coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीले गति लिन सकेन

दोलखा- स्वदेशी लगानीबाट द्रुत गतिमा दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक वर्षको अवधिमा भूकम्प र भारतीय नाकाबन्दीपछि वर्षातको मारमा फसेको छ।

२०७३ को अन्त्यसम्ममा बिजुली उत्पादन गर्ने लक्ष्य राखेर स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो यस आयोजनाले भूकम्पयता नाकाबन्दी र वर्षातका कारण गति लिन नसकेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

अधिकारीहरुका अनुसार आयोजना निर्माणको चारवटै तहका ठेकेदार कम्पनीले गरिरहेको द्रुत गतिको काममा गत वर्षको महाभूकम्पले एकाएक बाधा पुर्‍याइदियो। पावर हाउस रहने स्थान गोंगरबाट बाँधस्थल लामाबगर जाने सडकमा ठूल्ठूला भिर खसे, जुन अहिले बनाउन थालिएको छ। आयोजना पहिरै पहिरोको चपेटामा पर्‍यो। ठेकेदार कम्पनीहरु निर्माण कार्य छाडेर हिँडे। भूकम्पपछिको पहिरो लगायत प्राकृतिक प्रकोपको उच्च जोखिमका कारण आयोजनाका आफ्नै कर्मचारीलाई समेत काठमाडौं कार्यालयमा केन्द्रीकृत गरियो। बीचमा कर्मचारी त फर्किए, तर ठेकेदार कम्पनीलाई काम गराउन अर्को तगारो तेर्सियो, भारतको नाकाबन्दी। आयोजनाका अनुसार नाकाबन्दी अवधिभर आयोजनाका सबै ठेकेदार कम्पनीका करोडौंको सामान नाकामा रोकिए। काम सुचारु गराउने प्रयत्न आयोजना नेतृत्वले गरे पनि इन्धन अभाव र निर्माण सामग्री र करोडौंका उपकरण सीमामा रोकिएका कारण काम ठप्प भयो।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार कठिन अवस्थाबाट गुजि्रएको एक वर्षपछि केही सहज हुँदै गएपछि बर्खाअघि चारवटै ठेकेदार कम्पनी काममा फर्किए तर फेरि बर्खाले काममा अवरोध पुगेको छ। 'सिगँटीउताको प्रवेश मार्गमा पहिरोले बाधा पुर्‍याएको छ,' उनले नागरिकसँग भने, 'जसले गर्दा ठेकेदार कम्पनीका गाडीहरु सिगँटीउता जान सकेका छैनन्।' न्यौपानेका अनुसार भूकम्पले भिर नै खसालेर अवरोध पुगेको गोंगरबाट बाँधस्थल रहेको लामाबगर उपत्यका पुग्ने सडक खुलाउन प्रयास भइरहेको छ। 'त्यो सडक भिर छिचोलेर जानुपर्ने भएकाले दीर्घकालीन होस भनेर भिर खोपेर ३ सय ६० मिटरको सुरुङमार्ग बनाउँदैछौ,' उनले भने, 'तीन महिनाको लक्ष्य राखिएको यो सडकको सुरुङ ४५ मिटरभन्दा बढी खनिसकिएको छ, यो सकिएपछि लामाबगर पुग्छौं।'

उनका अनुसार यो सडकको काब्रे भिर खण्ड खसेका कारण लामाबगरमा रहेको बाँधस्थलको काम १५ महिनायता रोकिएको छ। 'लामाबगर पुग्न नसकिएका कारण भूकम्पअघि त्यत्तिकै छाडिएको बाँधस्थल र बाँधबाट पावर हाउससम्म पानी लैजाने सुरुङको काम ठप्प नै छ,' उनले भने। न्यौपानेले सुरुङको काम यसअघि नै ८५ प्रतिशत सकिएकाले १५ प्रतिशत काम सडक खुलेलगत्तै सुरु हुने र त्यसले कुनै असर नपर्ने दाबी गरे।

आयोजनाको सिभिल निर्माणको जिम्मा पाएको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोले भूकम्पपछि रोकिएको मुख्य सुरुङमार्ग निर्माणको काम समेत पूरा गर्न सकेको छैन। आयोजनाका अनुसार मुख्य सुरुङ मार्गमा सिनोले करिब १४ सय ५० मिटर सुरुङ खन्नै बाँकी छ। हाल उक्त कम्पनीले पावर हाउसमा जेनेरेटर बस्ने स्थानमा कंक्रिट गर्ने काम गरिरहेको छ। यस्तै सिनोले दुईवटा ठाडो सुरुङमध्ये एउटा पूरा गरेर अर्को खन्ने काम गरिरहेको छ।

प्रवक्ता न्यौपानेका अनुसार सिभिल निर्माणको कामसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका ठेकेदार कम्पनीले उपकरण जडान गर्ने काम अगाडी बढाउनुपर्छ। 'वर्षातको अवरोधले यी दुवै ठेकेदार कम्पनीका सामान ढुवानी गर्न सकिएको छैन,' उनले भने। दुवैले सामान ढुवानी गर्न नसक्दा निर्माण कार्यमा उल्लेख्य सुधार हुन सकेको छैन।

आयोजनाका अनुसार हाइड्रोमेकानिकलतर्फको ठेकेदार कम्पनीले बाँधस्थल, पावर हाउस लगायत विभिन्न मार्गमा जडान गर्ने ठुल्ठूला गेट, उपकरण, पेनस्टक पाइप लगायत सामग्री र इलेक्ट्रोमेकानिकल तर्फको ठेकेदारले जेनेरेटर, टर्बाइन, ट्रान्सफर लगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्छ। तर यसका लागि दुवै कम्पनीलाई वर्षात बाधक बनेको अधिकारीले बताएका छन्। वर्षातका कारण सामान ढुवानी गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ। सुनकोसी नदीको पुलबाट ठुल्ठूला उपकरण ढुवानी गर्न नसकिने भएकाले ढुवानीका लागि सिन्धुपाल्चोकको खाडीचौरमा बनाइएको डाइभर्सन नदी बढेसँगै झिकिएको छ। सिगँटीदेखि लामाबगरका विभिन्न खण्डमा गएको पहिरोले ठेकेदार कम्पनीका कतिपय मालबाहक गाडी लामो समयदेखि बीच बाटोमै रोकिएका छन्। 

यस्तै आयोजनाबाट उत्पादन भएको बिजुली आयोजनास्थलबाट किर्नेसम्म पुर्‍याउन प्रयोग गरिने ट्रान्समिसन लाइनको काम गरिरहेको ठेकेदार कम्पनीलाई समेत गत शनिबार ढोली खोलामा आएको बाढीले पुल बगाएपछि काममा अवरोध पुगेको छ। भूकम्पपछि आयोजनाका चारवटै तहका काममध्ये ट्रान्समिसन लाइन २ महिना (मात्र रोकिएको थियो।

२०७५ भित्र बिजुली

भूकम्पपछि काम रोकिएका कारण आयोजनाको निर्माण अवधि दुई वर्षपछि धकेलिने अधिकारीहरुले बताएका छन्। 'हाम्रो लक्ष्य यही वर्षभित्र बाल्ने थियो, तर काममा ढिलाइ भएका कारण ०७५ असारअघि नै बिजुली उत्पादन गर्न सकिन्छ भन्ने देखिएको छ,' आयोजना प्रवक्ता न्यौपानेले भने।

प्रकाशित: ३० श्रावण २०७३ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App