coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ब्रेक फेल गाडी कुदाउन प्रहरीको जबर्जस्ती

काठमाडौं – ब्रेक फेल भएको गाडीमा सवार स्कुले नानीहरुलाई सुरक्षित जोगाउने चालकलाई के गरिन्छ ? निश्चय नै सम्मान । शुक्रबार काठमाडौंको  गोठाटारस्थित हरहर महादेवमा यस्तै घटना भयो । चालक छत्र कार्कीले आफ्नो बुद्धिमत्ताले स्कुले नानीहरुको जीवन जोगाएर स्थानीय र अभिभावकबाट स्याबासी पाए।

तर उनको खुसी लामो समय टिक्न पाएन । दुर्घटनाको केही समयपछि आएको प्रहरीले सोही गाडी हाँकेर चौकीमा हिँड्न भनेपछि उनी अत्तिए । नानीहरुलाई जोगाएर अभिभावकको जिम्मा लगाउँदै गरेका कार्की फेरि ब्रेक फेल भएको गाडी हाँक्न बाध्य भए।

प्रहरीले सुरुमा कार्कीलाई बोलाएर ठोक्किएको ठाउँबाट गाडी निकाल्न भन्यो । चालकले ब्रेक छैन कसरी निकाल्ने भनेर सोधे । प्रहरीले ‘हामी छौं, निकाल’ भन्यो । अँध्यारो मुख लगाएर गाडीमा उक्लेका उनले बल्लबल्ल ब्याक गरे । प्रहरीले अगाडि लैजान भन्यो । चालक डराए । ‘ब्रेक छैन,  कसरी अगाडि जाने’, उनले अघिकै कुरा दोहोर्याए । प्रहरीले फेरि भन्यो, ‘हामी छौं।’

भर्खरै मात्र नानीहरुको जीवन जोगाएर सन्तोषको सास फेरेका कार्की चल्तीको मूल सडकमा ब्रेक फेल भएको गाडी पुनः कुदाउन बाध्य भए ।  प्रहरीको एउटा भ्यान अगाडि लाग्यो । दुई प्रहरी पछिपछि कुदे । जोखिमपूर्ण तरिकाबाट गाडी अगाडि बढ्यो । दृश्य नियाल्दा लाग्थ्यो– सडकमा मात्तिएको जंगली हात्ती कुदिरहेछ।

केही पर पुगेपछि घुम्ती आयो । घुम्तीमा बाटो ओरालो थियो । कार्कीले ‘त्यता त लान मिल्दैन’ भने । प्रहरीले फेरि ‘हामी छौं’ भने ।  कार्की डराए ।   प्रहरीले अगाडि बढ्न आदेश दियो । कार्की अँध्यारो अनुहार लगाउँदै ओरालोमा बढ्दै थिए । गाडी गएर मासुपसलमा ठोक्कियो । कार्कीलाई सामान्य चोट लाग्यो।

प्रहरीले फेरि गाडी अगाडि बढाउन भन्यो । कार्की झनै डराए तर रोकिन पाएनन्, डराउँदै अगाडि बढे । दुई प्रहरी हातमा ढुङ्गा लिएर पछाडि कुदिरहे । ‘अलिकति मात्र फेल भएको ठानेका थियौं,’ गाडीको अगाडि कुद्दै गरेका ट्राफिक प्रहरी हबलदार रामसिंह भण्डारीले भने, ‘पूरै फेल रहेछ ।’ सडकमा समस्या भए पनि सानो घटनाबाहेक अरु केही हुन नपाएको उनले बताए।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले दुर्घटनामा परेका चालकलाई आराम गर्न दिएर अन्य चालक प्रयोग गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । ‘सडकमा आवागमन कम भएको समयमा सुरक्षित ढंगले गाडी ल्याउनुपर्ने थियो,’ उनले भने।

ब्रेक फेल भएको गाडी गुडाउन प्रहरीले दबाब दिएको दृश्य नियालिरहेका सर्वसाधारणले समेत यो कार्य नराम्रो भएको प्रतिक्रिया दिए । ‘कति डरलाग्दोसँग गाडी कुदाएको,’ हरहर महादेवका रमेश चापागाईंले भने, ‘सर्वसाधारण निकै आत्तिएका थिए । यस्तोमा अर्को दुर्घटना भए जिम्मेबार को ?’

उक्त बसले हाइली क्रिएटिभ विद्यालयका विद्यार्थी बोकेको थियो । विद्यालय प्रशासनले चालकले कुशलताका साथ दुर्घटना हुनबाट जोगाएको बताए । ब्रेक फेल भएको थाहा पाएपछि चालक कार्कीले अगाडि रहेका नानीहरुलाई पछाडि पठाएर गाडीको अगाडिको भागको छेउतर्फबाट ठोक्काएको विद्यालयले  जनायो ।  ३० विद्यार्थी चढेको उक्त गाडीमा तीनजनालाई सामान्य चोट लाग्नुबाहेक सबै कुशल छन्।  

 

प्रकाशित: २० माघ २०७४ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App