८ वैशाख २०८१ शनिबार
राजनीति

पहिलो प्रदेश सभा बैठकको तयारी पूरा

सुर्खेत- प्रदेशसभाको पहिलो बैठकको मिति नजिकिँदै जाँदा सचिवालयका कर्मचारीको व्यस्तता बढ्न थालेको छ। २१ गतेका लागि तोकिएको बैठकका लागि कर्मचारीहरु मध्यरातिसम्म काममा खटिरहेका हुन्छन्। ‘प्रदेश संसदको बैठकका लागि सम्पूर्ण तयारी गर्नुपर्ने भएकाले कामको चटारो छ’ प्रदेशसभा सचिवालयका सचिव सञ्जय दाहालले भने, ‘बैठक कक्षको तयारीदेखि कर्मचारी व्यवस्थापनसम्मका सबै काम एकै पटक गर्नुपर्दा हामीलाई भ्याई–नभ्याई छ।’

प्रदेशसभाको बैठकका लागि तय गरिएको सिंचाई विभाग डिभिजनको भवन र सभाहल सजाउने, रंगरोगन, गेट निर्माणलगायतका कामहरु भइरहेका छन्। पहिलो बैठकमा पेश गरिने अजेण्डालगायतको टुङ्गो लागिसकेको छ। सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने अजेण्डा र अर्को मितिको पनि टुङ्गो लगाएको जनाएको हो।

‘प्रदेश संसद बैठकका लागि अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौं’ प्रदेश संसद सचिव दाहालले भने, ‘संसद भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ।’ पहिलो बैठकमा सभामुखको भूमिका जेष्ठ सदस्य कांग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन्।

नेकपा एमालेका यामलाल कँडेल, माओवादी केन्द्रका धर्मराज रेग्मी, सीता नेपाली र नेपाली कांग्रेसबाट दिनबन्धु श्रेष्ठ, हिमबहादुर शाही उपस्थित रहेको सर्वदलीय बैठकले सचिवालयले बनाएको अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचनका लागि दोस्रो बैठकको मिति पनि तय गरेको हो। दलहरुबीच भएको सहमति अनुसार माघ २९ गते सभामुखको निर्वाचन हुने छ।

मन्त्रिपरिषद्को कार्यालय स्थापना

प्रदेश संसद बैठकको मिति नजिकिएसँगै मूख्यमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ। क्षेत्रीय प्रशासन भवनमा शुक्रबार मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरिएको हो। यस्तै प्रदेश मूख्य सचिव सुरेश प्राधान, मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहरा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशव आचार्यले पनि शुक्रबार पदबहाली गरेर काम सुरु गरेका छन्।

मूख्य सचिव प्रधानले आउने बुधबारसम्म सबै मन्त्रालयहरु स्थापना गरिने बताए। संघीय संरचनाका लागि प्रस्ताव गरिएका भवनहरु खाली हुने क्रममा छन्’ उनले भने, ‘मंगलबारसम्म सबै भवन खाली गराएर मन्त्रालय स्थापना गछौं ।’ उनले क्षेत्रीय कार्यालयहरु खारेज भइनसकेका र उनीहरुका कार्यक्रमहरु पनि सञ्चालन भइराखेकाले भवन खाली गराउने काम केही ढिलो भएको बताए।

‘क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाकमा प्रदेश मन्त्रिपरिषद्, मूख्यमन्त्री र प्रमुख सचिवको कार्यालय स्थापना गरिसकेका छौं’ उनले भने, ‘बाँकी मन्त्रालयहरु बुधबारबाट सञ्चालनमा आउने छन्।’

जिल्ला जन स्वास्थ्य कार्यालयमा गृह मन्त्रालय, जिल्ला भू–संरक्षण कार्यालयमा अर्थ, क्षेत्रीय कृषि र जिल्ला कृषि विकास कार्यालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय सडक र डिभिजन सिंचाईमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय सिंचाई र क्षेत्रीय सुपरिवेक्षण कार्यालयमा प्रदेश विज्ञान तथा वातावरण मन्त्रालय, क्षेत्रीय शिक्षा र पशु सेवा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने छन्।

 

प्रकाशित: १९ माघ २०७४ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App