१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अधुरै रह्यो आत्मकथा पढ्ने धाेकाे

काठमाडौं – आफ्नो जीवनकथामा आधारित पुस्तक अर्कै स्रष्टाले प्रकाशन गरिदिन लागेको सुन्दा जोकोही साहित्यकार हर्षित हुन्छन् । साहित्यकार मनु ब्राजाकी पनि आफ्नो जीवनकथामा आधारित पुस्तक ‘मनमौजी’ प्रकाशन गर्न लागिएको सुन्दा उत्साहित थिए ।

त्यो पुस्तक पढ्न साँचेको सपनामा शुक्रबार उनको निधनसँगै पूर्णविराम लागेको छ । उच्च रक्तचापका बिरामी मनुको ७५ वर्षको उमेरमा शुक्रबार बिहान १०ः३० मा मष्तिष्क घातका कारण ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।मनुको जीवनीमा आधारित भएर इटहरीका लेखक सुविद गुरागाईं पुस्तक लेख्दै थिए । गुरागाईंका अनुसार लेखन ६० प्रतिशतभन्दा बढी सकिइसकेको छ । ‘उहाँको जीवनकथा पुस्तकमा उतार्ने प्रस्ताव लिएर जाँदा अत्यन्त उत्साहित हुनुभएको थियो ।

हामीले जीवनकथा लेख्न सम्झौतापत्र देखाउँदा पुस्तक प्रकाशन भएपछि मलाई २० प्रति पुस्तक दिनू है भन्नुभएको थियो,’ आमाको निधनपछि इटहरीमै आठ दिनको काम गरिरहेका गुरागाईंले टेलिफोनमा नागरिकसँग भने, ‘पुस्तक दुई खण्डमा प्रकाशन गर्ने योजनाअनुसार पहिलो खण्डका लागि हामीले उहाँका बारेमा आफन्त र नजिकबाट चिन्ने व्यक्तिहरुसँग जानकारी लिइसकेका थियौं । दोस्रो खण्डका लागि उहाँका विषयमा प्रकाशित लेख संकलन गरिरहेका थियौं । यही अवस्थामा उहाँको निधनको खबरले दुःखी बनाएको छ ।’

अब मनुको ४५औं दिनको पुण्यतिथिमा पुस्तक सार्वजनिक गरिने गुरागाईंले बताए । पुस्तकमा मनुका प्रशंसकको उनीप्रतिको बुझाइ पनि समेटिने उनले जानकारी दिए । पुस्तकलाई घोस्ट राइटिङले प्रकाशनको तयारी गरिरहेको छ ।

विसं १९९९ साउन १९ गते महोत्तरीको औराहीमा जन्मिएका मनुको वास्तविक नाम चेतमानसिंह भण्डारी हो । पाठकले उनलाई साहित्यमा ‘सगर नासरत’ र ‘हेमन्त हरि’ नामले पनि चिन्थे । २०१९ सालमा ‘अञ्चल सन्देश’ नामक पत्रिकामा उनको पहिलो कथा प्रकाशित भएको थियो । उनी एक दशकयता ललितपुरको भैंसेपाटीस्थित कार्यविनायक नगरपालिकामा बसोबास गर्दै आएका थिए ।

साहित्यकार परशु प्रधान मनुलाई नयाँ विषयमा कथा लेख्न रुचाउने कथाकारका रुपमा सम्झन्छन् । ‘उहाँको कथामा राम्रो स्थान थियो । अन्य कथाकारले आफ्ना कथामा एउटै फ्लेबर ल्याइरहँदा उहाँ नयाँ विषयवस्तु ल्याउनुहुन्थ्यो,’ प्रधानले भने, ‘उहाँको कथामा जीवनवादी विषयले स्थान पाउँथे । कथा लेखनमा पृथक् प्रस्तुतिले नै उहाँले साहित्यमा अन्य कथाकारको भन्दा अलग पहिचान बनाउनुभयो । एक अर्थमा भन्नुपर्दा उहाँले नेपाली कथा लेखनमा नयाँ अध्याय सुरुआत् गर्नुभएको हो ।’

मनुका  ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्री स्वास्नी र म’, ‘पारदर्शी मान्छे’, ‘भविष्ययात्रा’, ‘मनु ब्राजाकीका लघुकथा’, ‘अन्नपूर्णाको भोज’ लगायतका कथासंग्रह प्रकाशित छन् । यसबाहेक ‘काँडाका फूलहरू’, ‘के हो र जिन्दगी’ र ‘गजल गंगा’ गरी तीन गजल संग्रह प्रकाशित छन् । २०७० मा उनले कथा संग्रह ‘अन्नपूर्णाको भोज’ का लागि ‘पद्मश्री साधना सम्मान पुरस्कार पाएका थिए । ‘मैनाली कथा पुरस्कार’, ‘साझा पुरस्कार’, ‘गंगालक्ष्मी पुरस्कार’, ‘महाकवि देवकोटा पुरस्कार’ बाट पनि उनी सम्मानित थिए ।

मनुको साहित्यिक व्यक्तित्वबाट प्रभावित फिल्मकर्मी तथा लेखक प्रकाश सायमी मनुका छिमेकी पनि हुन् । मनुको गजल एल्बम ‘सप्तक’ सार्वजनिक हुँदा सायमीले नै एल्बमको समीक्षा गरेका थिए । ‘उहाँको गजल अंग्रेजी शैलीको थियो भनेर मैले समीक्षा गर्दा त्यो कुरालाई सहजरुपमा लिनुभएको थियो,’ सायमीले सम्झिए, ‘पुल्चोकमा बेलुकीपख हुने साहित्यिक गतिविधिमा उहाँ सक्रिय रुपमा सहभागिता जनाउनुहुन्थ्यो । उहाँको साहित्यिक सक्रियतामा बुढ्यौलीपन कहिल्यै देखिनँ ।’

मनुको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको शवमा कान्छा छोरा अमित सिंह भण्डारीले दागबत्ती दिएका थिए । परिवारमा श्रीमती, दुई छोरा र एक छोरी भए पनि जेठा छोराको केही वर्षअघि नै निधन भएको थियो ।
 

प्रकाशित: २० माघ २०७४ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App