य अर्कै थियो । मलाई अभिनय गर्न असाध्यै मन पर्ने साहित्यमा औधी रुचि थियो । त्यसैले युवासाथीहरू मिलेर साहित्यिक परिवार भन्ने संस्था खोल्याँै । त्यसमार्फत विराटनगर चोकमा बसेर कविता सुनाउँथ्यौँ ।

त्यतिबेलाको सिर्जनशील अभियानका युवा कृष्णभूषण बल्लभ, प्रमोद प्रधान, महेश प्रसार्इं, इन्दिरा प्रसार्इं, प्रमिला उप्रेतीलगायतका थुप्रै साहित्यकार जन्माएको मल्लले बताए ।

मल्ललाई अभिनय निक्कै मन पर्ने जसको कारण धनकुटामा ‘धनकुटा नाट्यशास्त्र’ भन्ने संस्था खोले । विसं २०३२ मा मल्लले लेखेको ‘तुवाँलोले ढाकेको’ नाटक मञ्चन गरे । उपेन्द्र दुःखीले निर्देशन गरेको नाटकमा ५० जनाले अभिनय गरेका थिए । जसमा प्रमुख भूमिका अशेष आफंैले गरेका थिए । ‘मेरो अभिनय देखेर सबैले मलाई बधाई दिए,’ मल्लले भने । धनकुटामा १०÷१२ दिन चलेको नाटकले हाम्रो टिमलाई विराटनगर हुँदै काठमाडांैसम्म ल्याइपु¥यायो । प्रज्ञा भवनमा त त्यो नाटक १ महिनासम्म चल्यो ।

त्यसपछि मल्लले आफूलाई नाटक क्षेत्रमै जम्ने निधो गरे । १ महिनासम्म चलेको नाटकबाट जम्मा भएको पैसा मल्लको भागमा १५ सय रुपैयाँ प¥यो । त्यसपछि त मलाई आँट आइहाल्यो उनले भने, ‘म घरको विनासल्लाह त्रिवि कीर्तिपुरमा नेपाली साहित्य स्नातकोत्तरमा भर्ना भई पढ्न थालेँ ।’

जब उनले मञ्चमै उक्लेर गाली गरिन्

मल्लले पढाइको सँगसँगै कलेजकलेजमा गएर अभिनय सिकाउन थालिसकेका थिए । अभिनय कसरी गर्ने भनेर लेख्न पनि थालिसकेका थिए । ‘आफूमा कला भरिँदै गइरहेको महसुस भइरहेको थियो,’ मल्लले भने । यसै सिलसिलामा राष्ट्रिय सभा गृहमा नाटक देखाएँ । त्यो नाटक पनि सबैले रुचाए । दर्शकले हेरेपछि सबैले मञ्चमा उक्लेर बधाइ दिए । तर एकजना केटी आएर औँला ठडाउँदै भनिन्, ‘यस्तो नाटक देखाउन तपाईंलाई कसले अनुमति दियो महिलालाई हेप्ने ?’ ‘म त अक्क न बक्कमा परेँ । मैले भन्न त उनलाई म समाजको ऐना हेर्छु जस्तो छ त्यस्तै देखाउँछु तर त्यस घटनाले म रातभरि निदाउन सकिन । केटी त खतरा रहिछे,’ मल्लले भने ।

मल्ललाई ४÷५ जना केटीले प्रेम प्रस्ताव नगरेका होइनन् तर उनलाई डर थियो । बिहे ग¥यो भने नाट्य क्षेत्रमा बार लाग्ला भन्ने ठानेर प्रेम प्रस्ताव स्विकारिन तर जब मलाई त्यसरी मञ्चमै उक्लेर मेरो कमीकमजोरीमाथि औँला उठाउने साहस सावित्री कक्षपतिले गरिन् अनि मलाई लाग्यो मैले खोजेको केटी त यस्तै हो । यससँग पे्रमप्रस्ताव गरियो भने त भोलि पनि मैले लेखेको हरेक नाटकमा यसैगरी सुझाव पाउन सक्छु होला भनी  मल्लले सावित्रीलाई प्रेम प्रस्ताव राख्ने धेरै कोसिस गरे तर सकेनन् । ‘नाटककै तालिमका लागि उनी बैंकक गए, कक्षपतिका लागि भनेर सुनको सिक्री पनि ल्याए तर दिने आँट गरेनन्,’ मल्लले भने । ३ वर्षपछि भने उनले कक्षापतिसामु प्रेम प्रस्ताव राखे, त्यसपछि उनको एकहोरोपन प्रेम विवाहमा परिणत भयो । त्यो सुनको सिक्री मल्लले बिहेमै दिएको बताए ।

क्याम्पस प्रमुख नआएको भए

उनी क्यान्टिनमा साथीभाइसँगको हाँसी मजाकभन्दा पनि नाटक लेख्ने र प्रदर्शन गर्ने गर्थे । त्यसै क्रममा त्रिवि कीर्तिपुरमा मल्लले नाटक मञ्चन गर्दै थिए । नाटक बीच भागमा पुगेको थियो होला मल्लले भने, ‘एक्कासि पञ्चायतका हिमायती मण्डले आए र भक्कुराम कुटे, यति कुटे कि म त रगताम्य भएको थिएँ । सबैजना तितरबितर भए । म भने भाग्न सकिन बुटैबुटल,े लठ्ठीलठ्ठीले पिटाइ त कति हो कति । धन्न त्यतिबेला क्याम्पस प्रमुख आएर बाँचे नत्र मर्ने थिएँ ।

जति पञ्चायती शासनले हामीलाई धम्काउँथ्यो, नगर भन्थ्यो, आततयी व्यवहार गथ्र्याे, हामीमा त्यति प्रजातन्त्रप्रति आस्था प्रगाढ हुँदै जान्थ्यो । मल्लले भने, ‘त्यसपछि त झन् मैले मुर्दावादमा उठेका हात भन्ने शीर्षकको नाटक लेखेँ ।’ त्यो नाटक सुरु हुने बेलामा त मञ्च नै भत्काइएको उनले बताए । उनलाई लाग्न थाल्यो नाटकमा राजनीतिक चेतना हुनुपर्छ त्यो भयो भने समाज परिवर्तनमा केही न केही सघाउ पुग्ने रहेछ त्यसमा चेतनाको कमी हुन दिनुहुँदैन यसो भयो भने त यी मण्डलेले लखेट्ने नै थिएनन् । ‘सफलताको बीज स्वतन्त्रताबाट जन्मिन्छ र हामीले स्वतन्त्रताको उपभोग पनि गर्न जान्नुपर्छ,’ उनले भने ।

पहिलेको शिक्षा र अहिलेको शिक्षा

प्रजातन्त्र आए पनि शिक्षण शैलीमा भने खासै परिवर्तन नआएको मल्लले बताए । उनले भने, ‘म, मेरी श्रीमती र छोरी भारतको मुम्बईमा रहेको फिल्म मेकिङ पढाइ हुने कलेजमा गएका थियौँ । फर्किने बेलामा त्यस कलेजका प्रमुखलाई भेटेर कुनकुन किताब किन्नुपर्छ भनिदिनु भए म किन्ने थिएँ । क्याम्पस प्रमुखले अचम्मित हुँदै मलाई हेर्दै भने सर तपाईं कुन जमानामा हुनुहुन्छ ? हामी त यहाँ बुक होइन अनुभव सिकाउँछौँ । विद्यार्थीले बुकबाट होइन अनुभवबाट सिक्छ । ‘म पनि त्रिविको सहप्राध्यापक अनि मैले हाम्रो शिक्षण तरिका सम्झँे, हामी त अझैसम्म पनि गेस पेपर पढाइरहेका रहेछौँ,’ मल्लले भने । हामी विद्यार्थीलाई होइन, परीक्षार्थीलाई पढाएका रहेछौँ । किनभने विद्यार्थीले त सिक्छ, त्यसलाई जीवन्तता दिन खोज्छ तर अहिले त प्रमाण पत्र भए पुग्यो । पढाउनेलाई तलब पाए पुग्यो ।

आफ्नो पालामा प्राध्यापकको र विद्यार्थीको गहिरो सम्बन्ध रहने गरेको उनले बताए । तर अहिले त विद्यार्थीको संख्या धेरै छ त्यहीअनुसार प्राध्यापक छैनन् जसले गर्दा सिक्ने र सिकाउनेबीचको सामीप्यता नभएको मल्लले बताए ।

अन्त्यमा मल्लले भने, ‘भागवतको एकलाइन ‘कर्म गर फलको आश नगर’ आफू कहिल्यै नबिर्सिने बताए । तिमीले कर्म गरेपछि फलको आश गरे पनि नगरे पनि फल त अवश्य आउँछ । कर्म तिम्रो हातमा छ तर फल तिम्रो हातमा छैन । फलतः अर्कैको हातमा छ ।

प्रकाशित: २० माघ २०७४ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App