८ वैशाख २०८१ शनिबार
अन्य

पृथ्वीको सुझबुझ

अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा,
रिपुको मन् थर्कोस् थरथर गरी छीनघरीमा,
यवन्ले राज गर्दा कति पतीत हिन्दुस्थल भयो !
फगत् यो नेपाल्को मुलुक बची कञ्चन् रहिगयो !
(मोतिराम भट्ट)

नेपाल राष्ट्रको सर्वोच्च र पवित्र साहित्यिक भाषिक पुरस्कार अर्थात् नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने श्री ५ पृथ्वी प्रज्ञा पुरस्कार स्वयं राष्ट्रपतिका प्रोज्ज्वल हातबाट प्राप्त गर्ने सौभाग्य पाएकामा म अति आदणीय राष्ट्रपतिप्रति मेरो असीम श्रद्धा प्रकट गर्छु तथा ८३ वर्षको मेरो लामो साहित्यिक भाषिक सेवालाई हाम्रा महान् राष्ट्रनिर्माताद्वारा गौरवान्वित तुल्याएको यस असाधारण र पवित्र अवसरले म आफ्नो समस्त जीवन नै धन्य भएको मान्छु । यस्तो अद्वितीय अवसर प्रदान गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका श्रद्धेय कुलपति, उपकुलपति, सदस्यसचिव र समस्त सदस्यहरू समेतमा म हृदयान्तरदेखिको धन्यवाद समेत प्रकट गर्छु ।

हाम्रो पवित्र राष्ट्रका निर्माता श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको जन्म आजभन्दा ३५२ वर्षजति अघि नेपालको गोर्खा भन्ने जिल्लामा भएको थियो । आफ्नो जिल्लामा राजा भएकै समयदेखि नै उहाँ समस्त राष्ट्रलाई एकीकरण गरी जनतालाई एकबद्ध गर्ने र प्रबल पार्ने उत्कृष्ट भावनाले तन्मय हुँदै ग्रामीण, गोर्खाबाट उपत्यका छिर्ने थान्कोट हुँदै पूरै उपत्यका देखिने चन्द्रागिरि चढी निरीक्षण गर्न थाल्नुभयो ।

समस्त नेपाल राष्ट्रको केन्द्र सो उपत्यका त्यसबेला की¨तपुर, ललितपुर, काठमाडौं र भक्तपुरजस्ता राज्यहरूमा विभक्त भएको र तिनका बीचमा युद्धहरू भइरहने हुँदा तिनलाई एकबद्ध गरेर मात्र हाम्रो मातृभूमि सुदृढ हुने र प्रगतितर्फ लम्कन पाउने हाम्रा राष्ट्रनिर्माताको सुयोग्य मस्तिष्कले देखेपछि उहाँले सर्वप्रथम की¨तपुरमै आक्रमण गर्नुभयो र उहाँको त्यो विजय नै समस्त राष्ट्रको एकीकरणको थालनी थियो । परन्तु की¨तपुर उपत्यका छेउछाउका मै हुँ भन्ने शासकहरूले त्यसरी ग्रामीण गोर्खाका राजाले समेत हराएको देखेर की¨तपुरका जनताको त उनले नाक कानै काटिदिए ! भन्ने हल्ला फिँजाए ।

वास्तवमा त्यस ताक की¨तपुरमा क्रिस्तानहरू आफ्नो धर्म प्रचारमा मग्न थिए, अनि उनीहरूले त्यस भनाइलाई साँच्चै नै की¨तपुरे जनताका १७ धार्नी जति नाक र कान गोर्खालीले काटे भन्ने हल्ला फिँजाए ! वास्तवमा नाक–कान काट्नु भन्ने उक्तिको वास्तविक अर्थ त इज्जत तल खसालिदिनु हो, तर क्रिस्तानहरूले त्यस्तो भनाइलाई बिगारेर नचाहिँदो अर्थ लगाइदिए ।

जेहोस्, त्यसपछि महान् पृथ्वीनारायण शाहको प्रोज्ज्वल मस्तिष्कले त्यस कुरालाई साह्रै स्पष्टतासाथ हृदयंगम गर्दै काठमाडौंका जनताले आफ्नो नगरकी कुमारीलाई असीम श्रद्धा गरेको देखी सोझै आक्रमणको बाटो नसमाती जनताको हृदय जित्न ठाडै गएर जीवित कुमारीलाई सबका अगाडि निहुरेर गोडामै ढोगिदिए ! क्षेत्रीय जातिका खस राजाले वैश्य वर्गको नेवार कुलकी कुमारीलाई त्यसरी श्रद्धासाथ ढोगेर पृथ्वीनारायण शाहले काठमाडौंका सर्वसाधारण जनतालाई ‘हाम्रो नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो !’ भन्ने घोषणा गर्दै, ‘ए, यी त हाम्रा अत्यन्त नजिकका मित्र पो रहेछन् ! भन्ने प्रबल धारणा स्थापित गर्दै उपत्यकाको सुदृढ विजय प्राप्त गरे ।

महान् पृथ्वीनारायण शाहको उपत्यका विजयपछि भक्तपुरमा बंगालका एक सुल्तानले आक्रमण गरेका थिए, तर भक्तपुरभित्रैका स्थानीय सेनाले नै तिनलाई त्यहाँबाट धुस्नु बनाएर खेदे । त्यसका साथै काठमाडौं उपत्यकाबाट पहाडैपहाड तराईतिर जाँदा बाटामा पर्ने मकवानपुरले पनि तराईतिरबाट आक्रमण गर्न आएका बेलायती सेनालाई अत्यन्त कुशलतासाथ खेदेका थिए । आजसम्म पनि मकवानपुर डाँडामा पुरानो दरबार छँदै र त्यसभित्र चार–पाँच जना सैनिक राखिएका भेटिन्छन् ।

तपाईं त्यहाँ जान पाउनुभयो भने तिनले तपाईंलाई भित्री मधेसतिर हेर्न त्यहाँको झ्यालबाट अनुरोध गर्छन् । त्यस झ्यालमा सधैँ एउटा दियो बालिएको हुन्छ र त्यहाँ शिवको स–सानो मू¨त पनि हुन्छ । त्यस झ्यालबाट ती सैनिकले तपाईंलाई दक्षिणतिर देखाउँदै अंग्रेजहरूको एउटा निकै ठूलो समूह नेपाल आक्रमणमा आएको कुरा उक्काउँछन् ।

साँझ झमक्क परेर अँध्यारो भएपछि तल छेवैको भित्री मधेसबाट माथि दरबारमा आक्रमण गरी मकवानपुर लिएपछि काठमाडौंतर्फ सेना बढाउने उनीहरूको योजना रहेछ, तर मकवानपुरमा समेत हाम्रा राष्ट्र निर्माताको दूरदृष्टि पुगेर त्यहाँ २५-३० साँढेहरू भेला पार्न लगाई साँझ पर्नेबित्तिकै ती साँढेका दुवै सिङमा तेलमा डुबाएका लुगा बेरी आगो लगाई दिने र ओह्रालो खेद्ने योजना गरी राष्ट्र बचाएको देख्ता हामी अत्यन्त प्रशन्न हुन्छौँ । ती साँढे बेलायती सेनातर्फ त्यसरी हुरुरु हुत्तिँदै ओह्रालो झर्दा तिनलाई देखेर ‘लौ गोर्खाली सेनाले त आक्रमण गरे’ भन्ने प¥यो र ती भागाभाग गर्दै भारततिर कुदे अनि उतै गए ! यस्तो सुबुद्धि पनि राष्ट्रपिता श्री ५ पृथ्वीनारायण शाहकै हो र यसरी राष्ट्रिय गौरवको रक्षा उहाँबाट हरेक क्षेत्रमा भएकाले आज हामी गर्वसाथ स्वतन्त्र नेपाली भएर विश्वमा ठाडो शिर गरी सगरमाथाको इज्जत राख्न पाइरहेका छौँ । जय श्री ५ पृथ्वी राष्ट्रपिता अनि जय हाम्रो प्यारो मातृभूमि नेपाल !

प्रकाशित: २० माघ २०७४ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App