८ वैशाख २०८१ शनिबार
राजनीति

संयुक्त बैठकबाट जिम्मेवारीको टुंगो लाग्ने


काठमाडौं – भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँगको भेटपछि शुक्रबार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू जनकपुरतर्फ केन्द्रित भएका छन् ।शनिबार जनकपुरमा फोरम नेपाल र राजपाको छुट्टाछुट्टै बैठक बस्दैछ ।

यसैगरी शनिबार साँझ दुई पार्टीको संयुक्त बैठक पनि बस्ने कार्यक्रम तय भएको छ । दुवै पार्टीले शनिबार २ नम्बर प्रदेशमा प्रदेशसभा संसदीय दलका नेता चयन गर्ने भएका छन् । यसका लागि दुवै पार्टीभित्र इच्छुक नेताले लबिङ गर्न सुरू गरेका छन् ।

दुई नम्बरमा संघीय फोरमको प्रदेशको संसदीय दलका नेता मुख्यमन्त्री हुने निश्चित छ । संघीय फोरमका संसदीय दलका नेताका लागि लालबाबु राउत, विजय यादव र शैलेन्द्र साहबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । सकेसम्म सहमतिबाटसंसदीय दलका नेता चयन गर्ने र सहमति जुट्न सक्ने स्थिति नभएमा चुनावमा जाने सम्भावना रहेको फोरमका नेताहरूले जनाएका छन् ।  यो प्रदेशमा  फोरमले मुख्यमन्त्री र राजपाले सभामुख पाउने सहमति दुई पार्टीबीच भएको छ ।  राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले प्रदेशमा संघीय फोरमले मुख्यमन्त्री पाउने सहमति भएको बताए ।

उनले भने, ‘चुनावअघि नै राजपा र फोरममध्ये जसले बढी सिट ल्याउँछ, त्यसैकै मुख्यमन्त्री हुने सहमति भएको थियो । फोरमले बढी सिट पाएको छ । त्यसैले फोरमले मुख्यमन्त्री लिने निश्चित छ ।’ सभामुखका लागि राजपाका प्रदेश सांसद जितेन्द्र सोनार र मनीष सुमनले इच्छा देखाएका छन् । मुख्यमन्त्री पुरूषले पाउने भए उपमुख्यमन्त्री महिलाले पाउनुपर्ने दाबी राजपाका नेतृहरूले गरेका छन् । उपमुख्यमन्त्रीमा सुरिता साह र रानी शर्माले इच्छा देखाएका छन् । उपमुख्यमन्त्री राजपाले पाउने दाबी राजपाका नेताहरूको छ । रानी र सुरिता दुवै राजपाका प्रदेश सांसद हुन् ।

 यता राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले २ नम्बर प्रदेशमा संसदीय दलका नेताका लागि उम्मेदवारी दिने बताएका छन् । ‘प्रदेशमा संसदीय दलका नेताका लागि मेरो उम्मेदवारी पर्नेछ । त्यसका लागि म सबैभन्दा योग्य छु,’ उनले भने । प्रदेशमा सभामुख राजपाले पाए उपसभामुख संघीय फोरमले पाउनुपर्ने फोरमका नेताहरूको भनाइ छ ।

यसैगरी  उनीहरूले आन्तरिक मामिला मन्त्रालय पाउनुपर्ने दाबीसमेत गरेका छन् । प्रदेशमा रहने सात मन्त्रालयमध्ये फोरमले ४ र राजपाले ३ मन्त्रालय पाउने अनौपचारिक सहमति भएको संघीय फोरमका एक नेताले बताए । फोरमका  केन्द्रीय सदस्य शिवजी यादवले मुख्यमन्त्री हुने पार्टीले नै आन्तरिक मामिला मन्त्रालय पाउने प्रचलन रहेको बताए । उनले भने, ‘मुख्यमन्त्री पाउने भए आन्तरिक मामिला मन्त्रालय पनि हामीले नै पाउँछौं, यसमा कुनै शंका छैन ।’

राजपा प्रवक्ता सन्तोष मेहताले जनकपुरमा हुने दुई पार्टीका शीर्ष नेताको बैठकबाट प्रदेशमा जिम्मेवारी बाँडफाँटबारे अन्तिम टुंगो लाग्ने बताए । द्विपक्षीय आन्तरिक बैठकपछि शनिबार साँझ दुई पार्टीको संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको पनि उनले जानकारी दिए । संयुक्त बैठकमा राजपाका अध्यक्ष मण्डलका सबै सदस्य तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।

बैठकका लागि यादव शनिबार बिहान जनकपुर जाने भएका छन् । राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो र राजकिशोर यादव शुक्रबार दिउँसो जनकपुर पुगेका छन् । शनिबार बिहानसम्म अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू शरतसिंह भण्डारी, महेन्द्र यादव र अनिलकुमार झा पनि जनकपुर पुग्ने कार्यक्रम तय भएको वरिष्ठ उपाध्यक्ष साहले बताए । आइतबार  प्रदेशसभाको पहिलो बैठक बोलाइएको छ ।

प्रकाशित: २० माघ २०७४ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App