८ वैशाख २०८१ शनिबार
कला

माहुरीको गाउँ

अर्घाखाँची, भूमिकास्थान–९, गवदेका गोपालप्रसाद घिमिरे आधुनिक घारको माहुरीको स्याहार गर्दै । तस्बिर : नागरिक

अर्घाखाँची, भूमिकास्थान–९, गवदेका गोपालप्रसाद घिमिरेको दैनिकी माहुरी रेखदेखमै बित्छ । २० घारमा माहुरीपालन गरेका उनले सोचेजस्तै उत्पादन भइरहेको बताए । तर, उनलाई महले बजार पाउँदैन भन्ने चिन्ता छ ।
‘अहिलेसम्म त गाउँमै मह बिक्री भएको छ,’ उनले भने, ‘यसलाई बढाउँदै जाँदा बजार नपाइने हो की भन्ने चिन्ता छ ।’ उनले माहुरीपालन थालेको पाँच वर्ष भएको छ । यसअघि उनी भारतमा रोजगार गर्थे ।
उनले स्वदेशका युवालाई रोजगार दिन यो व्यवसाय थालेका हुन् । उनको सिको गाउँलेले पनि थालेका छन् । ‘गाउँमा केही छैन भनेर युवाहरू विदेसिने क्रम बढ्दो छ,’ उनले भने, ‘मन हुने हो भने जस्तोसुकै व्यवसाय पनि गर्न सकिन्छ ।’

जिल्ला कृषि विकास कार्यालयले भूमिकास्थान नपाका ९ र १० वडालाई मौरीको पकेट क्षेत्र घोषणा गरेको छ । यहाँ घरैपिच्छे माहुरीका घार देखिन्छन् । माहुरीको चरन क्षेत्र र हावापानी राम्रो भएकाले माहुरीपालन व्यवसायमा कृषकहरूलाई आकर्षण गर्न कृषि विकास कार्यालयले अनुदानको व्यवस्था पनि गरेको छ । कार्यालयले यो वर्ष एक लाख ८० हजार आर्थिक अनुदानको व्यवस्था गरेको थियो।
 

सुरुमा उनले दुई घारबाट माहुरीपालन सुरु गरेका थिए । अहिले बढेर २० घार पुगेको छ । यसलाई बढाएर ५० घार पु¥याउने उनको सोच छ ।

परिवारको सहयोग र जिल्ला कृषि विकास कार्यालयले अनुदानले पनि माहुरीपालन गर्न सहज भएको उनको अनुभव छ । उनले हरेक वर्ष एक क्विन्टल मह उत्पादन गर्दै आएका छन् । अहिले बजारमा एक किलो महलाई एक हजार पर्छ । बजार भाउ पनि राम्रो भएको र घरमै बसेर कम खर्चमा गर्न सकिने व्यवसाय भएपछि उनलाई माहुरीपालनमा मोह जागेको हो ।  
उनीजस्तै माहुरीपालन गर्ने अर्का किसान हुन्,  भूमिकास्थान–१०, धनचौंरका गणेश रायमाझी । उनी वैदेसिक रोजगार छाडेर अहिले माहुरीपालनमा सक्रिय छन् । उनले माहुरी व्यवसाय थालेको चार वर्ष  बित्यो । यसकै कमाइले उनको परिवारको दैनिकी टरेको छ । अहिले उनको घरमा २० घार माहुरी छ । आम्दानी बढ्दै गए यसलाई थप गर्दै लैजाने रायमाझीको सोच छ  ।  जिल्ला कृषि विकास कार्यालयले माहुरीपालन गर्न चाहने कृषकहरूलाई लक्षित गर्दै तालिम दिएपछि उनी माहुरीपालनमा लागेका थिए । ‘हामी नेपालमा केही नदेखेर विदेशतिर हाम फाल्छौं । यहाँका सामान्य सम्भावना पनि खोजी गर्दैनौं,’ उनले भने, ‘तन र मन लगाएर कृषि गर्ने हो भने यही पनि मनग्ये आम्दानी गर्न सकिन्छ।’

उनले अरु युवालाई पनि रोजगार दिएका छन् । ‘गाउँका युवा खाडी मुलुकमा सस्तोमा श्रम खेर फालिरहेका छन्,’ उनी भन्छन्, ‘थोरै सोचेर काम गर्ने हो भने गाउँको टुक्रे जग्गामा पनि खेती र पशुपालन गर्न सकिन्छ ।’ त्यसो त उनी माहुरीबाहेक तरकारी खेती पनि गर्छन्।

जिल्ला कृषि विकास कार्यालयले भूमिकास्थान नपाका ९ र १० वडालाई मौरीको पकेट क्षेत्र घोषणा गरेको छ । यहाँ घरैपिच्छे माहुरीका घार देखिन्छन् । माहुरीको चरन क्षेत्र र हावापानी राम्रो भएकाले माहुरीपालन व्यवसायमा कृषकहरूलाई आकर्षण गर्न कृषि विकास कार्यालयले अनुदानको व्यवस्था पनि गरेको छ । कार्यालयले यो वर्ष एक लाख ८० हजार आर्थिक अनुदानको व्यवस्था गरेको थियो।

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक बलराम घिमिरेले पकेट क्षेत्रलाई लक्षित गर्दै १० वर्षे कार्ययोजना तय गरेको जानकारी दिए । उनले पकेट क्षेत्रभित्र ३५ कृषक सक्रिय माहुरीपालनमा लागेको बताए । उनले भने, ‘पकेट क्षेत्रका लागि भनेर वार्षिक साढे तीन लाख रूपैयाँ बजेट आउँछ । यो क्षेत्र माहुरीपालनका लागि उपयुक्त मानिएकाले पनि पकेट क्षेत्र घोषणा गरिएको हो ।’ उनका अनुसार यो क्षेत्रमा माहुरीको चरनका लागि चिउरी, तोरीलगायत अन्य थुप्रै वनस्पतिहरू पाइन्छन् । यो क्षेत्र मह उत्पादनका लागि प्रभावकारी मानिने किसानहरू बताउँछन्।

कस्तो जातको मौरी पाल्ने ?
किसानहरूका अनुसार सेराना, कठौरी र मेलीफेरा जातका मौरीपालन गर्दा उत्पादन राम्रो हुन्छ । कठौरी जातको माहुरी  पाल्न भिरपाखा र पहाडी क्षेत्रमा उपयुक्त हुन्छ । मेलिफेरा तराई र भित्री मधेसमा र सेराना उच्च पहाडी क्षेत्रमा उपयुक्त हुन्छ ।
के–के कुरामा ध्यान दिने ?

रस नपाउने सिजनमा माहुरीलाई कृत्रिम आहाराको व्यवस्था गर्ने ।
सिजन अनुसार ठाउँ परिवर्तन गर्ने ।
माहुरीको घार परिवर्तन गर्दा कडा बास्ना आउने चिजहरू प्रयोग नगर्ने ।
रानी माहुरी फेरेको वा घार समायोजन र विभाजन गरेको बेलामा कृत्रिम आहाराको कालो र गाढा रङको कपडा नलगाउने ।
घार खोल्दा वा हेरचाह गर्दा टाउकोमा जाली टोपी र हातमा पन्जा लगाउने ।
घार खोल्दा गर्मी मौसममा बिहान ९ बजेदेखि ११ बजे र दिउँसोमा २ देखि ४ बजेसम्म खोल्ने ।
घार खोल्दा जहिले पनि प्रवेशद्वारको विपरित दिशातर्फ बसेर खोल्ने ।
मह निकाल्दा सुतीको कपडा बालेर धुवाँ निकाल्ने ।


 

प्रकाशित: २० माघ २०७४ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App