coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हवाई भाडा बढाउने निर्णय

काठमाडौं – निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर आगामी सोमबार (माघ २२ गते) बाट लागू हुनेछ ।

नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ९५ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन् । बढ्ने भाडा दरमा एक महिनाअघि भएको प्रतिलिटर ३ रुपैयाँ वृद्धिसमेत समेटिएको छ ।वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

‘सरकारले तोकिदिएको अधिकतम भाडा ननाघ्ने गरी बढाउने निर्णय भएको छ । कार्यान्वयनका लागि आइतबार (माघ २१ गते) नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गर्छौं,’ संघका प्रवक्ता घनश्याम आचार्यले शुक्रबार नागरिकसँग भने, ‘प्राधिकरणले अनुमोदन गरेमा माघ २२ गतेबाट बढेको भाडादर कार्यान्वयन हुनेछ ।’

नयाँ भाडादरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दूरीमा रहेको सिमरा जान ३ हजार १ सय २५ रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दूरीको धनगढी जान १२ हजार ६ सय ७५ रुपैयाँ तिर्नुपर्छ । सिमराका लागि ७५ रुपैयाँ र धनगढीका लागि ३ सय ५५ रुपैयाँ भाडा बढेको छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ ।

त्यसैगरी काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ सय ७५, पोखरालाई १ सय २५, भैरहवालाई १ सय ६५, विराटनगरलाई १ सय ९०, भद्रपुरलाई २ सय ४०, भरतपुरलाई ८५, नेपालगन्जलाई २ सय ६०, जनकपुरलाई १ सय ५ र तुम्लिङटारलाई१ सय ४५ रुपैयाँ बढी तिर्नुपर्नेछ ।  

भाडादर कार्यान्वयन भएपछि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ११ हजार २ सय ९५, पोखरा जान ४ हजार ८ सय ५५, भैरहवा जान ६ हजार २ सय २०, विराटनगर जान ७ हजार ४ सय ८०, भद्रपुर जान ८ हजार ९ सय ९०, भरतपुर जान ३ हजार ५ सय ९०, नेपालगन्ज जान ९ हजार ५ सय ६०, जनकपुर जान ४ हजार १ सय १५ र तुम्लिङटार जान ५ हजार ८ सय ६५ रुपैयाँ लाग्नेछ ।वायुसेवा कम्पनीले गत मंसिर २६ गते हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्म वृद्धि गरेका थिए । त्यति बेला आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको थियो । त्यसपछि निगमले पुस १८ मा हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरे पनि वायुसेवा कम्पनीले भाडा बढाएका थिएनन् ।

वायुसेवा कम्पनीले गत असार २१ मा भाडा घटाएका थिए । त्यस बेला आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर ४ रुपैयाँका दरले घटाएर ८२ कायम गरेपछि वायुसेवा कम्पनीले न्यूनतम ४० देखि अधिकतम १ सय ८१ रुपैयाँसम्म भाडा घटाएका थिए ।हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवा कम्पनीले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गर्छन् । यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको÷बढेको रूपमै लिन्छन् ।  

वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कुल खर्चको ४० देखि ५० प्रतिशत अंश इन्धनको हुन्छ । प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरवलोकन गर्ने सरकारी नीति छ । सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ । सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो ।  

 
            

 

प्रकाशित: २० माघ २०७४ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App