८ वैशाख २०८१ शनिबार
खेल

अमेरिकालाई स्विडेनको झट्का

रियो दी जेनेरियो- प्रस्ट वक्तामा परिचित अमेरिकी फुटबल टोलीकी गोलकिपर होप सोलोले लगातार चौथोपटक ओलम्पिकमा स्वर्ण पदक जित्ने आशा समाप्त भएपछि स्विडेनलाई काँतरको संज्ञा दिएकी छन्। अर्कोतिर म्याराथन पेनाल्टी सुटआउटमा स्टार मार्टाले चुकाए पनि ब्राजिली टोली अस्ट्रेलियालाई हराउँदै रियो ओलम्पिकको महिला फुटबलको सेमिफाइनल पुगेको छ।

अमेरिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै स्विडेन पहिलोपटक ओलम्पिकको सेमिफाइनलमा पुगेको छ। पाइ सनधाजेको स्विडेनले १–१ को बराबरीपछि अमेरिकालाई टाइब्रेकरमा पराजित गरेको हो। सनधाजेको प्रशिक्षणमा अमेरिकाले सन् २००८ र २०१२ मा स्वर्ण पदक जितेको थियो।

'हामीले काँतरहरूको समूहसँग खेल्यौं,' सोलोले खेलपछि भनिन्, 'मलाई लाग्छ उत्कृष्ट टोलीले आज जित्न सकेन। हामीले खेलमा सबै चिज दिएका थियौं।'

स्टार स्ट्राइकर एलेक्स मोर्गान र परिवर्तित खेलाडी क्रिस्टियन प्रेसले पेनाल्टी चुकाएपछि लिसा डाल्कभिस्टको निर्णायक गोलमा स्विडेन विजयी भयो। यद्यपि डाल्कभिस्टको प्रहार रोक्न सोलोले सक्दो प्रयास गरेकी थिइन््।

'यदि जितिन्छ भने काँतर हुँदा पनि केही छैन,' सनधाजेले भनिन्।

अमेरिकी प्रशिक्षक जिल इलिसले भने सबै विवादलाई मत्थर पार्दै भनिन्, 'उनीहरूले प्रशिक्षकको योजना व्यवहारमा उतारे। आफूसँग भएको स्रोत कसरी प्रयोग गर्नुपर्छ भन्ने जान्नु महŒवपूर्ण विषय हो। अन्त्यमा सबैभन्दा महŒवपूर्ण नतिजा हो। कसरी खेल्यो भन्ने होइन।'

६० हजार दर्शकको उपस्थितिमा ब्राजिल र अस्ट्रेलियाबीच १ सय २० मिनेटको खेलमा गोल हुन सकेन। दुवै टोलीले सुरुआती ४ पेनाल्टीमा गोल गरे। तर पहिलोपटक स्वर्ण पदक जित्ने ब्राजिलको आशामा त्यति बेला धक्का लाग्यो स्टार मार्टाको पेनाल्टीलाई लेडिया विलियम्सले जोगाइन्। विश्वकी पाँचपटककी उत्कृष्ट खेलाडी मार्टाले आँसु झारिन्। तर कटि्रना गोरीको पेनाल्टी बारबाराले रोकेपछि ब्राजिलको सम्भावना पुनः जीवित भयो। त्यसपछि ५ पेनाल्टीमा निर्णय भएको थियो। बारबाराले अर्को पेनाल्टी रोकेपछि ब्राजिल ७–६ ले विजयी भएको थियो।

ब्राजिल र स्विडेनबीच पुनः सेमिफाइनलमा भेट हुनेछ। एकै समूहमा रहँदा ब्राजिलले स्विडेनलाई ५–१ ले हराएको थियो।

जर्मनी र क्यानडा पनि महिलातर्फको सेमिफाइनलमा पुगेका छन्। जर्मनीले चीन र क्यानडाले फ्रान्सलाई समान १–० ले हराए । १० खेलाडीमा सीमित चीनविरुद्ध मिलानी बेरिन्गेरले अन्तिम १४ मिनेटअघि गरेको गोलमा जर्मनी विजयी भयो। क्यानडाको जितमा सोफिन सेचमिड्टले ५६ औं मिनेटमा गोल गरकी थिइन्।

प्रकाशित: ३० श्रावण २०७३ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App