coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वराजको भ्रमण सफल भएको भारतको दाबी

काठमाडौं  – भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।

‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) प्रस्थान गर्नुभएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले दुईदिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार स्वराज स्वदेश फर्केपछि ट्विट गरेको छ ।  

स्वराजको आकस्मिम नेपाल भ्रमणलाई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘राजनीति र कूटनीतिको सामान्य अभ्यास अनुरुप अहिलेको भ्रमण भएको छैन’ भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि ‘अनुपयुक्त समयको भ्रमण’ बताएका छन् ।

नेपालभित्र आलोचना भए पनि करिब २४ घन्टा नेपाल बसाइँमा स्वराजले विभिन्न पार्टीका डेढ दर्जनभन्दा बढी नेतासँग भेट गरिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वदेश फर्किनु केही घन्टाअघि शिष्टाचार भेट गरेकी थिइन् ।राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा स्वराजले नयाँ संविधानअनुसार सफलतापूर्वक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्गमा अघि बढेकोमा बधाई तथा शुभकामना दिएकी थिइन् ।

‘नयाँ संविधानअन्तर्गत निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय विदेशमन्त्रीले बधाई दिँदै खुसी व्यक्त गर्नुभयो,’ भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘नेपालको स्थिरता र विकासमा भारतीय सहयोग निरन्तर रहने प्रतिबद्धता उहाँले जनाउनुभयो ।’

नयाँ संविधानअनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई उनले बधाई  दिएकी थिइन् । सो भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै आयममा सामान्य छलफल भएको थियो । प्रधानमन्त्रीसँग स्वराजको भेटमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, उद्योगमन्त्री सुनील थापा, अर्थ राज्यमन्त्री उदयशमशेर राणा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्य, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत उपस्थित थिए ।

देउवासँग भेट गर्नुअघि शुक्रबार बिहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री उपेन्द्र यादवसँग भेट गरेकी थिइन् । भेटवार्ताका लागि दाहाल र यादव स्वराज बसेको सोल्टी होटल पुगेका थिए । स्वराजले दाहाल र यादवसँग ‘वान अन वान’ वार्ता गरेकी थिइन् ।

‘सुष्माजीको सद्भाव भ्रमण हो जस्तो मैले बुझें,’ भेटपछि पत्रकारसँग दाहालले भने, ‘अहिले नेपालको चुनावपछिको परिस्थिति र सरकार गठनतयारीबारे सकारात्मक एवं रचनात्मक कुरा भए ।’

भेटमा स्वराजले आउँदा दिनमा नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने जिज्ञासा राखेको दाहालले बताए । ‘मुख्यतया मैले राजनीतिक स्थिरता र विकास नेपाललाई चाहिन्छ, छिमेकीहरुसँग राम्रो सम्बन्ध बनाएर त्यसमा सहयोग जुटाउँछौं भन्ने धारणा राखें,’ उनले भने । स्वराजले नेपालको स्थिरता र विकासमा भारतको पूरै सहयोग रहने बताएकी थिइन् ।

काठमाडौं आएलगत्तै स्वराजले बिहीबार साँझ एमाले र राष्ट्रिय जनता पार्टीका नेतासँग अलगअलग भेटवार्ता गरेकी थिइन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वराजसँग भेटवार्ता गर्न उनी बसेको सोल्टी होटल पुगेक थिए । सुरुमा ओली र स्वराजबीच ‘वान अन वान’ भेटवार्ता भयो  । वान अन वान वार्ता सकिएपछि अन्य नेता ईश्वर पोखरेल, विष्णु पौडेल, राजन भट्टराई, प्रदीप ज्ञवाली, विष्णु रिमाल र युवराज खतिवडासहित ओली र स्वराजबीच भेटवार्ता भएको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका ६ जना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव, अनील झा र शरदसिंह भण्डारी तथा स्वराजबीच सामूहिक भेटवार्ता भएको थियो ।
‘संविधान संशोधन आन्तरिक विषय’
भारतीय विदेशमन्त्री स्वराजले संविधान संशोधन विषय नेपालको आन्तरिक विषय भएको बताएकी छिन् । राजपा नेपालका अध्यक्षमण्डलदका छ नेतासँग बिहीबार भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् ।

भेटमा राजपाका नेताहरुले नयाँ संविधानमा आपूmहरुको असहमति रहेको र संविधान संशोधनलाई मुख्य अजेन्डा बनाएर निर्वाचनमा जाँदा सफलता प्राप्त भएको बताएका थिए । ‘संविधान संशोधन तपाईंहरुको आन्तरिक कुरा हो । निर्वाचनमा सफलता पाउनुभएकोमा तपाईंहरुलाई बधाई छ,’ भेटमा विदेशमन्त्री स्वराजलाई उद्वृत गर्दै राजपा नेता भण्डारीले बताए ।

प्रकाशित: २० माघ २०७४ ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App