७ वैशाख २०८१ शुक्रबार
प्रवास

लण्डनमा परोपकारी कविता कन्सर्ट

लण्डन- बेलायतमा पहिलोपल्ट बृहत् रूपमा कविता कन्सर्टको आयोजना गरिने भएको छ।

पछिल्लो समय लोकप्रिय र स्थापित नेपाली कलाकारदेखि नेपाल आइडलजस्ता नवकलाकारहरूको प्रस्तुति बेलायतमा आम बन्दै गए पनि एकल कवितावाचनलाई नै केन्द्र बनाएर हुन लागेको यो पहिलो कन्सर्ट हो। “नेपलिज ब्रिटिश कम्युनिटी युके (एनबीसी युके)”को आयोजनामा आगामी मार्च १० मा सम्पन्न हुने उक्त कन्सर्टमा ‘सेलिब्रिटी’ कवि नवराज पराजुलीले आफ्ना लोकप्रिय कविता वाचन गर्नेछन् । कार्यक्रमलाई ‘लण्डन कविता कन्सर्ट’ नाम दिइएको छ । कवि पराजुली प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित छन् ।

कार्यक्रमबारे जानकारी दिन गत बुधवार एनबीसी युकेले गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको संयोजन गरिरहेका रामशरण सिंखडाले च्यारिटीका रूपमा आयोजना हुने उक्त कन्सर्टबाट सङ्कलित रकम सर्लाहीको हरिवनस्थित ‘चेतना सन्देश नेपाल’ नामक ग़ैरसरकारी संस्थालाई प्रदान गरिने बताए । मधेश आन्दोलन र द्वन्द्वकालमा अभिभावक गुमाएका बालबच्चाको संरक्षणमा सक्रिय उक्त संस्थालाई यसअघि एनआरएन युकेको महिला फोरमले पनि विशेष च्यारिटी मार्फ़त सगयोग सङ्कलन गरेको थियो ।

उक्त संस्थामा हाल ४२ बालबालिकाको संरक्षण हुँदै आएको छ । अहिले एउटै कक्षामा बस्न बाध्य भएका बालिकाहरुको लागि छुट्टै आवास कक्ष बनाउने तथा ई लाइब्रेरी सञ्चालन गर्ने अभियानमा सहयोग गर्न लागिएको एनबिसी यूकेका संयोजक मिलन घिमिरेले जानकारी दिए ।

कार्यक्रममा झण्डै ५ सय दर्शक, श्रोता उतार्ने लक्ष्य आयोजकको छ । कार्यक्रमको अनुमानित लागत ८ हजार पाउण्डसम्म छ भने कार्यक्रमबाट १८ हजार पाउण्ड संकलन गर्ने र १० हजार पाउण्ड बचत गरी संस्थालाई प्रदान गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम पश्चिम लण्डनस्थित ग्रीनफोर्ड टाउनहलमा सम्पन्न हुनेछ ।

प्रवासमा नेपाली भाषासाहित्यको सम्बर्द्नन र नेपालमा द्वन्द्वपीड़ित बालबालिकाका लागि सार्थक सहयोग गर्नेजस्तो पवित्र उद्देश्यले आयोजित कार्यक्रमलाई सफल बनाउन संस्थाका तर्फबाट सचिब चुरामनि रेग्मीले सबैमा आग्रह गरेका छन् । गैरराजनैतिक र ग़ैरजातीय सामाजिक संस्थाका रूपमा पश्चिम लण्डनमा स्थापित एनबीसी युकेले यसअघि लक्ष्मीप्रतिष्ठान लगायतका धेरै संस्थाको सहयोगार्थ परोपकारी कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

प्रकाशित: १९ माघ २०७४ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App