८ वैशाख २०८१ शनिबार
समाज

नियमनकारी मौन

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकाको गागन नदीको पूर्वी डिलमा सञ्चालित सन्नी क्रसर उद्योग । तस्बिर : मिथिलेश / नागरिक

गोलबजार (सिरहा) – साबिक अयोध्यानगर–८ हाल गोलबजार नगरपालिकास्थित गागनखोलाको पूर्वी किनारमा सन्नी क्रसर उद्योग छ । केही समय बन्द हुने र त्यसपछि सञ्चालनमा आउने यो उद्योगको नवीकरण फेल छ । नवीकरण नभएका उद्योग सञ्चालन गैरकानुनी ठहरिन्छ।

सन्नी क्रसर उद्योगको नवीकरण आर्थिक वर्ष २०७१÷०७२ सम्मको मात्र रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । बक्यौता विद्युत् महसुलका कारण लाइन काटिएर बन्द रहेको यो क्रसर उद्योग पुनः सञ्चालनमा आएको छ।

महोत्तरीको बर्दिवास नगरपालिकामा पर्ने रातु नदीको पूर्वी र पश्चिमी किनारमा बि एण्ड बी, बंगलामुखी र सिद्धार्थ क्रसर उद्योग सञ्चालित छन् । यी तीनवटै क्रसर उद्योग नियम मिचेर सञ्चालान हुँदै आएका छन् । घरेलु कार्यलय महोत्तरीले नियम पालना गरी मापदण्डभित्र आउन गरेको पटकपटकको ताकेता अटेर गरेपछि ०७३ मंसिर २४ गते प्रतिवेदनसहित तीनवटै क्रसर उद्योगमाथि कारबाहीका लागि घरेलु तथा साना उद्योग विभागमा पत्राचार गरे पनि कुनै कारबाही भएको छैन । घरेलु कार्यालय महोत्तरीका प्रमुख अर्जुन मण्डल भन्छन्,‘उद्योगी व्यवसायी ऐन २०४९ अनुसार कारबाही गर्नुपर्ने प्रतिवेदनसहित फाइल विभाग पठाएको एक वर्ष नाघिसक्यो, कारबाही अघि बढेन ।’ महोत्तरीमा ९ वटा क्रसर उद्योग सञ्चालनमा छन् । जसमध्ये अधिकांश मापदण्डविपरीत सञ्चालित छन्।

साबिक बस्तिपुर ९ हाल लहान नगरपालिकाको खुट्टी खोलाको पश्चिमी किनारमा हिमाल क्रसर उद्योग सञ्चालित छ । यो उद्योगले आर्थिक वर्ष ०७४÷०७५ सम्मको नवीकरण गराएको घरेलु कार्यालयको रेकर्डमा छ । नवीकरण भए पनि उद्योगले सञ्चालन मापदण्ड पूरा गरेको छैन । मापदण्ड पूरा नगरेका क्रसर उद्योग कसरी सञ्चालनमा छन् ? भन्ने प्रश्नमा घरेलु कार्यालयका प्रमुख राजेन्द्रलाल कर्णले भने, ‘सञ्चालन अनुमति हामीले दिने हो, बन्द गर्ने काम त प्रशासनको हो ।’ जिल्लामा सञ्चालित सबै क्रसर उद्योग गैरकानुनी रूपमा सञ्चालन भइरहेको आफूलाई मात्र नभएर प्रशासनसमेतलाई जानकारी भएको कर्णले बताए । उनले भने, ‘प्रशासनले चासो नलिँदा गैरकानुनी धन्दा चलिरहेको छ।’

लहानस्थित घरेलु तथा साना उद्योग कार्यालयमा गिट्टी उत्पादन गर्ने १० वटा क्रसर उद्योग दर्ता भएका छन् । जसमध्ये जगदम्बा क्रसर उद्योग सञ्चालनमै नआएको कार्यालयको तथ्यांकमा छ । बाँकी ९ वटा उद्योगमध्ये हिमालबाहेक ८ वटाको नवीकरण फेल छ । हिमालको नवीकरण पुरानै मापदण्डका आधारमा भएको छ । कर्णले भने, ‘नयाँ मापदण्डअनुसार यो क्रसर उद्योग पनि गैरकानुनी रूपमा सञ्चालित छ।’

०६९ सालमा जिल्ला अनुगमन समितिका संयोजक (प्रमुख जिल्ला अधिकारी) ले क्रसर उद्योगमा आपूर्ति हुने कच्चा पदार्थ (ढुंगा) को स्रोत पत्ता लगाउन समिति नै गठन गरेका थिए । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कर्णको संयोजकत्वमा गठित उतm समितिको प्रतिवेदनले क्रसरमा आपूर्ति हुने ढुंगाको स्रोत चुरे रहेको ठहर गरेको थियो । चुरे र चुरे संरक्षित क्षेत्र उत्खनन गरी झिकिएका ढुंगाबाट यस क्षेत्रमा क्रसर उद्योग सञ्चालन हुँदै आएको प्रतिवेदनमा उल्लेख थियो । त्यसपछि केही समय क्रसर उद्योग बन्द भए।

अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण श्रेष्ठका अनुसार क्रसर उद्योगीलाई उपस्थित हुन जिल्ला प्रहरी कार्यालयमार्फत पत्राचार गरिएको छ । उद्योगीहरू उपस्थित भएपछि कागजात हेरेर कारबाही अगाडि बढाइने श्रेष्ठले बताए।

प्रकाशित: २० माघ २०७४ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App