८ वैशाख २०८१ शनिबार
कला

फोबिया अर्थात् डराउने रोग

फोबिया शब्दको उत्पत्ति ग्रिक भाषाको फोबोसबाट भएको हो, जसको अर्थ प्रबल भय हो । फोबोस ग्रिक देवताको नाम हो, जो कि शत्रुहरूबाट निकै डराउँथे । शत्रुहरूले आक्रमण गर्ने आसयमा उनी सधैँ भयभीत भइरहन्थे । त्यसैले विनाकारण वा कुनै स्थिति–परिस्थितिहरूको सामना गर्नुपर्दा आवश्यकभन्दा बढी भयभीत हुने रोगलाई फोबिया भनिएको हो।

विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन् । तर शिक्षाको कमीले गर्दा निकै कम मानिसहरूले मात्र फोबियाको औषधउपचार गर्ने गर्छन् । फोबिया नामक यो रोग अनेकौ“ रूपमा प्रकट हुन सक्छ । अर्थात् फोबिया अनेक प्रकारका हुन्छन्।

फोबियाको लक्षण

फोबियापीडित व्यक्तिमा अनेक लक्षण देखापर्छन् । केही लक्षण प्रायः सम्पूर्ण फोबियाका रोगीमा देखापर्छन् भने केही व्यक्तिमा विशिष्ट लक्षण मात्र देखापर्न सक्छन् ।
फोबियाका मुख्य लक्षण निम्न छन् : कुनै वस्तु वा परिस्थितिप्रति अनियन्त्रित, अनिच्छुक, असंगत तथा अविवेकपूर्ण सतत डर हुनु । यस्ता वस्तु वा परिस्थितिको सामना गर्नुपर्दा तीव्र चिन्ता उत्पन्न हुनु । डर निकै बढी र अनुचित महसुस हुनु । भय लाग्ने वस्तु वा परिस्थितिलाई छल्नु तथा त्याग गर्नु । तीव्र भय र डिस्टे«सले तनाव पैदा गर्नु, मानिसको दैनिक जीवनमा कठिनाइ पार्नु ।

फोबियाको प्रकार

डायग्नोस्टिक एन्ड स्टेटाटिस्टिकल म्यानुअलले फोबियालाई तीन भागमा वर्गीकरण गरेको छ । ती हुन् : सामाजिक भय (सोसल फोबिया), खुला ठाउँ वा स्थानको भय (एगोराफोबिया) तथा विशिष्ट भय (स्पिसिफिक फोबिया)

सामाजिक फोबिया
सामाजिक सभा, कार्यक्रम, मानिसहरूको समूह वा यस्ता परिस्थितिहरू जहाँ मानिसहरूले चियाउने, हेर्ने वा मूल्यांकन गर्ने सम्भावना हुन्छ, त्यस्तो ठाउँमा जान वा सहभागी हुन डराउनु नै सामाजिक फोबिया हो । यस्तो फोबियाबाट ग्रस्त मानिसलाई सधैँ चिन्ता हुन्छ कि अरु मानिसले उसलाई कमजोर, मूर्ख तथा घटिया आदि नठानोस् ।

त्यसैले सामाजिक फोबियाबाट पीडित व्यक्तिले सामाजिक कार्यक्रममा जान, भोजभतेरमा खान–पिउन, अगाडि सरेर बोल्न तथा भाषण गर्न डराउ“छन् । सकेसम्म यस्तो अवस्थाबाट तर्किन्छन् । डरजन्य परिस्थिति सामाना गर्नुप¥यो भने निकै चिन्तित हुन्छन् र उनीहरूलाई घबराहटको दौरा (पेनिक अट्याक) पनि आउन सक्छ । एक आमसामाजिक फोबिया हो, भाषणको भय । सामाजिक फोबियाको सुरुवात प्रायः किशोरावस्थामा नै विकसित हुने गर्छ ।

एगोराफोबिया
एगोराफोयिबा शब्द ग्रिक भाषाको फोबिया (डर) र एगोरा (बजार) बाट बनेको हो । यसको शाब्दिक अर्थ बजारको डर हो । यस फोबियाबाट ग्रस्त व्यक्ति खुला ठाउँहरू वा भीडभाड हुने ठाउ“मा जान डराउँछन् र प्रायः घर छाडेर बाहिर जाँदैनन् । घरमा नै बसिरहन्छन् । पटक–पटक पेनिक अट्याक (अचानक घबराहट) बेहोरेका मानिसमा यस किसिमको फोबिया विकसित हुने गर्छ ।

सामान्यतः एगोराफोबियाबाट ग्रस्त व्यक्ति सार्वजनिक ठाउँबाट डराउँदैनन्, तर यस्तो ठाउँहरूमा पेनिक अट्याक आयो भने त्यहाँबाट भाग्न वा गुहार पाउन गाह्रो हुने काल्पनिक भयले उनीहरू डराउ“छन् । तर सबै घबराहटको दौरा –पेनिक डिसअर्डर)का रोगीहरूमा एगोराफोबिया विकसित भएको हुँदैन ।

विशिष्ट फोबिया
डिएसएम–फोर–टिआरका अनुसार यो तेस्रो प्रकारको फोबिया हो । विशिष्ट फोबियालाई पहिला सामान्य फोबिया भन्ने गरिन्थ्यो । सामाजिक फोबिया र एगोराफोबियाबाहेक अन्य सबै फोबिया यस वर्गमा पर्छन् । जस्तै : साइनोफोबिया (कुकुरको डर), क्लस्ट्रोफोबिया (बन्द स्थानहरूको डर), एक्रोफोबिया (अग्लो ठाउँ वा स्थानको डर), अकोलोफोबिया (भीडको डर), जुफोयिबा (जनावरको डर), हेमाटोफोबिया (रगतको डर), टोक्सोफोबिया (विषको डर) आदि ।

विशिष्ट फोबियालाई डिएसएमले निम्न लिखित चार वर्गमा विभाजित गरेको छ । जनावरसम्बन्धी फोबिया (माकुरा, सर्प, कुकुर आदिको डर), प्राकृतिक वातावरणसम्बन्धी फोबिया (उचाइ, पानी, आ“धीतुफान आदिको डर ), रगत–सुई–चोटपटकसम्बन्धी फोबिया (सुई, रगत, चोटपटक आदिको डर), तथा स्थानसम्बन्धी फोबिया (बन्द ठाउँ, जहाजको यात्रा आदिको भय )
विशिष्ट फोयिबा सामाजिक फोबिया तथा एगोराफोबिया जस्तो गम्भीर हुँदैन । यस्तो फोबियाले मानिसको दैनिक जीवन र प्रगतिमा खासै कठिनाइ पैदा गर्दैन । जस्तो कि साइनोफोबिया (कुकुरको डर) बाट ग्रस्त व्यक्तिलाई कुकुर देखे तर्किए भयो ।

तर, सामाजिक फोबिया तथा एगोराफोबियाबाट ग्रस्त अध्यापक तथा कलाकारहरूको जीवन ज्यादै कठिनाइपूर्ण हुन्छ । उनीहरू फोबियाका कारण सधैँ तनाव, अन्तद्र्वन्द र कुण्ठाको जीवन बाँच्न बाध्य हुन्छन् । यस्तो स्थिति धेरै समयसम्म रहिरहेमा अनेकौँ मानसिक विकार पनि देखापर्छन् ।
फोबियाका कारण
फोबिया अनेक कारणले गर्दा देखापर्छ । कतिपय व्यक्तिमा फोबिया आमाबाको जिन्सबाट आउने गर्छ र यसले अनुकूल वातावरण पाउनासाथ छोराछोरीमा देखापर्छ । यस्ता व्यक्तिको नातागोतामा समेत फोबिया हुने सम्भावना अन्य आममानिसको तुलनामा बढी हुन्छ । तर, फोबियाको प्रमुख कारण मानसिक हो । व्यक्तिको अवचेतन मनमा रहेको चिन्ताका कारण नै अधिकांश फोयिबा देखापर्छ । कतिपय मनोवैज्ञानिकका अनुसार भयभीत हुन वातावरणले सिकाउँछ।

जस्तै : कुनै बालकलाई कुकुर आयो अब तँलाई टोक्छ भनी तर्साउने हो भने त्यो बालक साइनोफोबियाको सिकार बन्ने सम्भावना हुन्छ । यसैगरी कुनै बालिकालाई सजायस्वरूप बन्द कोठामा लामो समयसम्म राख्ने हो भने ठूलो भएपछि त्यो बालिका फोबियाको सिकार हुन सक्छिन् ।

बाल्यकालमा लागेको मानसिक आघात तथा आमाबाबाट अलग हुँदा पनि फोबियाको समस्या देखापर्न सक्छ । लज्जालु प्रकृतिका मानिसमा पनि लज्जाका कारण आफ्नो वातावरणलाई यस्तो बनाउँछन् कि उनीहरू फोबियाको सिकार हुन पुग्छन् । यसका साथै मानिसको शारीरिक बनोट कुरूप भएको खण्डमा वा उनीहरूलाई आफ्नो कुनै शारीरिक अंग मन नपरेको खण्डमा तथा बोली प्रस्ट नभएको खण्डमा पनि सामाजिक फोबिया हुने सम्भावना रहन्छ ।

फोबियाको उपचार
फोबियाको उपचार सम्भव छ । जुनसुकै किसिमको फोबिया पनि उचित औषधि उपचारबाट ठीक हुन्छ । फोबियाको प्रमुख उपचार विधिहरू यसप्रकार छन् ।

साइकोथेरापी

फोबियाको उपचारमा कग्निटिभ बिहेभिअरल थेरापी (सिबिटी) रामबाँण मानिन्छ । कग्निटिभ बिहेभिअरल थेरापी बिहेभिअरल थेरापी र कग्निटिभ थेरापीको संयुक्त रूप हो । यस थेरापीले मानिसको व्यवहार (बिहेभिअर) तथा आफूप्रति तथा अरुप्रतिको सोचले मानसिक स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा अध्ययन गर्छ र सोच तथा व्यवहार परिवर्तन गरी मानसिक स्वास्थ्य कायम राख्ने प्रयास गर्छ । फोबियाको उपचारमा विभिन्न सिबिटी टेक्निक अपनाइने गरिन्छ ।

तीमध्ये अनावरण प्रविधि (एक्सपोजर टेक्निक) तथा प्रतिक्रिया रोकथाम ( रेसपोन्स प्रिभेन्सन) प्रमुख हुन् । अनावरण टेक्निक कग्निटिभ थेरापीसँग प्रयोग गर्ने हो भने फोबियाको उपचार निकै प्रभावकारी हुन्छ । अनावरण टेक्निकअनुसार डरको परिस्थितिको कल्पना गराएर वा सामना गराएर डर हटाउने प्रयास गरिन्छ ।

औषधिद्वारा उपचार

फोबियाबाट ग्रस्त व्यक्तिलाई प्रशान्तक औषधिहरू (ट्रयांक्लिाइजर) निकै लाभकारी हुन्छन् । तर कतिपय व्यक्तिमा फोबियासँगै अन्य मानसिक लक्षण पनि देखापर्ने गर्छन् । जस्तै : घबराहट, पेनिक अट्याक, दुश्चिन्ता तथा उदासी आदि ।

फोबियाको रोगीमा यस्ता लक्षण पनि देखिएका छन् भने फोबियाको उपचारसँगै यस्ता रोगको पनि उपचार आवश्यक हुन्छ । अन्यथा फोबिया पूर्णरूपमा ठीक हुँदैन । त्यसैले यस्ता व्यक्तिमा दुश्चिन्ता, अनिद्रा तथा आशंका आदिका लक्षण पनि देखिएका छन् भने प्रशान्तक औषधिहरूसँगै चिन्ताविरोधी औषधिहरू (एन्टिएन्जाइटी ड्रग्स) तथा एन्टिडिप्रेसेन्टस पनि दिनुपर्ने हुन्छ । तर, औषधिहरूसँगै साइकोथेरापीको प्रयोग बढी प्रभावकारी हुन्छ ।


अधिकांश फोबियाको सुरुवात बाल्यकालदेखि नै हुने हुँदा यसप्रति परिवारका वरिष्ठ सदस्यहरू सजग हुनुपर्छ । बालबालिकालाई भुलाउन तथा त्रसाउन डर दिने कार्य गर्नु हुँदैन । बालबालिकालाई भूतप्रेत तथा राक्षस आदिका डरलाग्दा कथा तथा यस्ता टिभी कार्यक्रमबाट टाढा राख्नुपर्छ । पारिवारिक वातावरण एकदम डररहित तथा सौहार्दमय बनाउनुपर्छ । घर तथा स्कुलमा आफ्ना बालबालिकाको व्यवहार तथा चालचलनको ख्याल राख्नुपर्छ ।

आफ्ना बालबालिका कुनै बाहिरका मानिस आएका बेला भित्र जाने, आँखामा आँखा मिलाई कुरा नगर्ने, धेरै लज्जाउने, कक्षामा पछिल्लो मेचमा बस्ने, शिक्षकलाई प्रश्न नसोध्ने, अघि सरेर नबोल्ने तथा एक्लै खेल्ने प्रकृतिका भएको खण्डमा तुरुन्त मनोचिकित्सक तथा मनोवैज्ञानिकस“ग सम्पर्क गर्नु ठीक हुन्छ । बाल्यकाल तथा किशोवस्थामै फोबियाको सही उपचार गर्ने हो भने फोबियाका कारण मानिसले जीवनमा ठूलो मूल्य चुकाउनुपर्दैन । त्यो किनभने फोबियाले प्रतिभाशाली मानिसलाई समेत खुम्चाएर राख्छ ।
                                                                                                        (लेखक साइकोथेरापिस्ट हुन्)


 

 

प्रकाशित: २० माघ २०७४ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App