८ वैशाख २०८१ शनिबार
समाज

अस्ताए ‘मुनब्बर गुरु’

नेपालगन्ज- मुनब्बर अलि हल्वाई। यसक्षेत्रमा प्रायः सबैको जिब्रोमा झुण्डिएको नाम हो ‘मुनब्बर’। जसले दुई दशकभन्दा बढी समयदेखी नेपालगन्जमा ड्राईभिङ प्रशिक्षण केन्द्र सञ्चालन गरी मध्य र सुदुरपश्चिम क्षेत्रका हजारौंलाई युवालाई कुशल चालक बनाए र रोजगारीको वातावरण सिर्जना गरे।

 यिनै मुनब्बर क्षणभरमै सदाका लागी अस्ताए । भारतको लखनउ जादै गर्दा बहराईचको रिसिया भन्ने ठाउँमा बिहीबार उनैले चलाएको युपी ४० एक्स ६८१४ नम्बरको ‘महिन्द्रा बोलेरो’ जिप ठूलो दुर्घटनामा पर्‍यो। युपी २१ ए.एन ७०६२ नम्बरको भारतीय ट्रकमा ठोक्किदा मुनब्बरको घटनास्थलमै निधन भयो। उनीसहित जिपमा सवार पूर्वप्रहरी नायव निरीक्षक(सई) रोशन शाहको पनि निधन भएको थियो।

 नेपालगन्जका चर्चित ड्राईभिङ सञ्चालक तथा प्रशिक्षक ‘मुनब्बर गुरु’ को निधनले उनका हजारौं प्रशिक्षार्थी, परिवारका सदस्य, आफन्त र शुभचिन्तक यतिबेला शोकमा डुबेका छन्। थुप्रै शुभचिन्तकले सामाजिक सञ्जाल र निवासमै पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘मुनब्बर गुरुको निधन अझैपनि अपत्यारिलो लागिरहेको छ,’ एक प्रशिक्षार्थीले नागरिकसँग भने ‘उहाँ एकदमै सरल र सहयोगी स्वभावको हुनुहुन्थ्यो।’ प्रशिक्षणका क्रममा मुनब्बरसँग नजिक भएर सफल ड्राईभिङ गरेका तीन प्रशिक्षार्थीले भने ‘उहाँ यस्तो गुरु हुनुहुन्थ्यो, जुनसुकै अप्ठ्यारो पर्दापनि सहयोग गर्न पछि पर्नु भएन, विदेश जान छाडेर मुनब्बर गुरुकै प्रशिक्षणले मैले आफ्नै देशमा रोजगारी पाएको छु।’

ड्राईभिङ प्रशिक्षणका लागी अन्य थुप्रै केन्द्र सञ्चालन भएपनि मुनब्बरको सरल स्वभाव र सहयोगीपनले गर्दा अधिकांस युवाहरु उनीसँग प्रशिक्षण लिन मन पराउँथ्ये। प्रशिक्षण लिन पहाडी तथा हिमाली जिल्लाबाट आउने युवाको मुनब्बरले मनोबल बढाउँथे। उनले चालक पेशा अत्यन्त जिम्मेवार रहेको बताउँदै चालकको सानो गल्तीले ठूलो क्षति हुन सक्नेतर्फ सचेत गराउँथे। बढ्दो सडक दुर्घटनाप्रति मुनब्बरले ५० प्रतिशत भन्दाबढी दुर्घटनाको मुख्य कारण चालकको गल्तीले नै हुने बताउँदै गाडी चलाउँदा स्टेरिङ, ब्रेक, क्लज र एक्सीलेटर बाहेक अरु कुरामा ध्यान दिन नहुने कुरा सिकाउँथे। ‘चालकले ईमान्दारी पूर्वक गाडी चलाउनुपर्छ, ड्राईभिङका क्रममा कहिल्यैपनि हेलचक्राई गर्नु हुदैन,’ मुनब्बरले पटक–पटक यही कुरा दोहोर्‍याउँथे।

नेपालगन्ज धम्बोझीस्थित नेपाल राष्ट्र बैंक पछाडी(खजुरा रोड) निवासी उनी शारिरीक रुपमा अपांगता थिए। उनको एउटा खुट्टा कमजोर थियो। तर उनले सहज रुपमा गाडी चलाउँथे। कडा मेहेनत र निरन्तरको संघर्षका कारण आफ्नो व्यवसाय ‘मुनब्बर मोटर ड्राईभिङ ट्रेनिङ सेन्टरलाई ‘ब्राण्ड’ कै स्थापित गराउन सफल भएका थिए । सुरुमा सामान्य लगानीबाट प्रशिक्षण केन्द्र सुरु गरेका उनीसँग पछिल्लो समयमा करिव आधा दर्जन साना, ठूला सवारी साधन थिए । कारकाँदोस्थित नेपाल खाद्य संस्थान पछाडी ठूलो क्षेत्रफलमा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका थिए।

 उनी ड्राईभिङ प्रशिक्षण सञ्चालक तथा प्रशिक्षकका रुपमा जति परिचित थिए, त्यतिकै परिचित सामाजिक र राजनीतिक क्षेत्रमा पनि । नेपालगन्जमा हुने प्रायः सामाजिक काममा उनको सक्रियता रह्यो । व्यवसायसँगै उनी राजनीतिक क्षेत्रमा सक्रिय रहेर समाजसेवामा पनि सामेल भए । दुई दशक भन्दाबढी समय राजनीति र समाजसेवामा बराबर योगदान दिए । नेपाल सद्भावना पार्टीको विभिन्न जिम्मेवारी निभाउँदै मुनब्बर २०६४ सालको निर्वाचनमा सद्भावना पार्टीबाटै संविधान सभा सदस्यको उम्मेदवार बने।

  २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। केही महिना अघि सम्पन्न प्रतिनिधि सभा निर्वाचन–२०७४ मा नेपाल संघीय समाजवादी पार्टीबाट क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका थिए। तीन वटै निर्वाचन जित्न नसकेपनि उनले राजनीतिमा आफुलाई दह्रो रुपमा उभ्याउन सफल भए। हाल उनी नेपाल संघीय समाजवादी पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारीमा थिए। हल्वाईलाई नजिकबाट चिनेका उक्त पार्टीका बैकल्पिक केन्द्रिय सदस्य फिरोज वारसीले नागरिकसँग भने, ‘व्यवसाय, राजनीति र समाजसेवामा मुनब्बर ‘साहब’ को योगदान अविष्मरणीय छ, उहाँको निधनले ठूलो क्षति पुर्‍याएको छ।’

हल्वाईको बिहीबार नै ईस्लाम परम्परा अनुसार नेपालगन्जस्थित गौसिया मस्जिद परिसरमा रहेको कब्रास्तानमा दाहसंस्कार गरिएको छ । सोही दुर्घटनामा परी मुनब्बरका छोरा ईब्राईम पनि गम्भिर घाईते भएका छन् । जीपमा सवार काठमाडौं घर भएका अमुन खड्का र संग्राम शाह पनि सामान्य घाईते भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १९ माघ २०७४ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App