coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘जनप्रतिनिधिका रूपमा काम गर्न असहज रहेछ’

श्रीकृष्ण श्रेष्ठ, वडाध्यक्ष बूढानीलकण्ठ– १३

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने गरी के काम गर्नुभयो ?

हामीले संक्रमणकालीन समयमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्यौँ । वडामा अहिले समस्यै समस्या छन् । हामीले जनताको समस्यालाई प्राथमिकताका आधारमा राख्दै काम गर्ने प्रयत्न गरिराखेका छौँ । वडा कार्यालयमा खानेपानीको चरम हाहाकार छ । त्यसैले खानेपानी कार्यालयसँग समन्वय गरेर वडामा पाँच लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिसकेका छौँ । ट्यांकी बनेसँगै अहिले खानेपानी वितरण प्रणाली बनाइरहेका छौँ ।

अब छिटै जनताको घरदैलोमै पानीसहितको धारा पु¥याउने काम भइरहेको छ । वडा कार्यालयको समन्वयनमा जनउद्धार मावि र नौलिन माविको विद्यालय पुनर्निर्माण सम्पन्न गरिसक्यौँ । वडा कार्यालय पछाडिको सडक वर्षाैंदेखि अलपत्र थियो । हामी आएसँगै वडा कार्यालयदेखि गोकर्णेश्वरसम्मको सडक मर्मतसम्भार, विस्तार र ग्राभेल गरेर तयार पारेका छौँ ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सहज रहेछ ?
जनप्रतिनिधि भएर काम गर्न अहिले धेरै असहज रहेछ । स्थानीय तह लामो समय जनप्रतिनिधिविहीन रह्यो । जसकारण स्थानीयवासीले जनप्रतिनिधिसँग धेरै आशा र भरोसा गरेका छन् । ‘जादुको छडी’ घुमाएर जसरी तत्कालै काम होस् भन्ने जनता चाहन्छन् । तर, हाम्रो यही संरचनामा जनताको अपेक्षाअनुसार काम गर्न नसकिने रहेछ । जनप्रतिनिधि नहुँँदासम्म म पनि एकैपटक कायापलट गर्ने योजनामा हुन्थे । तर, हामीले चाहेजस्तो सबै काम गर्न नसकिने रहेछ । तैपनि आफूले सकेसम्म जनताकै हितमा काम गर्ने प्रयत्न गरेको छु ।

तपाईंको वडाका सडक वर्षाैंदेखि अलपत्र र भद्रगोल छन्, कहिले बनाउनुहुन्छ ?
लामो समयदेखि वडाका अधिकांश सडक भद्रगोल र असरल्ल छन् । जसकारण वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्दा सर्वसाधारण आजित छन् । गोपीकृष्ण, कपन, सरस्वतीनगर लगायत स्थानका सडक बेहाल छन् । समयमा सडक नबन्दा जनताले धेरै नै सकस व्यहोर्नुपरेको छ । अबको दुई वर्षभित्र वडाको मातहत रहेका भित्री सडकमा ढुंगा तथा ब्लक बिछ्याउने योजना बनाएको छु ।

सडक समयमै किन बन्दैनन् ?
हाम्रो वडामा केन्द्रीय तहबाट धेरै नै योजना परेका छन् । तर, केन्द्रीय स्तरका योजना समयमा निर्माण हुन सकिरहेका छन् । ठेकेदार कम्पनी, डिभिजन सडक कार्यालय र सडक विभागबीचे आन्तरिक किचलोका कारण नै सडक बन्न नसकेका हुन् । समयमा सडक नबन्दा गोपीकृष्ण हल क्षेत्र, सुकेधारा, कपन, सरस्वती नगर लगायत क्षेत्र अस्तव्यस्त छन् ।

पछिल्लो समय बाटोमा समेत राजनीति हाबी भएको छ । कसले लिने भन्ने विवादले पनि सडक समयमा निर्माण सम्पन्न हुन नसकेको हो । वडा कार्यालयको तर्फबाट डिभिजन सडक कार्यालय र सडक विभागमा धेरैपटक डेलिगेसन गइसकेँ । अझै पनि सडक निर्माण हुन सकिरहेको छैन । आगामी वर्षात्सम्म हिलाम्मे सडक व्यवस्थापन गर्न नसकिएका कि भन्ने डर लागिरहेको छ ।

तपाईंको वडामा नियमित फोहोरमैला उठ्दैन भन्ने जनगुनासा छन् नि ?
अधिकांश वडावासीले फोहोरमैला जथाभावी थुपार्ने गर्दा वडामा दुर्गन्ध बढेको हो । फोहोर संकलन गर्ने निजी क्षेत्रले नयाँबस्ती वरपर नै फोहोरमैला संकलन गर्ने डम्पिङ साइट बनाएको छ । जसबाट दुर्गन्ध बढ्यो भनेर जनगुनासा आइरहेका छन् । फोहोरमैला बस्तीको वरपर नथुपार्न वडा कार्यालयले निर्देशन दिइसकेको छ । फोहोरमैलासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेर समस्या समाधान गर्ने तयारीमा जुटेको छु ।

ठेकेदार कम्पनी, डिभिजन सडक कार्यालय र सडक विभागबीचे आन्तरिक किचलोका कारण नै सडक बन्न नसकेका हुन् । समयमा सडक नबन्दा गोपीकृष्ण हल क्षेत्र, सुकेधारा, कपन, सरस्वती नगर लगायत क्षेत्र अस्तव्यस्त छन् ।

 

तपाईंको वडामा ढलको पनि उस्तै समस्या छ नि ?
अहिले वडाका अधिकांश स्थानमा ढल बनिसकेका छन् । अब २५ प्रतिशत ढल निर्माण सम्पन्न हुन बाँकी छ । आगामी दुई वर्षसम्म वडाका सम्पूर्ण स्थानमा ढल निर्माण राख्ने लक्ष्य राखेर काम गरिरहेका छौँ ।

सार्वजनिक जग्गा अतिक्रमण भइरहेका छन्, रोक्ने योजना के छन् ?
सार्वजनिक जग्गा पहिलादेखि नै मिचिँदै आइरहेका छन् । लामो समय जनप्रतिनिधि नहुनुको फाइदा उठाउँदै केही भूमाफियाले सार्वजनिक जग्गा हडपेका छन् । हामी आएसँगै करिब १२ रोपनी सार्वजनिक जग्गा वडा कार्यालय मातहत ल्याइसक्यौँ । अझै पनि वडामा करिव १० देखि २० रोपनी जग्गा अक्रिमण भइरहेको छ । त्यसैले अब छानबिन गरेर वडा कार्यालय मातहत ल्याउनेछौँ ।

 नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ? 
नगरपरिषद्बाट तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, सडक मर्मत–सम्भार, ढल निर्माण र महिला सशक्तीकरण लगायत योजनालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ? 
मेरो वडा पुरानो बस्ती भएको ठाउँ हो । त्यसैले वडामा ऐतिहासिक र पर्यटकीय सम्भावना छ । वडा कार्यालयले बाह्य र आन्तरिक पर्यटकीय केन्द्र स्थापना गर्ने लक्ष्यसहित काम अघि बढाइरहेको छ । व्यवस्थित गुरुयोजना बनाएर नै पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य हामीले लिएका छौँ ।
                                                                                                                                   प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १९ माघ २०७४ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App