coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

तेस्रो अभ्यासमा नेपाल पराजित

काठमाडौं – नेपाली राष्ट्रिय टोलीले शुक्रबार तेस्रो तथा अन्तिम अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ६४ रनको हार बेहोर्दै भ्रमण टुंग्याएको छ।

यही माघ २५ देखि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन दुईको विशेष तयारीका लागि दुबईमा रहेको नेपालले युएइ ‘ए’ विरुद्ध पहिलो दुई खेलमा क्रमशः २५ र १ सय ९३ रनको जित हात पारे पनि तेस्रो खेलमा भने जितलाई निरन्तरता दिन सकेन । युएईले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल ३८.५ ओभरमा मात्र १ सय ५१ रनमा समेटियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले २६ रन जोडे।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर दिलीप नाथलाई गुमाएको नेपाल तेसो ओभरको पहिलो बलमा भरपर्दा ब्याट्सम्यान शरद् भेषावकरलाई गुमाएपछि ८–२ को कठिन स्थितिमा आएको थियो । ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तान पारससँग तेस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे पनि ज्ञानेन्द्र दशौं ओभरको पहिलो बलमा पवेलियन फर्किएपछि नेपाल पुनः दबाबमा परेको थियो । त्यसपछि आएका  रोहितकुमार पौडेलले २१ र आरिफ शेखले १९ रन जोड्दै नेपालको इनिङ उकास्ने प्रयास गरे पनि सफल भएनन् ।

रोहित, दीपेन्द्र र आरिफ पवेलियन फर्केपछि १३२–६ मा भएको नेपालले त्यसपछि केवल १९ रन जोड्दा बाँकी ४ विकेट गुमाएको थियो।
युएईका कार्तिक मायाप्पनले ४ तथा हर्जत बिलाल र मातिउल्ला खानले समान २–२ विकेट लिए ।
यसअघि सुरुआती ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रनको मध्यम योगफल खडा गरेको थियो ।
युएईका चिराग सुरीले ८५ रन जोड्दा अली मिर्जाले अविजित ४२ रनको योगदान दिए ।नेपालका सोमपाल कामीले ३, ललित भण्डारीले २ तथा वसन्त रेग्मी, सन्दीप लामिछाने र पारसले समान १–१ विकेट लिए।

 

 

प्रकाशित: २० माघ २०७४ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App