८ वैशाख २०८१ शनिबार
अन्य

मामग्रेनको जीवन गीत

झुल्के घाम आधा निक्लेको छ सुनापति डाँडामाथि । तिल फुलेर पहेँलै छ बारी । शरदको सिरेटो र फूलमा माहुरीको भुनभुन । मादकता छ वातावरणमा । माथि गुम्बामा ञ्युङ्ने बस्नेहरूको मोलम पाठमा बजेको घ्यालिङको धुनले आनन्दित बन्दैछ अन्तरमन ।

यस्तैमा अलि फरक ध्वनि मिसिन्छ – छ्याक ! छ्याक ! छ्याक !बन्चरो चल्दैछ नजिकै । कस्तो छाती नै चिरा पार्लाजस्तो ।तिलबारीको पाटाछेउ मामग्रेन (ठूली बज्यै) दाउरा चिर्दैछिन् ।चिप्लो बाटोमा लत्रिएको घाँस पन्छाउँदै झर्छु, लामो सिर्कुबारीको छेउ । अब बन्चरोको आवाज बन्द भइसकेको थियो ।रातो घामको डल्लो सुनापतिमाथिको आकाश उक्लिएर डाँडामा थपक्क बस्यो ।
‘चरिला कमअी दोङ्ला नाअी
ङ्यान्गोले अ‍ेसे पाङला ङाअी...’
सुरिलो सुनियो फापरे । बारीको डिलमा उभिएँ । तल्लो बारीको पाटाछेउमा मामग्रेन चुरोट सल्काइरहेकी थिइन् । छेउमै डोको लडिरेहको थियो । एउटा बन्चरो र केही चिरा दाउरा पनि ।

तीन-चार सर्काे चुरोट तानेपछि फेरि बन्चरो उठाएर मुढामाथि प्रहार गर्न थालिन् । बन्चरो काठमाथि यसरी बज्रिरहेको थियो मानौं भित्र कतै सल्कँदो आक्रोशको मुस्लो चर्काे गरी पोखिँदैछ ।म माथिल्लो बारीको डिलमा टुक्रुक्क बसेर हेर्दाहेर्दै मामग्रेनले अङ्गालोभरिको शिरिषको मुढालाई चिरिसकेकी थिइन् । अनि मिलाएर डोकोमा हालिन् । अघि आधा तानेर बाँकी रहेको आधा खिल्ली चुरोट सल्काएर तानिन् । धुवाँ उड्यो उनको कपाल हुँदै आकाशतिर । अनि बिलायो त्यतै ।

उनी फापरेको हारी फेरि सुरु गर्छिन् । कस्तो गज्जबको लय ! सेलोमा संसारकै संगीतमा कतै प्रयोग नहुने मात्राको बिटको प्रयोग हुन्छ भनेर गायक प्रेम लोप्चनले भनेका थिए । संगीतको मात्रा र वर्णको भाषा म बुझ्दिनँ । तर, आज लाग्दैछ, साँच्चै गज्जबकै हुँदो रहेछ । सात दिन सात रात फापरे गाउने पुर्खाहरूको भाग्यमानी छोरी म । कहिल्यै प्रत्यक्ष फापरे सुन्न नपाएको दुर्भाग्यशाली पनि ।

फापरेको भाकामा मामग्रेनको खुलेको आवाज । म पहिलोपटक सुन्दैछु मामग्रेनले फापरे गाएको । शब्दहरू बुझिरहेकी छैन । तर, मुटुको सिरिक्क पार्ने फापरेको भाका छ । लाग्यो, ‘बुढेसकालको एक्लोपनले निरासिएकी यी बुढी मुटुको अनेकौं भक्कानो गाइरहेकी होलिन् ।’मलाई लाग्छ उनी निकै एक्ली महसुस गर्दी हुन् । छोरा–बुहारी यसपाली त म्हेनिङमा पनि घर आएनन् । ल्होछारमा पनि आश गर्दागर्दै अगेनामाथि गाईको सुकुटी यसै ध्वाँसिएर जान्छ ।  
‘आस्याङ आङीलाई घर बस्नु भन्नु पर्यो के माम ।’

‘फ्याङ्बा नामेदा खाल्से च्युप्खाम्ला छाया ? प्वाँख झर्दै गएपछि आफै गुँड खोज्दै आउँछन् ।’ यसो भनिरहँदा लोतीले झन्डै छोपेको उनका गहिरा आँखाहरू निकै पर तेर्सिएका थिए । आँखा रसाउन खोज्दाखोज्दै रोकिन् । उनको आँखाले पीडाको गहिरो ताल थामेर बसेको प्रतीत हुन्छ । तर, अहँ गाँठो परेका गथासालाई आँसुमा मिसाएर बगाएकी छैनन् ।

नजिकै गाउँमा बिहे गरेकी छोरी थिइन् बेलाबेला सघाउने । तर, छोरीज्वाइँ विदेशिएको पनि तीन÷चार वर्ष भइसक्यो । उनी छोरी रहर र आकांक्षाको पखेटा फर्फराउँदै भुर्र उडिन् । उनी आफ्नै रहरहरूद्वारा अपहरित भइन् मामग्रेनका लागि । मामग्रेनलाई थाहा छैन कुन देश गइन् ।
बेलाबेला फोनमा कुरा हुन्छ । ‘आधा कुरा घाँटीमै अड्काएर टुङ्ग्याउनुपर्छ ।’
घाँटीमा अड्किएका ती कुराले दिनरातै कति चिल्दा हुन् कठै !

रहर त उनका पनि फुले । माथि सुनापतिमा गुराँस फुल्नु र उनको मनमा रहर फुल्नुको नियति एउटै भयो सायद । वनभरि गुराँस फुल्यो, मनभरि रहर । वनको गुराँस वनमै ओइलियो मनको रहर मनमै । उनको बेलामा रहरको पिङमा झुन्डिएर भुइँ छोड्नु कि मर्नु हुन्थ्यो कि त बहुलाउनु ।त्यसैले कति ती रहरहरू गाइन् होला फापरेमा उनेर । दुम्जा बेसीको जात्रादेखि शैलुङ लेकको मेलासम्म । फापरेको लहरामा लठारिए होलान्, कति च्याङ्बा अनि पाराङहरू ।

मनैभरि सल्बलाउने रहरको कुम्लो कतै फोइन् । अनि कसैले सुनापतिको गुराँस सिउरिदियो उनको कपालमा । जब सुनापतिको गुराँस ओर्लियो उनको सलसल केशसम्म तब उनका रहरहरूले डाँडा चढे । रहरहरूको उडान कसैको मुटुमा गएर अवतरण भयो । अनि आफ्नै पोल्टामा पलाएका रहरहरूलाई उनले भल्वाडीको बहादुर योञ्जनको पाउमा राख्दै उनकै औंला समाउदै पछि लागिन् । अर्थात् माइतीसँग चारदाम साटियो बहादुर लामाकी अर्धाङ्गिनी भएर ।

बहादुर लामासँगको त्यो जीवनमा अलिकति प्रणय थियो अलिकति बन्धन । उमेर हुँदा दुलहीलाई छोडेर लामा पनि हिँड्थे कहिले ग्यागार (भारत) कहिले  बोई (चीन) । फर्केर आउँदा खसमले ल्याइदिने तीन डोरे धागो र निधारभरिको टीकाबाहेक वैंशको झन्झनाहटको केही ख्याल भएन उनलाई । उनी बहादुर लामाकी अर्धाङ्गिनीबाट अब चम्पा र कान्छीकी आमा भइन् । बेसाएको आहाराले काखभरि छोराछोरीलाई हुर्काउने ध्याउन्नमा आफ्नो उमेरले डाँडो काटेको पत्ता पनि पाइनन् । आफ्नै अघिल्तिरबाट वैश फुत्त उडेर गएपछि बल्ल बुढिएको चाल पाइन् । छोराछोरी गए सहरतिर, पोल्टाबाट सुखहरू फुस्किए । निकै दुखिन् उनी । तर, के गर्नु र ? पखेटा काट्दिन सक्दिनथिन् !

बिस्तारै फरियाकाभन्दा बढी मुजा आफ्नै अनुहारमा पर्न थाल्यो । झरेको चुवाको पातजस्तै मुर्झाउन थाल्यो छाला । अनि उनी गाउँभरिको मामग्रेन भइन्, अनि लामा बाजे आखेग्रेन ।अब त आखेग्रेनले रोपेको जुनारका बोटले फल दिन छोडेको तीन-चार साल भइसक्यो । आखेग्रेन बितेको पनि उति नै भएछ । देवरानी उर्माेले पनि छोडेर गइसकिन् । यी कुरा सम्झँदा लाग्दो रहेछ, यो जुनी कति लामो ? तर, फुरफुराउँदै काखमा लुट्पुटिने नाति–नातिना सम्झिँदा लाग्दो रहेछ – अलिकति आयु त अझै थप्न पाए !

म सोच्छु, उनको जीवनमा गेगर बाहेक केही छैन । तर, उनलाई जीवन सुर्तीको मल्वा सर्काे जस्तो रे । स्वाद लिँदै पिएपछि बिस्तारै रङ चढ्ने । जिउनेलाई जीवनको स्वाद । स्वाद लिँदै पिउनु मजा । स्वाद लिँदै जिउनु मजा । मामग्रेनले जीवनको तीतो, अमिलो, पिरो, टर्राे, सबै स्वाद मीठा लाग्छन् । जीवन साह्रै मीठो मान्छिन् उनी । त्यसैले फापरेमा उकाली गाए पनि मीठो । ओराली गाए पनि मीठो ।मीठो मान्दै जिइन्, एउटा सिङ्गो जीवन । मीठो मान्दै गाउँछिन् फापरेमा जीवन । यसको अर्थ, उनीसँग अझै एक झल्को मीठो आशा बाँकी छ । मामग्रेनलाई विश्वास छ, एकदिन छोराछोरी फर्कनेछन् । अनि उज्यालिनेछ फेरि त्यो आँगन र चौकठ । भरिनेछ उनको काख । खडेरी मासहरूमा बेथान खोलाको छेउछेउ कर्कला र निउरो टिप्न सिकाइएकी उनकी छोरी आउनेछिन्, चुत्रो टिप्दै सेलो गाउन । त्यसैले बिलौना गर्दिनन्, बरु गाइरहन्छिन् आशाको सङ्लो गीत ।

छातीमा च्यापिराखेको किताबभित्रको सिल्भिया प्लाथलाई सम्झन्छु । अनि उनको लेडी लजारस । अहँ पटक्क पढ्न मन छैन । तर, किन मलाई पढ्न लगाइन्छ यी मरेतुल्य अक्षरहरू ? अँध्यारो पोख्ने अभिव्यक्तिहरू ? मृत्यु गाउने गीत ? मलाई त मेरी मामग्रेनको आँखाको उज्यालो पढ्ने मन छ । उनको जीवनको सुर सुन्न मन छ ।

म मनमनै स्खलित हुन्छु, मेरी मामग्रेन किन पढिँदैन किताबमा ? उनको फापरे किन सुनिँदैन कतै ? कुन बतासले सुकायो उनको जीवन लेख्ने कलमको मसी ? कुन पहाडले छेक्यो उनको भाका फैलाउने वायुलाई ?
तर, जवाफ पाउँदिन यी प्रश्नको । प्रश्न जटिल कि उत्तर ? म सोचेर बस्दिनँ अनि सोध्न थाल्छु सिल्भियालाई – सिल्भिया के तिमी जिउन नजानेर मृत्यु महिमा गाउँदैछौ ? भन्दैछौ कि ‘डाइङ इज एन आर्ट लाइक एभ्रिथिङ एल्स्’ ?

सिल्भिया, मेरी मामग्रेनको जस्तो चिउरी फुल्दा मग्मगाउने तिम्रो दिल किन भएन ? निँगालो टुसाउँदा जग्मगाउने मन किन भएन ? पहेंलपुर तिल फुल्दा ढक्मकाउने तिम्रो छाती किन भएन ? तिमीजस्तै आत्महत्या गर्नुपर्ने कारणहरूको लहराले मेरी मामग्रेनको घाँटी पनि बेरिएकै थियो । भीमकाय भीरहरू थिए जीवनले थोपरेका । ती काफी थिए हाम फालेर मर्न । तर, अप्ठ्यारा भीरहरू ताछेर बाटो बनाइन् र पाइला चालिन् निरन्तर । उनैले ताछेको बाटोमा अहिले उनकी छोरी पुस्ता उन्मुक्त भएर हिँड्दैछन् । उनले मारिनन् आफूलाई ।  

तिम्रा लागि मर्नु कला थियो । तर, मेरी मामग्रेनका लागि जिउनु सर्वाेत्तम कला ।
तिमी मृत्यु महिमित पारेर झिल्मिलाइरहेछौं । अनि मेरी मामग्रेन ?

मेरी मामग्रेन जीवनभर जीवन गाएर पनि ओइलिँदैछिन्, घरिघरि । र, फेरि मुर्झाएका रहरहरू टिप्दै भाका भर्छिन् । सेलोमा । फापरेमा । उनको फापरेका भाका र टुक्काहरू बिलाउँदैछ हावामा । म सुन्दैछु, उनको जीवन गीत । निल्दैछु गीत मिसिएको हावा पनि । तर, म हैरान छु, बुझिरहेकी छैन गीतका शब्द अनि अर्थहरू । समात्न सकेकी छैन लय ।
सोध्छु, ‘माम कसरी आउँछ यस्तो गाउन ?’

‘आ छाया कोसी आजिन्बालाम ह्राङलान ल्हुअी मुला । गाएर नसिद्धिने त आफ्नै जीवन छ ।’
त्यसो भए नियतिको बन्चरोले जिन्दगीलाई चिर्पट बनाएपछि म पनि गाउन जान्नेछु सायद यसरी नै । जीवनका बल्ड्याङ र भङ्गालाहरूबाट उत्रिएपछि बुझ्नेछु, त्यो लय पनि । उनले विश्वास गरेजस्तो उनकी छोरी फर्कनेछिन्, बुहारी फर्कनेछिन् । गाउँदागाउँदै जुन हारीमा टुङ्ग्याएर जान्छिन् उनी, त्यहीबाट उठाउनेछिन् नयाँ हारी उनकी छोरीले । उनकी बुहारीले । अनि म अर्थात उनकी नातिनीले ।
हामीले थाल्ने हारीका लय फरक होला । तर, छिक (शब्द) उही हुनेछन् । त्यही दिन बुझ्नछौं जीवन गाउने फापरे अनि फापरे गाउने जीवनका भाकाहरू ।त्यसैले आज, मात्र सुन्दैछु । बस् सुन्दैछु, फापरेमा मामग्रेनको जीवन गीत । उनी गाउँदैछिन्, निरन्तर–
बाङ्गान व्हारा कुनिरी
चु होइ म्हिला जुनिरी ...
 

प्रकाशित: २० माघ २०७४ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App